77Shares

भरतपुर १४ माघ । भारद्वाज गोत्रीय पोखरेलहरुको टेलिफोन डायरी मंगलबार भरतपुरमा विमोचन गरिएको छ ।चितवनमा प्रतिठानले आयोजना गरेको महायज्ञमा डायरीको विमोचन गरिएको हो । प्रतिनिधिसभा सदस्यअन्तरगतको कानुन न्याय तथा मानवअधिकार समिति सभापति कृष्णभक्त पोखरेलले डायरीको बिमोचन गरेका हुन् । डायरी प्रकाशन समितिको सम्पादक मण्डल संयोजक हरिप्रसाद पोखरेलकाअनुसार डायरी निर्माणको काम पूरा नभइसकेकाले अझै परिमार्जित गरेर निकालिनेछ । देशभरका भारद्वाज गोत्रीय पोखरेलहरुको नाम, ठेगानासहित टेलिफोन नम्बर सहितको डायरी प्रकाशनले आत्मीयता बढ्ने उनको भनाइ छ ।हरिप्रसाद पोखरेलको संयोजकत्वमा बनेको टेलिफोन डायरी निर्माण समितिमा कृष्ण पोखरेल, सुनिल पोखरेल, राजन पोखरेल, शिव पोखरेल, रामप्रसाद पोखरेल र जगतबन्धु पोखरेल सदस्य रहेका छन् । डायरी निर्माणमा सहयोग गर्ने ंप्रतिष्ठानको केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला समिति र अन्य व्यक्ति र संघर्सस्था र सहयोगीलाई समितिका संयोजक पोखरेलले धन्यवाद व्यक्त गरेका थिए ।
डायरीको अर्को संस्करण वंशावली निर्माणका बेला प्रकाशन हुने पनि प्रतिष्ठानले जनाएको छ ।
कार्यक्रममा पश्चिमाहरुले आत्मसाथ गर्न लागेको पूर्वीय दर्शन र सभ्यतालाई हामीले बिर्सदै गएको प्रतिनिधिसभा सदस्यअन्तरगतको कानुन न्याय तथा मानवअधिकार समिति सभापति कृष्णभक्त पोखरेलले गुनासो गरे ।
हाम्रो वेद पुराणबाट वैज्ञानिक आविष्कारहरु भइरहेका उल्लेख गर्दै हामीले ती वेद पुराणको उपयोग गर्न नसकेको पोखरेलले बताएका हुन् । भारद्वाज गोत्रीय पोखरेल प्रतिष्ठान नेपालले भरतपुर महानगरपालिका वडा नम्बर ६ इन्द्रपुरीमा आयोजना गरेको श्रीमद्भागवत महापुराण तथा धनधान्याचल ज्ञान महायज्ञमा पोखरेलले पूर्वीय सभ्यता संसारको सबैभन्दा पुरानो भएकाले यसको संरक्षणमा जुट्नुपर्नेमा जोड दिए ।
बजारमा केही व्यक्तिका कारण हाम्रो धर्म बदनाम हुन थालेको भन्दै पोखरेलले महायज्ञ तथा धार्मिक अनुष्ठानबाट हाम्रो समाजको रुपान्तरण हुने बताए । पोखरेलले देवघाटमा निर्माण हुने प्रतिष्ठानको केन्द्रीय भवनका लागि सांसद विकास कोषबाट १० लाख रुपैयाँ प्रदान गरेका छन् । आगामी वर्षमा समेत कोषबाट रकम थप्दै लैजाने पोखरेलले बताए ।
यसैबीच, महायज्ञकै अवसरमा गत शनिबारदेखि सञ्चालन भएको महायज्ञमा मंगलबारसम्म ५५ लाख रुपैयाँभन्दा बढी रकम संकलन भएको महायज्ञका आर्थिक समिति संयोजक भीमप्रसाद पोखरेलले बताए ।
सो महायज्ञमा मंगलबार मात्रै ४५ लाख रुपैयाँभन्दा बढी रकम संकलन भएको आर्थिक संयोजक पोखरेलले जानकारी दिए । मंगलबार पूर्वी जिल्लाहरुबाट बढी रकम संकलन भएको उनले बताए । महायज्ञबाट तीन करोड रुपैयाँ आर्थिक सङ्कलन गर्ने लक्ष्य लिइएको महायज्ञका संयोजक एवम् भारद्वाज गोत्रीय पोखरेल प्रतिष्ठान नेपालका अध्यक्ष ओमप्रसाद पोखरेलले बताए ।
महायज्ञबाट भएको आम्दानीले देवघाटमा प्रतिष्ठानको केन्द्रीय कार्यालय निर्माणसहित भारद्वाज ऋषिको आश्रम र धार्मिक पुस्तकालय निर्माण गर्ने उद्देश्य रहेको छ । यसैगरी, एम्बुलेन्स सञ्चालन, वंशावली निर्माण, टेलिफोन डायरी प्रकाशन र विपन्न व्यक्तिको स्वास्थ्य उपचारमा सहयोगका लागि अक्षय कोष स्थापना गरिने पनि संयोजक पोखरेलले जानकारी दिए ।
पण्डित दिनबन्धु पोखरेलले आगामी माघ १८ गतेसम्म कथा वाचन गर्ने महायज्ञमा बिहान ११ बजदेखि कथा वाचन हुनुका साथै दैनिक तुलादान, भूमिदान, ब्रतबन्ध, विवाह, चौरासी पूजा तथा ग्रह शान्तिसमेत गर्न सकिने प्रतिष्ठानका उपाध्यक्ष शान्तप्रसाद पोखरेलले जानकारी दिए । महायज्ञको उपवाचकको रुपमा आचार्य दुर्गाप्रसाद पोखरेल रहेका छन् ।

77Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement