बाघको आक्रमणबाट नौ महिनामा तीन जनाको मृत्यु, एक घाइते
खैरहनी,२७ चैत्र । खैरहनीस्थित कुमरोज सामुदायिक वनमा बाघको आक्रमणबाट शनिबार एक पुरूषको मृत्यु भएको छ । योसँगै सो सामुदायिक वनमा बाघको आक्रमणबाट नौ महिनाको अवधिमा तीन जनाको ज्यान गएको छ । सो समयमा एक जना घाइते भएका छन् ।
शनिबार बिहान घाँस काट्न वन छिरेका खैरहनी–१२ जनकपुरका ६२ वर्षीय रामप्रसाद धमलाको बाघको आक्रमणमा परी मृत्यु भएको हो । जनकपुर पोष्ट नजिक धमलासहित चार जनाको समूहमा घाँस काट्न गएका थिए ।
आक्रमणपश्चात् बाघले धमलालाई केही पर लगेको थियो । धमलाको खोजी गर्ने क्रममा बाघले मारेर पछाडिको भाग खाएको अवस्थामा फेला पारेको कुमरोज सामुदायिक वनका अध्यक्ष गणेशकुमार श्रेष्ठले जानकारी दिए ।
धमलालाई बाघले लगेपछि पिछा लाग्ने क्रममा बाघले पुनः उनीसँगै गएकाहरुलाई आक्रमणको प्रयास गरेपछि उनीहरु भाग्न सफल भएका थिए । धमलालाई आक्रमण गर्ने बाघको खोजी भए पनि फेला पार्न नसकिएको अध्यक्ष श्रेष्ठले बताए ।
धमलालाई बाघले आक्रमण गरेको कुमरोज वनमा यसैवर्ष चौथो घटना हो । गत साउन २५ गते खैरहनी–१३ का भदै महतोको बाघको आक्रमणबाट ज्यान गएको थियो ।
असोज १९ गगते वडा नम्बर १३ कै दिनेश बोटको पनि बाघको आक्रमणमा परी ज्यान गयो । फागुन १७ गते बाघको आक्रमणबाट वडा नम्बर १३ कै दिलबहादुर तामाङ घाइते भए ।
यी सबै घटना वनभित्र घाँस काट्न गएका बेला भएका हुन् । वनका अध्यक्ष श्रेष्ठ बिहानको सममा घाँस दाउरा गर्न जान नहुने बताउँछन् । ‘बाघ राप्तीवारि सिकार गर्न आएर बिहान फर्कन्छ, त्यही बेला आक्रमणका घटना भएका छन्’, वनका अध्यक्ष श्रेष्ठले भने – ‘दिउँसोको समयमा घाँस काट्न जाँदा आक्रमण हुने सम्भावना कम हुन्छ ।’
बाघले आक्रमण गरेपछि सामुदायिक वनले अर्को सूचना जारी नभएसम्मका लागि वन प्रवेशमा रोक लगाएको छ । शनिबार अध्यक्ष श्रेष्ठको हस्ताक्षरमा जारी गरिएको सूचनामा बाघको पहिचान र नियन्त्रणका लागि क्यामेरा जडान गर्न लागिएकाले वन प्रवेशमा रोक लगाइएको उल्लेख छ ।
वनभित्र घाँस, सोतर, स्याउला संकलन गर्न नजान आग्रह गरिएकोमा सो आग्रह अटेर गरी वन प्रवेश गर्दा कुनै घटना भए आफैँ जिम्मेवार हुनुपर्ने बताइएको छ ।
सम्बन्धित खवर
-
चितवन, असार १२- राष्ट्रिय ...
-
शान्ता अधिकारी, भरतपुर। ...

















