0Shares

पाल्पा — पूर्वराष्ट्रपति रामवरण यादवले दलित समुदायमा देखिइरहने विकृति विसंगतिलाई हटाउन सञ्चार क्षेत्रको महत्व रहेको बताएका छन् । पाल्पाको तानसेनमा शनिबारदेखि सुरु भएको दलित पत्रकारहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति यादवले दलित समुदायलाई गर्ने विभेदलाई हटाउन सञ्चारकै क्षेत्र सक्रिय हुनुपर्नेमा जोड दिए ।

पूर्वराष्ट्रपति यादवले सदियौंदेखि जगडिएको समाजमा दलितबीचको विभेदलाई चिर्नलाई सबैको सहयोग जरुरी रहेको बताए । पूर्व र वर्तमान प्रधानमन्त्री पनि दलित समुदायको विभेदलाई हटाउने कोसिसमा रहेको उनले बताए । सञ्चारजगतले पनि यस विषयलाई गम्भीरतापूर्वक लिनुपर्नेमा उनले जोड दिए ।

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले दलित समुदायका पत्रकारहरुको भेलाबाट आउने सुझावलाई लिएर नै महासंघ अघि बढ्ने बताए । राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले विभेद सधैंका लागि अन्त्य गर्नुपर्ने बताए ।

सम्मेलन उद्घाटनका अवसरमा पत्रकार महासंघमा रहेर विगतमा काम गर्दै आएका दलित अगुवाहरु विनोद पहाडी, प्रकाशचन्द्र परियार र निशा विश्वकर्मालाई सम्मान गरिएको थियो । दुई दिनसम्म चल्ने सम्मेलनमा देशभरका ७७ जिल्लाबाट करिब १ सय ५० जना दलित पत्रकारहरुको सहभागिता छ । दलित समुदायका पत्रकारहरुको भेलाबाट दलित पत्रकारहरुको मुद्दाका विषयमा पाल्पा घोषणापत्र जारी हुने आयोजकले जनाएका छन् ।
0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement