7Shares

केही वर्षअघि नेपाल तथा भारत दुबै देशमामा राजनीति र प्रशासनको आडमा हुने भ्रष्टाचारको अन्त्य र भ्रष्टाचारीलाई सजायको माग राखेर बसिएको अनसनले राजनीतिक वृत्तमा थोरै भए पनि चहलपहल ल्यायो। राष्ट्रिय तथा अन्तरराष्ट्रिय मिडियामा कभरेज बने। भारतमा अण्णा हजारेको अनशनको प्रभावबाट ऐन कानूनमै सुधार गर्ने प्रतिवद्धता सरकारबाट भयो। यता नेपालमा त्यस्तो प्रतिवद्धता त भएन नै, तर एउटा जबरदस्त तरङ्ग चाहिँ ल्याएरै छाड्यो। नेपालमा भ्रष्टाचारीलाई कार्वाहीको माग राखेर अनशन बस्ने व्यक्ति थिइन् शारदा भुषाल झा। हजारेको जस्तो नीतिगत विषयमा सुधारको माग राखेर यिनको अनशन थिएन। तराइको एउटा गाउँमा विकास निर्माणका काममा भएका अपारदर्शी र भ्रष्ट व्यवहारबाट आजित भएर छानबिन र दोषीउपर कारवाहीको सानो माग थियो यिनको। मुद्दा राष्ट्रिय बन्यो। तर विभिन्न राजनीतिक आवरणमा भ्रष्टाचारीहरू बचिरहेका थिए भने त्यसको विरोध गर्ने शारदाजस्ता मान्छे चाहिँ ज्यान जोगाउन लुक्दै हिंड्ने स्थिति भयो।
तिनै शारदा भुषाल झाको आत्मकथा धरातल शीर्षकमा बजारमा आएको छ। आत्मकथामा लेखिकाले आफ्नो बाल्यकाल, विवाह र भ्रष्टाचारविरुद्धको आफ्नो अभियानलाई लिपिबद्ध गरेकी छन्।

शारदाको बाल्यकाल

शारदाको बाल्यकाल अर्घाखाँची जिल्लामा बित्यो। शारदाको हजुरबुवाको प्रशस्त सम्पति थियो र छोरा गुणनिधि भुषाल मात्र। धनी बाबुका एक्लो छोरा गुणनिधिले श्रीमती मात्रै तीनवटी भित्र्याए। हुनेखानेहरू कम्युनिस्ट पार्टीको आदर्श आकर्षणबाट प्रभावित हुने लहरले यिनलाई पनि छोडेन। फलस्वरूप तत्कालीन नेकपा माले (पछि एमाले) का नेता बन्न पुगे। नेकपा मालेको भूमिगत राजनीतिकालमा विभिन्न तहका नेता कार्यकर्ताहरू घरमा आउने, बस्ने, खाने गरेको प्रभाव शारदामा पनि पर्‍यो। गुणनिधि विचारमा कम्युनिस्ट भए पनि व्यवहारमा कट्टर सामन्ती रहेछन्। नैतिक आचरण पनि सम्भवत: असल थिएन। शारदाले एउटी महिला गुणनिधिको पेट बोकेको कारण मारिएकी भन्ने सुनेकी पनि रहिछन् (पृ. ४८)। त्यसबाहेक घरमा सबैलाई त्रासमा राख्‍न मन पराउँदा रहेछन्। श्रीमतीहरूलाई समान व्यवहार गर्ने गरेका रहेनछन् यिनले भन्ने प्रमाण जेठी श्रीमतीको मृत्यु हुँदा घाटमा सम्म पनि उपस्थित नभएको घटनाले पुष्टी गर्छ (पृ. ३४०)। गुणनिधि कान्छी श्रीमती अर्थात शारदाकी आमासँग बस्दा रहेछन्। तर शारदाले सानैबाट आमाबाबु दुबैबाट चरम प्रताडना भोग्नुपरेको रहेछ। आमाबाबु नै शत्रुसरह भएपछि परिवारका अन्य सदस्य, आफन्त र छिमेकीले पनि त्यस्तै गर्ने गरेको कुरा शारदाले बताएकी छन्। धनी परिवारकी कान्छी छोरी भए पनि उनले बाल्यकालमा सुखको अनुभूति गर्न पाएकी रहिनछन्।
शारदाको सानोमा ओछ्यानमा पिसाब गर्ने बानी रहेछ। परिवारमा तिरस्कृत हुनुको एउटा कारण त्यो पनि रहेछ। त्यो समस्याको समुचित उपचार गराउन कसैले मतलब गरेन। दाजुदिदी र भाइले समेत पिट्ने गर्थे सानोमा। पैसा चोरेको, ढाँटेको जस्ता काल्पनिक आरोपमा निरन्तरको गाली र पिटाइ खानुपर्थ्यो। तेह्र वर्षको हुँदा आफ्नै घरमा भाडामा बस्ने अम्बिका घिमिरेले शारदालाई नराम्ररी फसाइछन्। चिरञ्जिवी नामका केटासँग तिनको अनुचित संवन्धको पोल खुल्ला भनेर अम्बिकाले षडयन्त्र रचेकी रहिछन्। यिनले शारदाले आफ्नै घरमा डेरा गरी बस्ने तराइमूलका एक कर्मचारी (नवलकिशोर झा) लाई लेखेको प्रेमपत्र भनेर एउटा चिठी आमालाई देखाइदिइछन्। बस्! त्यही कारण उनको चरित्रमाथि शंका गर्न थालियो। भलै भाइले दिदीको अक्षर होइन भनेर बताइदिएको थियो, तर त्यो कसैले पत्याएन। पिटाइबाट बच्न घरबाट भागिन् र साथीकोमा बसिन्। राति बाहिर बसेको निहुँमा घरमा उनको दोहोलो काढ्न सुरु भयो। सात कक्षामा पढ्दै गरेकी उनको पढाइ बन्द गरियो। एकपटक पार्टीका नेताहरूलाई स्वागत गर्न अबिर, माला लिएर जाँदा तेह्र वर्षकी आफ्नी छोरीलाई गुणनिधिले “यस्ती बुढीकन्याबाट म त अबिर लगाउँदिन” (पृ. २१) भनेर समेत भनेछन्। बाबुको यस्तो व्यवहारले शारदालाई कतै आफू अबैध सन्तान पो हो कि भन्ने समेत शङ्का लागेको देखिन्छ (पृ. ४८)।

किशोरावस्था

घरमा पार्टीका नेताहरू आएका थिए। राती बुबाले सबैका सामुन्ने उनलाई चारित्रिक आक्षेपसहित नराम्ररी कुटे। पार्टीका नेता मोदनाथ प्रश्रित र शान्ता मानवी पनि आएको समयको कुरा हो। घरबाट अपहेलित र चारित्रिक आरोप खपेकी शारदालाई मोदनाथले काठमाडौ लगेर पढाइदिने प्रस्ताव राखे – “अब हामी छोरीलाई काठमाडौं लान्छौं र उतै पढाउँछौं” (पृ. २२)। शान्ता र मोदनाथले सल्लाह गरेर त्यो निर्णय गरेका रहेछन्। सल्लाहमा कुत्सित मनसाय रहेछ कि भन्ने अनुमान हुन्छ। गुणनिधिले सहर्ष छोरी मोदनाथको हातमा सुम्पे। पार्टीको कार्यक्रमको कारण मोदनाथहरू सोझै काठमाडौं गएनन्। विभिन्न ठाउँमा जाने र राति बास बस्ने क्रममा शान्ताले शारदालाई मोदनाथसँग सुत्‍न पठाइन्। मोदनाथले पनि “बाबा-छोरी सँगै सुत्‍ने” भन्दै आफूसँग सुत्‍न कर गरे। तर शारदा सुतिनन्। काठमाडौ पुग्नुअघि मोदनाथको कोठाको भुइँमा अनिदो नै बित्यो शारदाका रातहरू। यसै क्रममा शान्ताले शारदालाई “राति तिमी दाइसँग एउटै कोठामा सुतिसक्यौ, अब तिम्रो बिहे (दाइसँग) भैसक्यो” (पृ. २४) भनेपछि उनी छाँगाबाट खसेजस्तो भइन्। शान्ताले थपिन् “अब तिमीले दाइको सेवा गर्नुपर्छ।” बाटोमा ठाउँठाउँमा शारदालाई पागल भएकोले उपचार गराउन काठमाडौँ लान लागेको बताउँदै गए मोदनाथले। गुणनिधिले पनि बास बसेको ठाउँमा मोदनाथको कम्मरमुनिको भागमा आएका घाउमा औषधि लगाइदिन उसको कोठामा पठाइदिए।
यसरी बुबा गुणनिधि र पार्टी नेतृ शान्ताको समेत सहयोगमा शारदा मोदनाथको नियन्त्रणमा पुगिन्। काठमाडौं आएपछि मोदनाथले स्वयम्भुस्थित आफ्नो कोठामा लगेर सात महिनासम्म बन्द गरेर राखेको कुरा शारदाले आफ्नो कथामा लेखेकी छन्। अरूको अगाडि “छोरी” भनेर सम्बोधन गर्ने र राति राति बलात्कार गर्न खोज्ने मोदनाथको व्यवहारको वर्णन दर्दनाक ढङ्गले गरिएको छ। उनले बलात्कारको प्रतिकार पनि गर्न खोजिन्। घरको अरू कोठामा बस्ने र छिमेकीलाई शारदा पागल भएकीले यस्तो हर्कत गरेकी बताए मोदनाथले। पहिलोपटक बलत्कार भएको घटनालाई यसरी वर्णन गरेकी छन् शारदाले,
“बाहिरी लुगा खोलेर ओछ्यानमा पल्टिएको मोदनाथ जुरुक्क उठ्यो र कुनामा थरथर काँप्दै उभिएकी मलाई उसका पन्जाहरूले अठ्याए। जबर्जस्ती मलाई ओछ्यानमा लडायो। कम्मरमुनिका लुगा खोलेर मिल्कायो। कम्मरमाथिको लुगा अलि माथि सारेर मेरा अङ्गहरूमाथि आक्रमण गर्न थाल्यो। मैले प्रतिकार गर्न छाडिनँ। तर ऊ झनै हिंस्रक रूपमा प्रस्तुत भयो। एउटा हातले मेरा हातहरू अँठ्याएर मेरो कम्मरमाथि घोडा चढ्यो अनि अर्को हातले मेरा लुगाहरूका टाँकहरू खोल्न थाल्यो। मैले जोडले चिच्याएँ। ऊ मेरा गालाहरूमा चड्काउँथ्यो … म चिच्याउन नसकूँ भनेर उसले कपडाले मेरो मुख थुनिदियो अनि मेरो अस्मिता जबरजस्ती लुट्यो। म भिड्दाभिड्दै म हारेँ। म करिब करिब बेहोसीको अवस्थामा पुगेँ … मोदनाथका पन्जाहरूले शरीरका कपडा सबै च्यातिएका थिए।” (पृ. ३२-३३)
मोदनाथको यो कोठामा शारदा सात महिनासम्म लुटिइन्। खानेकुराको नाममा पानी र पाउरोटीबाहेक केही दिइएन। दिनभरि कोठामा थुनिन्थ्यो। दिसा, पिसाब गर्न भित्रै बाल्टिन राखिदिएको थियो। यो बिचमा मोदनाथले उपचार गर्ने भनेर नशालु औषधि खुवाउन थाले। आक्कलझुक्कल मोदनाथ शान्ता मानवीकहाँ गएको बेलामा बाहेक उनी हरेक दिन त्यसै गरी लुटिइन्। र, एकदिन तिजको अवसर पारेर दिदीहरू उनलाई लिन आए। दिदीहरू कहाँ पनि उनलाई कुनै माया ममता त मिलेन। पागल र चरित्रहीनलाई गर्ने सहानुभूति र घृणा मात्रै थियो। शारदाले त्यो समयलाई उपयोग गर्ने विचार गरिन् र पाँचसय रुपैया चोरेर भागिन्। सोध्दै सोध्दै सुन्धारा पुगिन् र अर्घाँखाँची जान बस चढिन्।
तर घरमा उल्टो प्रताडना सुरु भयो। हजुरआमा बाहेक कसैले पनि सहानुभूतिसम्म देखाएन। के भएको थियो भन्ने सोध्ने, सुन्ने इच्छा सम्म कसैले देखाएन। यो सब देखेका तराइमूलका तिनै झा थरका कर्मचारीले शारदालाई आफूसँग जाने भए छोरीजस्तै पाल्ने, पढाउने र विवाह पनि गरिदिने बताए। झा पनि गुणनिधिको लगातारको कुटपिट र धम्कीको कारण त्यहाँबाट सरुवा मिलाउँदै रहेछन्। उपायहीन शारदा उसैको पछि लागिन्। बुटवलमा स्वास्थ्य परीक्षण गर्दा डा. सावित्री पहारीले उनको यौनाङ्गमा लगातारको बलत्कारले समस्या सुरु भएको बताएन्। स्वेतप्रदर रोगको उपचारको लागि लामो समयसम्म औषधि खानुपर्ने पनि बताइन् डाक्टरले। शारदाको अनुसार मोदनाथले उनलाई यौनरोग सल्काइदिएको थियो। किनभने मोदनाथको यौनाङ्गबाट पिप निस्कने समस्या थियो (पृ. ३५)। खानपिन र औषधोपचारको पुरै जिम्मा झाले नै लिए।
झा विवाहित र एक छोरा तथा एक छोरीको बाबु थिए। महोत्तरीको बनौलीदनौलीमा उनको घर थियो। शारदा त्यहीँ पुगिन्। शारदाको परिचय स्पष्ट थिएन। झा रक्सी खाने कुलतका रहेछन्। रक्सीको सुरमा कुनै भट्टीवाल्नीलाई उठाएर ल्यायो भनेर परिवार र छिमेकीले बुझेछन्। पूरा मैथिली वातावरण, नयाँ संस्कार, नयाँ भाषामा शारदाको केही महिना बित्यो। झाको सरुवा सोलुखुम्बुमा भएको थियो। उनी झासँगै सोलुखुम्बु पुगिन्। सोलुखुम्बुमा झाको नयाँ रूपले शारदाको स्वागत गर्‍यो। रक्सी खाने, रक्सीको सुरमा कुट्नेपिट्ने सुरु भयो। यौनसंवन्ध राख्‍न पनि सुरु भयो। छोरी बनाएर राख्‍ने, पढाउने, विवाह गरिदिने कुरा हरायो। शारदा भुषाल अन्तत: शारदा भुषाल झा बनिन्।

राजनीतिक सक्रियता

सोलुखुम्बुमा शारदाले स्वाध्यायबाट दश कक्षा उत्तिर्ण गरिन्। एसएलसी जाँच दिन झाले दिएनन्। झाकी जेठी श्रीमतीका सन्तानको जिम्मा पनि उनैले लिएकी थिइन्। केही वर्षपछि झाको सरुवा तराइमै भयो। झासँगै उनी पनि तराइ घरमा आइपुगिन्। घरमा उनलाई अझै स्विकारिएको थिएन। त्यसले गर्दा उनलाई बाह्य सम्पर्क राख्‍ने समय मिल्यो। झाको परिवार नेपाली काङ्ग्रेसमा आस्था राख्‍ने रहेछ। गाउँमा नेकपा एमालेका कोही कार्यकर्ता पनि रहेनछन्। यस्तो स्थितिमा उनले नेकपा एमालेको सङ्गठन गर्न सुरु गरिन्। एमालेबाट राजनीति गरेर माथि पुग्ने र आफूमाथि भएको अत्याचारको भण्डाफोर गर्ने उनको योजना थियो। तर त्यसो हुन सकेन। राजनितिक घातप्रतिघातको कारण उनको एमाले राजनीति सफल हुन सकेन।
संगठन गर्ने क्रममा उनलाई तराइका महिला, दलित आदिको समस्याको पनि गहिरो ज्ञान भयो। मैथिली भाषामा पनि पोख्त भइन्। अब शारदा शोषित पीडितको सच्चा हितैषी भएर काम गर्न थालिन्। तर तराइको राजनीति खतरापूर्ण थियो। ज्यानको जोखिम पलपलमा थियो। केही सहृदयी साथीहरूले उनलाई निरन्तर सहयोग दिइरह्यो। तर घरबाट भने निरन्तरको प्रताडना, दु:ख र पिटाइ मात्र मिल्यो। झाले कहिल्यै उनको राजनीतिलाई सहयोग गर्न चाहेनन्।

भ्रष्टचारको विरोधमा

राजनीतिक सङ्गठन गर्ने क्रममा उनलाई स्थानीय क्षेत्रमा हुने भ्रष्टाचारको पनि गहिरो ज्ञान हुन थाल्यो। विकास निर्माणका काममा बन्ने फर्जी कागत, नागरिकताको समस्या, जनप्रतिनिधिको आवरणमा अपराधीहरूको जगजगी जस्ता कुरा त्यहाँका हरेक पार्टीमा रहेको देखिन् उनले। प्रहरी र प्रशासन पनि अपराधीहरूकै पक्षमा, भ्रष्टाचारीकै पक्षमा देखेर उनलाई भ्रष्टाचारको विरुद्धमा लाग्न प्रेरित गर्‍यो। सक्रिय राजनीतिलाई त्यागेर उनी सामाजिक काममा हेलिइन्। यो बाटो झन् सङ्घर्षपूर्ण थियो। भ्रष्टाचारीलाई कार्वाही गर्ने र विकास निर्माणका कामको सत्यतथ्य सार्वजनिक गर्ने माग राखेर आमरण अनसन बस्ने निर्णयमा पुगिन् उनी। केही साथीहरूको सहयोगमा सुरु भएको अनसनले राष्ट्रिय रूप लियो। विस्तारै मिडियाले स्थान दिन थाल्यो। एउटै कुरालाई लिएर पटक पटक आमरण अनसन बस्दा पनि समस्याको समाधान भएन। अनसन बस्नै नदिने, हस्तक्षेप गर्ने जस्ता हरकत राजनीतिक नेतृत्व र प्रशासनले गरिरह्यो। राजनीति र प्रशासन नै चुर्लुम्मै भ्रष्टाचारमा डुबेकोले शारदाको अभियान चाहेअनुरूप सफल भएन। हरेकपल्ट आश्वासन दिने, लिखित सहमति गर्ने तर काम केही नगर्ने स्थिति रहिरह्यो।
भ्रष्टाचारको जालोलाई चिर्न उनको सक्रियता काठमाडौमै केन्द्रीत हुन थाल्यो। मन्त्रालय चहार्ने, सूचना सङ्लन गर्ने अनि अख्तियारमा उजुरी दिने उनको दिनचर्या नै बन्यो। काठमाडौं बसुञ्चजेल श्रीमानले हरेक महिना दश हजार दिने गरेका थिए। कुनै प्रतिफल नआउने देखेपछि त्यो पनि बन्द भयो। सहृदयी मित्रहरूको सहयोगले मात्र उनी काठमाडौमा टिक्न सकिन्। भ्रष्टाचारको जड राजनैतिक अकर्मण्यता हो र राजनीति गर्नेको भ्रष्टाचार अन्य सबै भ्रष्टाचारको जड हो भन्ने निष्कर्षमा पुगिन् उनी। उनलाई पहिलो संविधानसभाको विघटनले छोयो। चार वर्षसम्म बसेर, तलब लिएर संविधान नबनाउनेहरू भ्रष्टाचारी हुन् भनेर आवश्यक सूचना सङ्कलन गरेर सर्वोच्चमा रिट दिइन्। तर रिट खारेज भयो। अनि उनले छ सय एक सभासदको मौन काजक्रिया नै गरिन् तेह्र दिनसम्म खुल्लामञ्चमा बसेर। त्यसले पनि कुनै दवाव गरेन। तर मिडिया कभरेज राम्रो रह्यो। सर्वसाधारणहरूको उत्साही समर्थनले प्रेरणा चाहिँ मिलिरह्यो।
यो बिचमा उनलाई विभिन्न खालका मान्छेहरूले उपयोग गर्न पनि खोजे। तर त्यसबाट बच्दै आएकी छन्। सगरमाथा टेलिभिजनमा अन्तरवार्ता प्रशारण भए वापत यसका मालिक निर्मल गुरुङले यौन संवन्ध राख्‍न दवाव पनि दिए। सरकार र राजनीति कर्मीहरूको बढ्दो परिचय र सूचना सङ्कलन गर्न क्रियाशील भएको कारण भारतीय गुप्तचर निकाय रअले पनि उपयोग गर्न खोज्यो। तर उनले राष्ट्रलाई गद्दार गर्न चाहिनन्। मिडियाकर्मीहरू पनि कसैले उनको कामलाई सहयोग गरे भने कसैले वास्तै गरेनन्।

पछिल्लो जीवन

पछिल्लो समयमा उनको सम्वन्ध माइती र घरसँग कटु नै रह्यो। हजुरआमा (आँवै) र हजुरबा (बाजे) को मृत्युपछि माइती र आफन्तहरूसँगको संवन्ध टुटे जत्तिकै छ। श्रीमानसँग पनि संवन्ध विच्छेद भएको छ। शारदा अहिले भ्रष्टाचारको विरोधमा आफ्नो हैसियतले गर्न सक्ने काममा उत्तिकै सक्रिय छिन्। आफूलाई समय सापेक्ष परिवर्तन गर्नलाई प्रविधिसँग पनि जोड्दैछिन्। कम्प्युटर र इन्टरनेटसँग परिचित भएर सामाजिक सञ्जालमार्फत् आफ्नो अभियानलाई अगाडि बढाउँदैछिन्। संस्थागत रूपमै अभियान अघि बढिरहेको छ। यसै क्रममा मुम्बइ गएर भारतमा भ्रष्टाचारको विरोधमा अभियान छेडेका अण्णा हजारेसँग भेटेर आइन्।

पुस्तकको संरचना

पुस्तकमा वर्णित प्रसङ्गलाई परम्परागत आत्मकथाकै शैलीमा लेखिएको छ। विषयसूचि छैन। विषयसूचि नदिए पनि आत्मकथा विभिन्न शीर्षकमा विभाजित छ। चालिस वर्षिया शारदाको आत्मकथामा चालिसै च्याप्टर छन्। पुस्तकमा उनले मूल रूपमा दुईवटा कुरालाई जोड दिएर उठाएकी छन्। एउटा उनको त्रासदीपूर्ण बाल्यकाल र किशोरावस्था। दोस्रो भ्रष्टाचारविरूद्धको अभियान। आफ्नो त्रासदीपूर्ण विगतलाई पर्दाफास गरेर उनले विभिन्न पात्रहरूलाई सार्वजनिक कठघरामा उभ्याएकी छन्। उनको जीवनले जुन मोड लियो त्यसमा उनले किटेरै केही पात्रहरूलाई उल्लेख गरेकी छन्। तत्कालीन मालेकालदेखि नै बौद्धिक, विद्वा


न आदि भनेर चर्चित र पछि शिक्षामन्त्री पनि भएका मोदनाथ प्रश्रितले उनको जीवनलाई त्यो रूप दिन महत्वपूर्ण अपराध गरेका रहेछन्। सद्दे र नाबालक केटीलाई कैद गरेर चरम यातनासहित सात महिनासम्म बलत्कार गरेको कुरालाई कुनै पनि सभ्य समाजले राम्रो मान्दैन। मोदनाथलाई सहयोग गर्ने वर्तमान केपी ओली सरकारकी मन्त्री शान्ता मानवीले मतियारको काम गरेको देखिन्छ। आफ्नो नाबालक छोरीलाई जानी जानी त्यो स्थितिमा पुर्‍याउने गुणनिधि भुषाल पनि त्यत्तिकै दोषी छन्। चौथो व्यक्ति नवलकिशोर झा हुन्। झुटो आश्वासन दिएर आफूभन्दा धेरै कम उमेरकी शारदालाई फसाएका मात्र छैनन्, चरम यातना पनि दिएका रहेछन्। यसबाहेक शारदाकी आमाको पनि उत्तिकै हात छ। सामान्य अवस्थामा कुनै पनि आमाले आफ्ना सन्तानलाई गर्न नसक्ने कर्तुत शारदाकी आमाले कसरी गरिन्? जन्म दिने (?) बाबुले सबै कुरा थाहा पाएर पनि किन त्यो स्वीकार्न चाहेन अनुत्तरित छ। शारदाका दाजुदिदीहरू पनि धेरै ठूला भइसकेका थिए। पढेलेखेका थिए। उनीहरूलाई पनि तथ्य थाहा हुनुपर्ने हो। तर किन अन्जान मात्र बनेका छैनन्, सारा दोष शारदाकै हो भनेर तिरस्कार गरेका छन्। दोष उनीहरूको पनि देखिन्छ। शारदाको यो आत्मकथाले सबैलाई औंला उठाएको छ। आवरण तस्वीरले पनि संभवत यही बताउँछ।
भ्रष्टाचारविरुद्धको अभियानमा शारदाको विभिन्न हैसियत र परिचयका मान्छेहरूसँग भेट भएको छ। उनलाई सहयोग गर्नेदेखि हतोत्साहित गर्ने र अवरोध खडा गर्नेसम्मका मान्छेका नाम पुस्तकमा उल्लेख गरिएको छ। पढ्ने क्रममा कुनै पनि वर्णित घटना कोरा काल्पनिक मात्र हो भनेर शंका गर्ने ठाउँ निकै कम छ। प्रधानमन्त्रीको कार्यालयदेखि अख्तियार, मन्त्रालयदेखि जिल्ला प्रशासनसम्मका काला अनुहारहरू पुस्तकमा देखिन्छन्। राम्रा मान्छेको प्रशंसा पनि गरेकी छन् लेखकले। भ्रष्ट आचरणका यी सबै गलत व्यक्ति र प्रवृत्तिप्रति पनि औंला ठड्याएकी छन् लेखकले – होस् गर, समय सँधै उस्तै रहँदैन!

त्रुटि र समस्या

झन्डै साढे तीन सय पृष्ठको किताबमा हिज्जेका सामान्य त्रुटि एकाध फेला पर्छन्। व्यापक त्रुटि भेटिने हाम्रा प्रकाशन परम्परामा यो उल्लेखनीय होइन। तर केही स्थानमा तथ्यगत अलमल पनि देखिन्छ। उदाहरणको लागि नेकपा मालेको कार्यालयमा कार्यालय सचिव मनकुमार गौतमसँगको भेटको प्रसङ्ग। गौतमसँग एकपटक मात्र भेटेको बताइएको छ (पृ. ३६)। तर पृ. ४०-४१ मा गौतमले पार्टी कार्यालयबाट लगेर मासुभात खुवाएको अर्को प्रसङ्गको पनि उल्लेख छ। त्यस्तै, पृ. ६२-६३ मा बुटवलबाट काठमाडौँ आएपछि काठमाडौंको सडकमा व्यहोरेको समस्याको वर्णन छ – बाटो काट्न नजानेको आदि कुरा। तर त्यसअघि नै मोदनाथको कोठाबाट भाग्दाको अनुभव हुनुपर्ने हो। दिदीहरूकहाँबाट पैसा चोरेर ट्याक्सीमा स्वयम्भु आएर मोदनाथको कोठा पत्ता लगाउन सक्ने, केही पटक (हात समातिएरै सही) बागबजार पार्टी कार्यालय पुगेकी र स्वयम्भुबाट सुन्धारा आएर बस खोजेर अर्घाखाँची समेत पुगेकी केटीले बाटो काट्न आउँदैन थियो भनेको चाहिँ अनौठो लाग्छ। डराएकी हुनु सामान्य कुरा हो।
महोत्तरीमा नवलकिशोर झाको घरमा सुरुमा बस्दाताकाको चर्चा गर्दा नवलका बाआमालाई पटकपटक ससुरा, सासु भनेर सम्वोधन गरिएको कुराले पढ्ने क्रममा अलमल्याउँछ। शारदाले नवलसँग बिहे गरिसकेको हो र भन्ने प्रश्न उठ्छ। किनभने सोलु नपुगुञ्जेल त लेखिकामा यिनै झासँग फसिन्छ भन्ने कल्पना पनि थिएन भन्ने बुझिन्छ। झासँग ‘विवाह’ भएको कुरा पहिल्यै नखुलेकोले यस्तो अलमल परेको हो। अर्को, अनसन बस्दाका खर्च विवरण हरेक पटकको दिइएको छ। पृ. २०५ मा सहयोगबाट उठेको बाहेक रकम आफैले जुटाइरहेको लेखिएको छ। त्यो कहाँबाट जुट्यो, स्पष्ट हुँदैन। किनभने उनको आर्थिक स्थिति त्यस्तो आवश्यक रकम निकालिहाल्न सक्ने देखिँदैन। यसको पनि व्यहोरा उल्लेख गरिदिएको भए स्पष्ट हुन्थ्यो।
अण्णा हजारेलाई भेट्ने समय १६ तारिख हुनुपर्नेमा एक ठाउँमा (पृ. ३३०) २६ तारिख भनिएको छ। यसै प्रसङ्गमा १४ तारिख (२८ गते) मुम्बइ पुगेका उनीहरूको एकदिन गायब भएको छ। लेखिकाले अतुल कोटासँग दोस्रोपटक भेटेकी रहिछन् (पृ. ३३०)। तर पहिलो भेटको प्रसङ्ग नहुँदा अलमल पर्ने देखिन्छ। किनभने लेखिकाको त्यस्तो महत्वपूर्ण भ्रमण र भेटघाटको चर्चा अन्यत्र कतै छैन। पृ. ३०५ मा खीलराज रेग्मीलाई राष्ट्रप्रमुख भनिएको छ, सरकार प्रमुख भनिनुपर्ने!

निश्कर्ष : शारदाले आफूले भोगेको, व्यहोरेको कथा बाहिर आएको छ। सार्वजनिक भएको छ। उनको घटना कति सत्य हो, कति असत्य हो भनेर पनि पक्कै पनि परिचर्चा चल्ने छ। आरोपित व्यक्तिको प्रतिक्रियाको सबैलाई अपेक्षा रहिरहने छ। किन पनि भने आरोपित भनेका व्यक्ति जनताले पत्याएका, नेतृत्वदायी स्थानमा पुगेका र आदर्श ठानिएका छन्। उनीहरूले मुख बन्द गर्न पाउने छैनन्। सही भए उनीहरूले कस्तो सजाय पाउनुपर्ने हो, पाउनु पर्छ। गलत भए शारदाले जवाफदेही हुनुपर्छ। र, शारदाको आफ्नै गल्ति चाहिँ थिए कि थिएनन्, र थिए भने के कस्ता गल्ति थिए भन्ने पनि बहसमा आउने नै छ।
लेखिकाले भोगेको त्रासदीपूर्ण जीवन र उनको भ्रष्टाचार अभियानबाहेक तराइको जीवनमा महिलाको अवस्था चित्रण पनि पुस्तकको उल्लेखनीय पक्ष हो। राजनीतिक गतिविधि गर्ने क्रममा लेखिका स्थानीय गाउँले दिदीबहिनीसँग घुलमिल हुन्छिन्। यो क्रममा उनले देखेबुझेको बोक्सीको समस्या, दाइजोक समस्या, साक्षरताको समस्या, घुम्टी लगाउने समस्या, छुवाछुतको समस्यालाई आफ्नो वर्णनमा उल्लेख गरेकी छन्। यस अर्थमा यो तराइ बुझ्न यो खण्डले थोरै भए पनि सहयोग पुग्ने देखिन्छ।
आफूले भोगेका दुर्दान्त घटनाहरूलाई लुकाएर राख्‍ने प्रचलन हाम्रो समाजमा व्यापक छ। आफ्नो इज्जत, परिवारको इज्जत आदि नाममा अपराधहरू बाहिर आउँदैनन् हत्तपत्त। परिणामस्वरूप अपराधीको समाजमा धाक बढ्दै जान्छ। शारदा भुषाल झाको यो आत्मकथा यो मौनलाई चिर्ने हतियार हुन सक्छ। यस्ता लेखनले सम्पन्नताको आवरणमा, शक्तिको आवरणमा हुने गरेका जघन्य अपराधहरूलाई बाहिर ल्याउन पीडितलाई प्रोत्साहित गर्छ। बलात्कारजस्ता घटना त्यसै पनि सजिलै बाहिर आउँदैन। समाजले अझै पनि बलत्कारीलाई भन्दा पनि पीडितलाई दोषी देख्‍ने गर्छ र पीडित झन् पीडित हुने र तिरस्कृत हुँदै जाने सम्भावना रहन्छ। गौरा प्रसाईँले पनि आफ्नो जीवनमा घटेको यस्तै घटना बाहिर निकालेकी थिइन्। तर त्यो नितान्त बेग्लै परिस्थितिको हो। शारदाको जीवनको घटना कल्पनातीत छ। यस्ता घटना बाहिर आएको कुराबाट मात्र होइन, उनले गरेको संघर्ष, आँट र आफूमा ल्याएको रूपान्तरणबाट पनि मानिसहरूलाई प्रभावित पर्ने छ।( यो प्रतिक्रिया लोहनीले  शारदा भुषालको संस्मरण “धरातल” पढेपछि चार वर्षअघि लेेेेेखेका हुन् ।)

7Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement