अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवसको अवसरमा भरतपुरमा सचेतना
शान्ता अधिकारी, भरतपुर। अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवसको अवसर पारेर भरतपुर महानगरपालिकाको स्वास्थ्य शाखाले मदिरा तथा सुर्तिजन्य पदार्थको नियन्त्रण तथा नियमनसम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा सरोकारवाला निकायका प्रतिनिधिहरूले सुर्ती तथा मदिराजन्य पदार्थको बढ्दो प्रयोगले जनस्वास्थ्यमा गम्भीर असर परेको भन्दै प्रभावकारी नियमन र जनचेतनाको आवश्यकता औंल्याएका छन् ।
कार्यक्रममा भरतपुर महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख केशव भट्टले महानगरभित्र दीर्घरोगबाट मासिक भत्ता लिइरहेका एक हजार ५९ जना बिरामीमध्ये सबैभन्दा धेरै क्यान्सरका बिरामी रहेको जानकारी दिनुभयो। तीमध्ये करिब ८० प्रतिशत बिरामी लामो समयदेखि सुर्ती तथा सुर्तिजन्य पदार्थको सेवनका कारण प्रभावित भएको उहाँको भनाइ छ। मदिरा र सुर्तीजन्य पदार्थको बढ्दो प्रयोगका कारण क्यान्सरलगायत दीर्घरोगका बिरामी निरन्तर बढिरहेको उहाँले बताउनुभयो।

कार्यक्रममा फिजिसियन डाक्टर भोजराज अधिकारीले चुरोट सेवनबाट हुने क्यान्सरका बिरामीको संख्या अत्यधिक रहेको भन्दै यसलाई शून्यमा झार्ने लक्ष्यका साथ सबै पक्ष लाग्नुपर्ने बताउनुभयो। उहाँका अनुसार चुरोटको असर पुरुषभन्दा महिलामा अझ बढी गम्भीर देखिने गरेको बताउनु भयो ।
भरतपुर महानगरपालिकाका नगर प्रहरी प्रमुख कृष्णहरि ढकालले महानगर क्षेत्रमा चिया पसलको संख्या बढ्दै जाँदा खुला रूपमा चुरोट बिक्री हुने गरेको बताउनुभयो। हाल अनुगमन मात्रै भइरहेको उल्लेख गर्दै कडा कानुनी कार्यान्वयनबिना प्रभावकारी नियन्त्रण सम्भव नहुने उहाँको भनाइ थियो।
प्याब्सन चितवनका सचिव वेद न्यौपानेले विद्यालय तहका विद्यार्थीहरूमा भेप र चुरोट सेवन बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो। खाजाका लागि ल्याएको पैसा समेत विद्यार्थीहरूले चुरोटमा खर्च गर्ने गरेको भन्दै अभिभावकको भूमिकामा समेत प्रश्न उठाउनुभयो।
भरतपुर क्यान्सर अस्पतालकी डाक्टर अस्मिता राणाले चुरोटको हानिबारे पर्याप्त जानकारी नहुँदा बालबालिका कुलतमा फस्ने गरेको बताउनुभयो। अस्पतालले प्रत्येक शुक्रबार भरतपुर महानगरभित्रका विद्यालयहरूमा पुगेर सुर्तीजन्य पदार्थको असरबारे जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी पनि उहाँले दिनुभयो।
नेपाल पत्रकार महासंघ चितवन शाखाका उपाध्यक्ष दिपेन्द्र अधिकारीले केही समुदायमा मदिरालाई सांस्कृतिक परम्पराका रूपमा प्रयोग गरिने भएकाले यसको नियन्त्रण चुनौतीपूर्ण रहेको बताउनुभयो। समाजका प्रतिष्ठित व्यक्तिहरूले नै चुरोट र मदिरा सेवनलाई प्रतिष्ठाको विषय बनाउँदा त्यसको नकारात्मक प्रभाव समाजमा परेको उहाँको भनाइ थियो। चुरोट बिक्रीको अनुमति दिने र अनुगमन गर्ने दुवै जिम्मेवारी महानगरपालिकाकै भएकाले अनुमति प्रक्रियामै पुनर्विचार गर्नुपर्ने उहाँले सुझाव दिनुभयो ।

चिया पसल वरपर बस्ने सर्वसाधारणसमेत चुरोटको धुवाँबाट प्रभावित हुने अवस्था रहेको भन्दै सार्वजनिक स्थानमा धुम्रपान नियन्त्रणलाई थप प्रभावकारी बनाउनुपर्नेमा सहभागीहरूले जोड दिएका छन् ।
चितवनमा पछिल्लो समय चिया पसलको संख्या बढेसँगै चियासँगै चुरोट सेवन गर्नेको संख्या पनि बढ्दो छ। उमेरको हद प्रभावकारी रूपमा कार्यान्वयन नहुँदा बालबालिकासमेत चुरोटको लतमा फस्ने अवस्था देखिएको छ। सहभागीहरूले अधिकांश कुलतको सुरुवात चुरोटबाट हुने भएकाले यसको बिक्री वितरणमा कडाई र व्यापक जनचेतनामूलक अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
सम्बन्धित खवर
-
चितवन, असार १२- राष्ट्रिय ...
-
शान्ता अधिकारी, माडी — माडी ...
















