14Shares
शशांक कोइराला नेपाली कांग्रेसका महामन्त्री हुन् । आगामी महाधिवेशनमा उनले सभापति शेरबहादुर देउवालाई पराजित गर्न सक्ने आफूमात्रै रहेको दाबी गर्दै उम्मेदवारी अघि सारेका छन् । तर उनले आफू एक्लै नभइ सल्लाह र सहमतिका आधारमा मात्रै उम्मेदवारी दिने तयारीमा रहेको बताउँछन् ।

रामचन्द्र पौडेल समूहमा रहेका कोइरालाले देउवालाई गोप्यरुपमा भेटेर उनकै उम्मेदवार बन्ने हल्ला केहीदिन चलेको भए पनि उनले त्यसको कडारुपमा खण्डन गरेका छन् । प्रस्तुत छ, उनै कोइरालासँग अक्षर काकाकेशव सावद र जगन्नाथ दुलालले पछिल्लो राजनीतिक अवस्थामा केन्द्रित रहेर गरेको कुराकानीः

पछिल्लो समय यहाँले पार्टी सभापति नै तोकिएको मितिमा महाधिवेशन गर्न इच्छुक देखिनुहुन्न भन्ने अभिव्यक्ति दिनुभयो, कसरी तपाईंलाई महाधिवेशन अनिश्चित लाग्यो ? 

महाधिवेशन साच्चै नै अनिश्चिततातर्फ गइसकेको जस्तो लाग्छ । कोरोनामात्रै होइन शेरबहादुरजीले जति सक्नुहुन्छ, त्यति महाधिवेशन टार्दै जानुहुन्छ । त्यसले हाम्रो पार्टीभित्र संकट आउँछ । वैधानिक संकट आउँछ । त्यो कसरी पार गर्नुहुन्छ, थाहा छैन ।   तर, यो सिरियस कुरा हो । कोभिडका बारेमा हामीलाई केही पनि थाहा छैन । कसैले कहिले त कसैले कहिले ‘पिक’ (उच्च संक्रमण) हुन्छ भन्छन् । कसैले दसैंताका ‘पिकिङ’ हुन्छ भनेका छन् । कसैले जाडोमा भनेका छन् ।

‘पिकिङ’ भएको खण्डमा त हामीले फागुन ७ गते महाधिवेशन गर्न सक्दैनौँ । वैशाख, जेठतिर गर्नुपर्ने हुन्छ । त्योभन्दा उतातिर लैजानु हुन्न । किनभने आउँदो स्थानीय निर्वाचनमा प्रभाव पर्न सक्छ । स्थानीय निर्वाचनमा पुग्नुभन्दा एकवर्ष पहिले नै हाम्रो अधिवेशन भइसक्नुपर्छ । किनभने नयाँ सभापति आएको खण्डमा उसलाई पनि समय लाग्छ नि नेतृत्व सम्हाल्नलाई । हाम्रो अधिवेशनलगत्तै स्थानीय निर्वाचन भयो भने हाम्रो उपस्थिति कमजोर हुन सक्छ ।

तपाईंले संस्थापनइतर समूहभित्र आफूमात्रै वर्तमान सभापतिलाई हराउन सक्ने योग्य उम्मेदवार हो पनि भन्नुभयो, त्यो कसरी दाबी गर्नुहुन्छ ? 

मैले साथीहरुसँग कुरा गर्दा तपाईँमात्रै हो शेरबहादुरजीलाई हराउने, अरु कसैले सक्दैन भन्नुहुन्छ । उहाँहरुकै भनाइ हो । भित्रैबाट सोध्नुहुन्छ भने मलाई सभापति बन्नै मन छैन । यो एउटा राजनीतिक वाध्यता हो, मेरो लागि ।  तपाईंले त पार्टी सभापतिलाई केही दिनअघि कांग्रेसकै एक नेताको पाँचतारे होटलमा भेट गर्नुभयो भन्ने पनि समाचारहरु बाहिरिएका छन् । सभापतिसँग चुनावी तालमेल गरेर अघि बढ्न लाग्नुभएको हो ?

मैले एक–डेढ महिनायता सभापतिसँग कहीँ–कतै भेट गरेको छैन । हाम्रो पछिल्लो भेट भनेको पदाधिकारी बैठकमा उहाँकै निवासमा भएको हो । कहाँ विनोद चौधरीको होटलमा भेट भयो भन्ने समाचार मैले पनि सुनेँ । तर, भेटेको होइन ।

तपाईँहरु वर्तमान सभापतिलाई आगामी महाधिवेशनमा जसरी पनि हराउने भन्ने रणनीतिमा लाग्नुभएको छ । तपाईंहरुकै समूहमा अन्य नेताहरुले पनि सभापति पदका लागि आकांक्षा देखाइरहनुभएको छ । के साच्चै एकमात्र उम्मेदवार हुन्छ ?  

हराउने भन्ने शब्द प्रयोग नगर्नुस् । नेतृत्व परिवर्तन गर्ने कुरा हो । यसमा मेरो भनाइ के छ भने–हामी जति पनि आकांक्षी छौं । ति सबै ५–६ जना बस्नुपर्छ । छलफल गरेर एक जनाको नेतृत्वमा जानुपर्छ । म भन्दिन कि म नै हुनुपर्छ भनेर ।

तर, मलाई के लाग्छ भने साथीहरुको भनाइ छ कि तपाईं बाहेक अरुले सक्दैन । त्यही भएर भित्रबाट मलाई पनि यही नै हो कि जस्तो लाग्छ । तर, के हुन्छ, त्यो त चुनाव भएपछि मात्रै थाहा हुन्छ ।

तपाईंहरुको समूहबाट एकजनामात्रै उम्मेदवार हुने सम्भावना कत्तिको देख्नुहुन्छ ?

सकिन्छ, एक जनामात्रै उम्मेदवार हुन । हुन त विमलेन्द्र निधिले घोषणा गरिसक्नुभएको छ । विमलेन्द्र र शेरबहादुर देउवा दुबै त उठ्नुहुन्न होला । त्यसैगरी हाम्रोर्फ पनि सहमति हुन्छ, एक जनामात्रै उम्मेदवार हुन्छौं ।

अहिले देखिएको जस्तो संस्थापन पक्षबाट उपसभापति निधि ‘ब्याक’ हुनुभएन भने तपाईंहरुको तर्फबाट पनि एकभन्दा बढी उम्मेदवार हुन्छन् भन्ने पनि अनुमान गरिएको छ, यसमा के छ तपाईंको धारणा ? 

यदि यस्तो हो भने त्यो सम्भावना बढेर जान्छ । उतातिर दुईजना भए भने यताबाट पनि दुईजना हुन सक्ने सम्भावना रहन्छ ।

संस्थापन पक्षबाट निधिले विद्रोह गर्नुभयो भने सभापति देउवाले तपाईंलाई सभापतिको उम्मेदवार बनाएर पत्नी डा. आरजु राणालाई पदाधिकारीमा ‘सेटल’ गर्ने सम्भावनातिर पनि चर्चा सुनिन्छ नि ! 

यो काल्पनिक हो । यसमा मेरो अरु केही कमेन्ट छैन ।

लामो समयदेखि सभापति देउवासँगै रहनुभएको थियो । अहिले एकाएक किन नेतृत्व परिवर्तनको आवश्यकता देख्नुभयो ? 

किन नेतृत्व परिवर्तन गर्ने भन्दा शेरबहादुर देउवाको नेतृत्वमा धेरै गल्तीहरु भए । सानो उदाहरणका लागि म भन्छु– प्रचण्डकी छोरीलाई मेयरमा जिताउन खेल जुन चल्यो नि, त्यो उहाँ (देउवा) ले आफू प्रधानमन्त्री बन्नका लागि गर्नुभएको थियो ।

उहाँको त्यो कदमले चितवनको ६० वर्षदेखिको राजनीति समाप्त पारिदिनुभयो । कांग्रेसलाई कहिले हसिया र हथौडामा त कहिले हलोमा भोट हाल्न बाध्य पार्नुभयो । कांग्रेसले त रुखमा हाल्नुपर्ने होइन र भोट ?  चितवनमा चालेको कदमबाटै उहाँको पतन सुरु भएको हो । तयसपछि एकपछि अर्को गल्तीहरु गर्नुभयो । चुनावमा टिकट बाँड्दा पनि बेचबिखन भयो भन्ने गुनासो छ, सत्यतथ्य के हो मलाई थाहा छैन । हुन पनि सक्छ ।

अर्को गल्ती कहाँनेर भएको छ भने– जसरी हामीले विकेन्द्रीकरणको अन्तिम सीमा भनेको संघीयता हो । त्यसैगरी पार्टीको पनि विकेन्द्रीकरण हुनुपर्‍यो । जिल्ला सभापतिलाई किन जिम्मेवारी नदिने ? जिल्लामा उठ्ने व्यक्तिहरु जिल्ला सभापतिले रोज्नुपर्‍यो ।  केन्द्रमा बसेर हामीलाई कहाँ थाहा हुन्छ कि कुन पालिकामा कसले जित्छ भनेर । यो कुरा जिल्ला सभापतिलाई नै थाहा हुन्छ । जसरी हामी संघीयतामा गएका छौं त्यसैगरी सम्पूर्ण अधिकार जिल्ला सभापतिहरुलाई दिनुपर्छ । यसले कांग्रेसको पक्षमा नतिजा राम्रो दिन्छ ।

म सभापति भयो भने सबैभन्दा पहिले मेरो जोड पार्टीलाई एक बनाउने हुन्छ । गुट र उपगुटको समाप्ति, र, संगठित । संगठन भनेको सबैभन्दा मूल हो । संगठनलाई गाउँदेखि माथिसम्म पर्याप्त रुपमा संगठित भएर लैजान्छु । त्यसका लागि प्रशिक्षणका कामहरु हुन्छन् । विभागहरु तुरुन्तै बनाउँछु । विभागहरुलाई क्रियाशील बनाउँछु ।

तपाईंले धर्मका विषयमा बोल्दा जहिल्यै विवादमा तानिनुहुन्छ । धर्म बारेको धारणा चैं के हो तपाईंको ? 

धर्म र राजनीतिलाई सँगसँगै लिएर जानुहुँदैन । राजनीति गर्ने व्यक्तिले धर्मका बारेमा बोल्नुहुँदैन । मेरो भनाइ के हो भने धर्म न सापेक्ष हुन्छ, न निरपेक्ष । धर्म स्वतन्त्र हुन्छ । कांग्रेसको चारतारे झण्डामा एउटा तारा धार्मिक स्वतन्त्रताको प्रतीक हो ।

नेपालको संविधानलाई राम्ररी हेर्‍यो भने सनातन धर्मको रक्षा गर्दै भनेर लेखिएको छ । तर, अल्टिमेट्ली धर्म निरपेक्ष भनिएको छ । एकातिर सनातन धर्मको सुरक्षा लेखियो, अर्कोतिर आएर फेरि धर्मनिरपेक्ष भनियो । यो परस्पर बाझिाएको छ ।  म धर्म स्वतन्त्रता हुनुपर्छ भन्छु । त्योभन्दा बढ्ता म बोल्दिन । बेलाबखत मैले जनमत संग्रहको कुरा गरेको थिएँ । अब त्यो पनि गर्न चाहँदैन, किनकि जनमत संग्रह भन्नेबित्तिकै अरु कुराहरु पनि आउँछन् ।
 

14Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement