0Shares

चितवन, मंसिर ११-

मदन भण्डारी फाउण्डेसन चितवनले अतिरञ्जनपूर्ण आक्षेप र भ्रमणहरुबाट विचलित नहुन आव्हान गरेको छ ।

फाउण्डेसनले बुधबार एक विज्ञप्ति प्रकाशित गरी संस्थामाथि लगाइएका समाजमा कलुषित भावना फैलाउने अतिरञ्जनपूर्ण आक्षेप र भ्रमहरुबाट बिचलित नहुन आग्रह गरेको हो । नेकपाभित्रकै नेताहरुले विभिन्न कार्यक्रममा फाउण्डेसनमाथि नकारात्मक टिकाटिप्पणी गरिरहेको समयमा फाउण्डेसन चितवनले विज्ञप्तिमार्फत् आफ्नो भनाइ स्पष्ट पारेको छ ।

जिल्ला अध्यक्ष डा.तिलचन्द्र भट्टराई र सचिव श्याम बिष्टद्वारा जारी विज्ञप्तिमा कानुनीरुपमा संस्थाको लक्ष्य अनुरुप बौद्धिक विमर्श र सामाजिक रुपान्तरणका क्रियाकलापलाई निरन्तर अघि बढाउन समेत सम्पूर्ण सदस्यहरुलाई आव्हान गरिएको छ । विज्ञप्तिमा भनिएको छ ‘फाउण्डेसन अन्तराष्ट्रिय प्रशिद्धिको शिखरमा पुग्नु भएका तत्कालिन नेकपा एमालेका महासचिव जननेता स्वर्गीय मदन भण्डारीको नाममा स्थापना भएको विशुद्ध सामाजिक संस्था हो ।’ विज्ञप्तिमा अगाडि भनिएको छ ‘यस संस्थाले एकातर्फ मदनले प्रतिपादन गर्नु भएको नविन विचार ‘जनताको बहुदलीय जनवाद’ को दार्शनिक, सैद्धान्तिक, र वैचारिक अवधारणाहरुमाथि बहस, छलफल, अनुसन्धान र प्रसार गर्ने कार्य गर्दछ भने अर्को तर्फ समाजका विकृति विसंगति, सामाजिक, सांस्कृतिक विभेद र कुरीतिका विरुद्ध विभिन्न अभियानहरू सञ्चालन गर्ने र आर्थिक सामाजिक रुपान्तरणकोलागि विकास निर्माणको परियोजनाहरू समेत सञ्चालन गर्दै आएको छ ।’

फाउण्डेसनले विकास निर्माणका काममा समेत सहजीकरण गरेको उल्लेख गर्दै विज्ञप्तिमा अगाडि भनिएको छ ‘मदन भण्डारीको जीप दुघर्टना भएको स्थल दासढुंगामा गुरु योजनासहित मदन भण्डारी पार्क, स्मारक, मदन भण्डारी अध्ययन प्रतिष्ठान निर्माण गर्ने र शव प्राप्त भएको स्थान गाजिपुरमा तटबन्धसहित स्मारक र स्तम्भ निर्माण गर्ने लगायतका विभिन्न कार्ययोजनासहित स्थानीय, प्रदेश र संघीय सरकारहरूसँग आवश्यक पहल र सोत व्यवस्थापन गर्दै निरन्तर कार्य अगाडि बढ्दै गरेको समेत सहर्ष जानकारी गराउँदछौ ।’ संस्थाको यस्ता रचनात्मक र बौद्धिक क्रियाकलापबाट आकर्षित भई हाल विभिन्न तह र तप्काका हजारौं नागरिक संस्थामा आवद्ध भएको विज्ञप्तिमा उल्लेख छ । संस्था आफ्ना लक्ष्य प्राप्तिका लागि निरन्तर अघि बढिरहेको उल्लेख गर्दै संस्थाप्रति आक्षेप र लान्छना लगाई विगत केही समयदेखि भइरहेको भ्रमपूर्ण प्रचार र दोषारोपणप्रति यस संस्थाको गम्भीर ध्यान आकर्षण भएको उल्लेख छ । विज्ञप्तिमा भनिएको छ ‘संस्थामाथि लगाइएका यस्ता लान्छनाहरु खारेज गर्दै भ्रामक प्रचारप्रति खेद व्यक्त गर्छाैं ।’

नेपालको संविधान र कानुन बमोजिम कार्य सञ्चालन गरिरहेको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, ‘देशको संविधान र कानुनप्रदत्त अधिकार प्रयोगलाई नै कुण्ठित गर्ने गरी ‘संस्थाको गतिविधिलाई रोक्नु पर्ने’ भन्ने जस्ता असंवैधानिक अभिव्यक्तिहरु सुन्दा हामी आश्चर्य चकित भएका छौं ।’ स्वयं मदन भण्डारी संविधानवाद र अभिव्यक्ति स्वतन्त्रताको लागि आजिवन लड्नु भएको उल्लेख गर्दै विज्ञप्तिमा अगाडि भनिएको छ ‘यो फाउण्डेसन यस्ता आक्षेपहरुमाथि विश्वास गर्दैन ।’

 

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement