0Shares

काठमाडौँ — शुक्रबार राति १० बजे विवेक थापा मगरले सामाजिक सञ्‍जाल फेसबुकमा एउटा समाचारको लिंक सेयर गर्दै स्टाटस पोस्ट गरे । उनले लेखे, ‘नेपालमा कोरोनाको महामारी फैलिसके पनि सरकारले, किन लुकाए यस्तो खबर । तल दिएको अडियो सुन्नुहोला …अनिवार्य ।’

आफैंले सञ्‍चालन गरेको झोर्लेन्युज डट कम नामक एक वेबसाइटमा राखिएको अडियो क्लिपसहितको समाचारको लिंक सेयर गरेर सुतेका विवेकले शनिबार बिहान ढिलो गरी मात्रै थाह पाए, उक्त अडियो क्लिप त भाइरल पो भएछ।

शनिबार मध्याह्‍नसम्म उनको फेसबुक स्टाटस ६ जनाले मात्रै सेयर गरेको देखिन्छ। तर सोही समाचारमा राखिएको उक्त अडियो क्लिप भने हजारौंले सामाजिक सञ्‍जालमार्फत सेयर गरेको देखिन्छ। कतिसम्म भने ग्रुप म्यासेन्जर, भाइबर ग्रुप र हृवाट्सएप ग्रुपबाट पनि यो क्लिप सयौंमाझ सेयर भएको देखिन्छ।

कोरोना भाइरस (कोभिड १९) संक्रमण विश्वव्यापी बन्दै जाँदा विवेकको फैलाएको अफवाहले धेरैलाई तसाईदियो। शनिबार बिहानसम्म उक्त अडियो क्लिपले फैलाएको त्रास मध्याह्नसम्म आइपुग्दा भ्रामक रहेको भन्ने खबर पनि बाहिर आइसकेको थियो। दिउँसो २ बजे प्रहरी प्रधान कार्यालयले आफ्नो अफिसियल फेसबुकमा उक्त समाचार भ्रमपूर्ण रहेको सूचना लेखिसकेको थियो भने त्यसअघि नै नर्भिक अस्पतालले भ्रमपूर्ण सूचना फैलिएको भन्दै खेद व्यक्त गरेर विज्ञप्ति निकालिसकेको थियो।

अडियो भाइरल भइरहेको र त्यसले धेरैलाई त्रसित बनाएको भन्ने सूचना प्रहरी प्रधान कार्यालयमा सामाजिक सञ्‍जालबाट पुगिसकेको थियो। अनि प्रहरी प्रधान कार्यालयले अडियो कहाँबाट बाहिरियो र कसले त्यस्तो काम गरिरहेको छ भनेर पत्ता लगाउन साइबर ब्युरोलाई आदेश दिएलगत्तै बिहानैबाट ब्युरोको अनुसन्धान टोली खटिएको थियो।

अनुसन्धानको सुई भक्तपुरतिर सोझिएपछि दिउँसो ३ बजेतिर प्रहरीले रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्ने विवेकलाई पक्राउ गर्‍यो। अनुसन्धानमा संग्लन एक प्रहरीले उक्त अडियो क्लिप कुन–कुन सामाजिक सञ्‍जालमा कसरी विस्तार भयो भन्नेबारे अनुसन्धान सुरु गरिसकिएको बताए। Source : Kantipur
0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement