छैठौं चितवन अन्तर्राष्ट्रिय प्रदर्शनी भरतपुरमा सुरु, भारतका ५० सहित दुई सय कक्ष
चितवन,पुस २-
महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री उमा रेग्मीले उद्योग क्षेत्रमा महिला र अपाङ्गता भएका व्यक्तिको समेत सहभागिता हुनु जरुरी रहेको बताउनुभएको छ । चितवन उद्योग सङ्घले आजदेखि यहाँ सुरु गरेको छैठौं चितवन अन्तर्राष्ट्रिय प्रदर्शनीको उद्घाटन गर्दै उहाँले औद्योगिक क्षेत्रमा महिला र अपाङ्गता भएकाको समेत सहभागिता आवश्यक रहेको बताउनुभएको हो ।
उद्योगलाई महिला र अपाङ्गमैत्री बनाउन सकेमा मात्रै सबै क्षेत्रको सहभागिता हुने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “अब स्थापित हुने उद्योग महिला र अपाङ्गमैत्री कसरी बनाउन सकिन्छ भन्ने विषयमा सोचेर उनीहरुलाई पनि उद्योगी बनाउन जरुरी रहेको छ ।” प्रदर्शनीले नेपालमा नै केही गर्न सकिन्छ भन्ने देखाउन सहयोग पुग्ने जनाउँदै उहाँले आफ्नै मुलुकको उत्पादनलाई प्राथमिकता दिन जरुरी रहेको बताउनुभयो ।
प्रतिनिधि सभा सदस्य कृष्णभक्त पोख्रेलले उद्योगका क्षेत्रमा उद्योग सङ्घले गरेका कामको प्रशंसा गर्नुभयो । नेपालमा रहेका उद्योगलाई विदेशी उद्योगसँग प्रतिस्पर्धायोग्य बनाउन आवश्यक रहेको उहाँको भनाइ थियो ।
सो अवसरमा उद्योग मन्त्रालयका सचिव अर्जुनप्रसाद पोख्रेलले उद्योग क्षेत्रले गरेको प्रगतिले आयात र निर्यातलाई सन्तुलन राख्ने गरि काम गर्नुपर्ने बताउनुभयो । उद्योग क्षेत्रको विकासका लागि मन्त्रालय रचानात्मक सहयोग गर्न तयार रहेको उल्लेख गर्नुभयो ।
नेकपा (एमाले)का केन्द्रीय सदस्य जगन्नाथ थपलिया, नेपाली कांग्रेसका जिल्ला सचिव राजिव न्यौपाने, नेकपा (माओवादी केन्द्र)का भरतपुर महानगर अध्यक्ष ईश्वर सापकोटा, नेकपा (एकिकृत समाजवादी) का जिल्ला अध्यक्ष डा.कृष्णराज पन्त, उद्योग वाणिज्य सङ्घ चितवनका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठ, चितवन उद्योग सङ्घका अध्यक्ष त्रिलोचन कंडेलले बोल्नुभएको थियो ।
उद्योग सङ्घ र नेपाल उद्योग परिसङ्घको संयुक्त आयोजनामा सुरु भएको प्रदर्शनी यही पुस ४ गतेसम्म सञ्चालन हुने छ । सङ्घका अध्यक्ष कंडेलका अनुसार प्रदर्शनीमा भारतका ५० सहित दुई सय कक्ष रहेका छन् । तीस प्रतिशत कक्ष अत्याधुनिक प्रविधिका उपकरण र अन्य उत्पादनका रहेका छन् । कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण सिथिल बनेको उद्योग व्यवसायको प्रवद्र्वन गर्ने उद्देश्यले प्रदर्शनी गरिएको हो ।
सम्बन्धित खवर
-
भरतपुर,बैशाख २३- चितवनमा चक्कु ...
-
काठमाडौं, वैशाख २३- नेपाली ...



















