कोरोनाले व्यापार खल्लो, होली फिका
"कोरोनाले त होलीमात्रै हैन, व्यापार पनि चौपट पार्यो ।”
भरतपुर । आज फागुन शुक्लपूर्णिमा अर्थात होली पर्व मनाइने दिन । तर यसवर्ष विगतका वर्षमा झै होलीको रौनक कतै देखिएन । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) को माहमारी विश्वभर फैलिरहेका बेलामा जिल्ला प्रशासन कार्यालय चितवनले पनि यसको सङ्क्रमण फैलिन नदिन समूहगत रुपमा होली खेल्न, पानी तथा लोला नखेल्न र जथाभावी रङ्ग नदल्न गरेको आह्वान अनुरुप होलीको रौनक हराएको छ ।
होली पर्व भनिएपनि लोला, रङ्ग, नहुँदा फिका देखिएको छ होली । यसवर्षको होली पर्वलाई केही बालबालिकाले मात्रै धानेका छन् ।
आज दिउँसो १२ः०० बजेसम्म नारायणगढ मुख्य शहरदेखि सदरमुकाम भरतपुरसम्म पुग्दा पनि होलीको रौनक देखिएन । दिपेन्द्रचोकमा फेन्सी पसल सञ्चालन गर्दै आएकी एसपीएस कलेक्सनकी प्रोपाइटर गोमा सापकोटा यसवर्षको होली निकै फिका भएको बताउनुहुन्छ । यसवर्ष निर्वाध रुपमा महिला सजिलै ओहोरदोहोर गरिरहेका, कतै लोला हान्ने, रङ्ग दल्ने र पानी छ््याप्ने गरेको नदेखिएको र टिसर्टसमेत बिक्री नभएको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “गतवर्ष होलीको दिनसम्म २०० होलीका टिसर्ट मात्रै बिक्री गरेको थिएँ, यसवर्ष बिक्री गर्न ल्याएको ३० टिसर्टमध्ये सात मात्रै बिक्री भए, त्यो पनि बच्चाको । कोरोनाले त होलीमात्रै हैन, व्यापार पनि चौपट पा¥यो ।”
सरकारको आह्वानसँगै कोरोना भाइरसको सङ्क्रमणको जोखिमले मानिस आफै सचेत भएर होली खेल्न नगएका हुन् । विगतका वर्षमा पर्यटकसमेत होलीमा रमाउने गरे पनि यसवर्ष पर्यटकसमेत होलीमा रमाएको देखिएन । सौराहाका होटल व्यवसायी सुमन घिमिरे यसवर्षको होलीमा पर्यटक नआएकाले सौराहामा पनि पर्यटकले होली मनाएर रमाइलो गर्न नपाएको बताउनुहुन्छ । होलीमा पर्यटकसमेत नआउँदा पर्यटन व्यवसायसमेत सुनसान बनेको उहाँ बताउनुहुन्छ ।
विगतका वर्षमा साथीहरु जमघट भएर रेष्टुरेष्टमा रमाइलो गर्दै होली खेल्ने गरे पनि यसवर्ष भने परिवारसँग घरमै घाम तापेर बसेको भरतपुर ७ कृष्णपुरकी रीता पोखरेल बताउनुहुन्छ । यसवर्ष छोराछोरी पनि होलीमा कतै नगएको बताउँदै उहाँले अहिले रमाइलो गर्ने भन्दा पनि सचेत हुने बेला भएको बताउनुभयो ।
कलेजका साथीसँग यसवर्ष मज्जाले होली खेल्ने एक महिना अघिदेखिको योजना रद्द गरेको बताउने भरतपुरकी श्रीया सापकोटाले कोरोना सङ्क्रमणलाई ध्यानमा राखेर होली खेल्ने योजना रद्द गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “कक्षा १२ को जाँच आउनै लागेको छ, यसपाली साथीहरु सबै मिलेर रमाइलो गर्नुपर्छ भन्ने योजना थियो तर रोक्यांै, पहिला पनि होली खेलेकै हो, अर्को साल पनि खेलौला तर यसवर्ष होली खेलिएन ।”
हरेक वर्ष फागुपूर्णिमाका दिनमा सडकभरी होली खेल्ने र कराउँदै रमाइलो गर्नेको भिडभाड देखिन्थ्यो भने यसवर्ष सडकमा होली खेल्ने जमात छिटफुट रुपमा मात्र देखिएको छ । विगतका वर्षमा होलीका दिन सार्वजनिक यातायात ठप्प हुने भए पनि यस वर्ष भरतपुर नारायणगढमा सार्वजनिक यातायात पनि चलिरहेका छन् ।



















