0Shares

आफ्नै घरको ओछ्यानमा मृत फेला परेका विराटनगरका औषधि व्यवसायी देवीप्रसाद दुलालको हत्यामा आफ्नै श्रीमतीको संलग्नतामा रहेको दाबी प्रहरीले गरेको छ।

सुनसरीको इटहरी उपमहानगरपालिकाको खनार घर भई विराटनगर महानगरपालिका १० मधुमारा बस्दै आएका ३३ वर्षीय देवीप्रसाद दुलालको शव शनिबार घरमै फेला परेको थियो।

शनिबार राति पत्नी मीना श्रेष्ठले प्रेमीसँग मिलेर देवीप्रसादको हत्या गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी विश्व अधिकारीले जानकारी दिए । प्रहरीका अनुसार प्रेमीसँगको अवैध यौनसम्बन्ध लुकाउन मीनाले सिराहाको लहान घर भई विराटनगर बस्दै आएका ब्रह्मदेव साहसँग मिलेर पतिको हत्या गरेकी हुन्।

श्रेष्ठ र साहबीच अवैध सम्बन्ध रहेको प्रहरीले जनाएको छ। दुईबीचको सम्बन्ध देवीप्रसादले थाहा पाएपछि श्रेष्ठ र साहले शनिबार राति रक्सीले मातेको अवस्थामा कुटपिट गरी घाँटीमा डोरीले बाँधेर हत्या गरेका प्रहरीको भनाइ छ।

देवीप्रसादले विराटनगरमै देवी माँ पाथीभरा फर्मा सञ्चालन गर्दै आएका थिए। शनिबार साँझ उनले विराटनगरको अस्पताल चोकको गोल्डेन अस्पतालमा एपोलो मेडिकल सञ्चालन गर्ने धनराज काफ्ले र ट्राफिक चोकमा सौगात मेडिकोका सञ्चालक हरिमोहन श्रेष्ठलाई बोलाएर घरमै मदिरासहितको पार्टी आयोजना गरेका थिए। स्रोतका अनुसार पार्टीमा उनीहरूबीच लकडाउमा मास्कको कारोबार गर्नेबारे छलफल भएको थियो।

पार्टीमा सहभागी भएका काफ्ले र श्रेष्ठ राति ९ बजे नै दुलालको घरबाट बाहिरिएका थिए। श्रीमती र छोरासँगै एउटै कोठाको अलग ओछ्यानमा सुतेका देवीप्रसाद बिहान ३ बजे रगताम्मे अवस्थामा फेला परेका थिए।

उनकी श्रीमतीले आइतबार बिहान ३ बजे श्रीमानका औषधि व्यवसायी साथीहरू धनराज काफ्ले, हरिमोहन श्रेष्ठ र प्रहरीलाई फोन गरेर पति मृत अवस्थामा फेला परेको जानकारी गराएकी थिइन्।

प्रहरीका अनुसार रगताम्मे अवस्थामा ओछ्यानमै फेला परेका उनलाई  बेहोस अवस्थामै आइतबार बिहान ३ बजे अस्पताल चोकमा रहेको गोल्डेन अस्पतालमा लगिएको थियो । तर, उपचार सुरु गर्नुअघि नै चिकित्सकले दुलाललाई मृत घोषणा गरेका थिए।

मृतक दुलालको घाँटी, निधार र शरीरमा गहिरो चोट भएकोले प्रहरीले उनको हत्या भएको आशंकाले श्रीमती मीनालाई पनि आइतबारै नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो।

अनुसन्धानका क्रममा उनले सिराहाको लहान घर भएका ब्रह्मदेव साहसँग आफ्नो यौनसम्बन्ध रहेको र त्यसैको विषयमा झगडा हुँदा साहसँग मिलेर आफूले श्रीमानको हत्या गरेको बयान दिएकी प्रहरीले जनाएको छ। उनले पतिको हत्या स्वीकार गरेकाे प्रहरीको भनाइ छ।

प्रहरीले मीनाका प्रेमी ब्रह्मदेव साहलाई पनि पक्राउ गरिसकेको छ। उनीहरू दुवैलाई सोमबार दिउँसो अदालतमा म्याद थप गरेपछि सार्वजनिक गर्ने प्रहरीको तयारी छ। दुलाल र श्रेष्ठबीच प्रेमविवाह हो।

उनीहरूका आठ वर्षीय एक छोरा छन्। दुलाल गत वर्ष औषधि व्यवसायी संघ मोरङको सचिव पदमा उम्मेदवार बनेर पराजित भएका थिए।

Source: Nayapatrika

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement