0Shares

-रामप्रसाद न्यौपाने
अध्यक्ष, नेकपा भरतपुर महानगर कमिटी

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली आज चितवन आउने कार्यक्रम छ । चितवन आउँदा उहाँले राष्ट्रिय गौरबका दुई आयोजना ‘सिटी हल’ र ‘पुलचोक–गोन्द्राङ ६ लेन सडक’ को शिलान्याससँगै नेकपाले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दैहुनुहुन्छ । चितवनपत्रले यसै सेरोफेरोमा रहेर नेकपा भरतपुर महानगर कमिटीका अध्यक्ष रामप्रसाद न्यौपानेसँग गरिएको संक्षिप्त कुराकानी ः

प्रधानमन्त्री के का लागि चितवन आउन लाग्नु भएको हो ?
– नेकपा चितवनले आयोजना गरेको जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री चितवन आउन लाग्नुभएको हो । यससँगै उहाँले भरतपुर महानगरभित्र परेका राष्ट्रिय गौरवका दुई आयोजनाहरु ‘सिटी हल’ र ‘पुलचोक–गोन्द्राङ ६ लेन सडक’ को शिलान्याससमेत गर्दै हुनुहुन्छ ।

शिलान्यास कार्यक्रमको आयोजक पनि नेकपा चितवन नै हो र ?
– होईन । सम्बन्धित आयोजनाको सरोकारवाला मन्त्रालय नै शिलान्यास कार्यक्रमको आयोजक हुन् । शहरी विकास मन्त्रालय र डिभिजन सडक कार्यालय शिलान्यास कार्यक्रमका आयोजक हुन् ।

आयोजनाको काम त अहिले धमाधम भईरहेको छ । शिलान्यास कार्यक्रम भनेको निर्माण शुरु हुनु अघि नै हुनुपर्ने होइन र ?
– प्रचलन त निर्माण कार्य शुरु हुनुअघि नै शिलान्यास गर्नुपर्ने हो । मन्त्रालयले शिलान्यास कार्यक्रम गर्ने भनेर पहिलेदेखि नै तयारी पनि गरेको हो । प्राविधिक कारणवश शिलान्यास कार्यक्रम यसअघि माघ १० गतेका लागि लागि तय पनि भएको थियो । फेरि माघ १७ गतेका लागि स¥यो । अहिले काम सुरु गर्न तत्काल निर्माण सामग्री स्टोर गरिँदैछ । आंशिक कामको सुरुवात भएपनि कामको सुरुवात र बीचमा पनि आयोजनाको शिलान्यास गर्ने प्रचलन छ ।

आयोजना निर्माणको सुरुवातमै शिलान्यास गर्ने काममा मन्त्रालयले समन्वय गर्न नसकेको जस्तो लाग्दैन ?
-मन्त्रालयले त समन्वय गरेकै थियो । प्रधानमन्त्रीको समय मिलाउने काम हुँदै थियो । तर मेयर रेणु दाहालको चाहना विपरित शिलान्यास कार्यक्रम हुने तय भएपछि निर्माणअघि शिलान्यास हुन नसकेको हो ।

सिटी हल र ६ लेन सडकको परिकल्पनाकार त भरतपुर महानगर होईन र ?
-यो परिकल्पना आम भरतपुरका जनताको हो । तर योजना त केन्द्र सरकारको हो नि । यो योजना भरतपुरमा ल्याउने काममा महानगरले एउटा पाटोबाट समन्वय गरेको हो । तर चितवनका अन्य जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाजले पनि समन्वय गरेर नै केन्द्र सरकारले योजना स्वीकृत गरेको हो । त्यही अनुसार बजेट उपलव्ध गराएर काम अघि बढेको हो । योजना भरतपुर महानगर क्षेत्रमा परेको हो । तर परिकल्पनाकार भरतपुर महानगरपालिका मात्र होईन ।

शिलान्यास कार्यक्रमका कारण संघीय सरकारले स्थानीय सरकारलाई हतोत्साहित बनाउने हर्कत गरेको मेयरको आरोप छ । उहाँले भनेजस्तै स्वामित्व लिने नाममा स्थानीय सरकारको अधिकार खोसिएकै हो ?
योजना, बजेट सबै केन्द्रीय सरकारको भएपछि सम्बन्धित मन्त्रालयले आयोजनाको स्वामित्व लिन पाउँछ । यो काममा समन्वय गरेर छिटो आयोजना सम्पन्न गर्न केन्द्र सरकारलाई घच्घच्याउने काम महानगरको हो । यसका लागि महानगरले भरतपुरका सबै सरोकारवाला निकायसँग हातेमालो गर्नुपर्छ ।

शिलान्यास कार्यक्रमको त संस्थागत ढंगले महानगरले विरोध गरिसक्यो । सहभागि नहुने पनि भनिसक्यो । यसले गर्दा त झन् योजना नै प्रभावित हुने त होइन ?
-महानगरमा अपरिपक्व नेतृत्व भएपछि यस्तै हुन्छ । प्रधानमन्त्री नै शिलान्यास गर्न आउनुहुने भएपछि मेयरले यसलाई गौरव मान्नुपथ्र्यो । उहाँले त आफ्नै जग्गामा आफ्नै गोजीको पैसा हालेर सिटी हल र सडक बनाउन लागेको भनेजस्तै कुरा गर्नुभएको छ । महानगरले विरोध गर्दैमा आयोजना प्रभावित हुँदैन । यो केन्द्रीय सरकारको परियोजना भएका कारण महानगरका केही जनप्रतिनिधिले विरोध गर्दैमा र कार्यक्रममा सहभागि नहुँदैमा राष्ट्रिय गौरवको आयोजनाले गति लिन्छ । समयमै काम सम्पन्न हुनेछ ।

आयोजना क्षेत्र त महानगरभित्र परेपछि महानगरपालिकासँग केन्द्र सरकारले समन्वय गर्नुपर्ने होला नि ।
-केन्द्रीय परियोजना बन्दै गर्दा महानगरले केन्द्रसँग समन्वय गर्ने हो कि केन्द्रले महानगरसँग गर्ने हो ? मेरो प्रश्न हो । मेयरकै कुरालाई मान्ने हो भने त सिटी हलको परियोजना क्षेत्र भरतपुर महानगरपालिकाको वार्ड नम्बर १० हो । त्यसोभए त्यहाँका वडाध्यक्षसँग सोधेर प्रधानमन्त्रीले काम गर्नुपर्ने हो ?

त्यसोभए, महानगरपालिकाको कार्यालयले शिलान्यास कार्यक्रमको विरोध चाहिँ किन गरेको होला ?
– अपरिपक्व नेतृत्व महानगरले पाएपछि यस्तो परिणाम आएको हो । परिपक्व र राजनीतिक नेतृत्व भएदेखि यस्तो समस्या आउने थिएन । जनताको मत च्यातेर उहाँ भरतपुरको मेयर बन्नुभएको कुरा जगजाहेर छ । जनताको मतको कदर गर्न नसक्नेले प्रधानमन्त्रीको कदर गर्ने कुरै भएन । प्रधानमन्त्री नै शिलान्यास कार्यक्रममा आइसकेपछि परिपक्व नेतृत्व प्रदर्शन गरेर समन्वय गर्नसक्नुपथ्र्यो । विरोध गर्नुका पछाडि उहाँको राजनीतिक परिपक्वताको कमी हो ।
अर्को कुरा उहाँ व्यक्तिवादी बढि हुनुहुन्छ । सबै योजनामा परिवारवाद हावी गर्ने काम उहाँले गर्नुहुन्छ । यसको शिलान्यास पनि उहाँले आफ्ना पीता प्रचण्डबाट गर्न चाहनुहुन्थ्यो । यो सपना पूरा हुन नसकेपछि एकाएक उहाँमा रोदन सुरु भएको हो । मेयरबाहेकका भरतपुर महानगरका अधिकांश जनप्रतिनिधि शिलान्यास कार्यक्रमसहितको जनसभामा सहभागि हुनुहुनेछ ।

नेकपाको जनसभाको तयारी चाहिँ कस्तो छ ?
-जनसभाको तयारी पूरा भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली शनिबार मध्यान्ह १२ः३० बजे भरतपुरको केन्द्रीय बस टर्मिनलमा जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । जनसभामा सहभागी हुने आम सर्वसाधारणलाई स्वास्थ्यको ख्याल गर्न र अनिवार्य माक्सको प्रयोग गर्न भनेका छौँ । पूर्वबाट आउने जनसमुदायलाई वसन्तचोक, पश्चिमबाट आउने जनसमुदायलाई चौबीसकोठी र उत्तरबाट आउने जनसमुदायलाई मालपोतचोकमा जम्मा भई ¥यालीसहित आउन भनिएको छ ।

जनसभालाई क–कसले सम्बोधन गर्ने कार्यक्रम छ ?
-जनसभामा प्रधानमन्त्री ओलीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ, शहरी विकासमन्त्री प्रभु शाह लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

शिलान्यास कार्यक्रम चाहिँ कतिबेला राखिएको छ ?
सभालाई सम्बोधन गर्नुअघि प्रधानमन्त्री ओलीले भरतपुरमा बन्न लागेको सिटी हल र गोन्द्राङ–पुल्चोक सडक विस्तारको शिलान्यास गर्ने कार्यक्रम छ ।

भरतपुर महानगर, नेकपाकै अर्को पक्ष र अन्य राजनीतिक दलले प्रधानमन्त्रीको कार्यशैली र शिलान्यास कार्यक्रमकै विरोध गरिरहेको सन्दर्भमा तपाईहरुको कार्यक्रमलाई असर पर्दैन ? सबै प्रकारका विरोधको सामना गर्न सकिएला ?
-महानगरभित्रका अधिकांश जनप्रतिनिधि कार्यक्रममा उपस्थिति हुनुहुनेछ । पार्टीको सानो गुटले विरोध गर्दैमा कार्यक्रम प्रभावित हुँदैन । सबै प्रकारका सम्भावित विरोधलाई हामीले शान्तिपूर्ण तरिकाले सामना गछौँ ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement