0Shares

९ किलो इलेक्ट्रिक चुरोट (भेप) तस्करी प्रकरणमा पक्राउ परेका कृष्णबहादुर महरालाई हाजिर जमानीमा छाड्ने तयारी गरिएको छ।

महरामा विभिन्न खालको रोग भएकाले उनलाई छाड्ने तयारी रहेको सरकारी वकिल कार्यालय काठमाडौं स्रोतले जनाएको छ।

प्रहरीले गत सोमबार (चैत ५ गते) महरालाई कपिलवस्तुबाट पक्राउ गरेको थियो। उनलाई पक्राउ गरी काठमाडौं ल्याइएको थियो।

काठमाडौं ल्याएर केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले महराको सम्पर्क सुन तस्‍करका मुख्य नाइके दाओजिन वाङसँग सम्पर्क गरेको देखिएको भन्दै संगठित अपराध कसुरमा अनुसन्धान अघि बढाएको थियो। पक्राउ परेको चार दिनपछि उनलाई हाजिर जमानीमा छाड्ने तयारी गरिएको हो।

गत सोमबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराउँदा न्यायाधीश दुर्गाप्रसाद खनाल समक्ष महराले आफूमा ७-८ वटा रोग भएको बताएका थिए। त्यसपछि अदालतले नै उनलाई उपचारको प्रबन्ध मिलाउन आदेश दिएको थियो।

‘निज पक्राउ व्यक्ति स्वयंले आफू टिबी, युरिक एसिड, प्रोस्टेटको बिरामी रहेको भनी उल्लेख गरेकाले आवश्यक उपचारको प्रबन्ध गर्न अनुसन्धान गर्ने निकायलाई निर्देशन समेत दिएको छ,’ आदेशमा भनिएको छ।

डायबिटिज, ब्लड प्रेसर लगायतको पनि समस्याबारे उनले इजलाससमक्ष बताएका छन्।  त्यसयता उनी नर्भिक अस्पतालमा बस्दै आएका थिए। अदालतले चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। जुन म्याद पनि सकिएको हो।

उक्त म्याद सकिएसँगै उनलाई थप म्याद नलिने गरी सरकारी वकिल कार्यालयबाटै छाड्न लागिएको हो। मुलुकी फौजदारी कार्यविधि, २०७४ को दफा १५ अनुसार हिरासतमा रहेका व्यक्तिलाई अनुसन्धान अधिकारीले छाड्न सक्ने प्रावधान छ।

‘यस ऐन बमोजिम अनुसन्धानको सिलसिलामा हिरासतमा रहेको कुनै व्यक्तिलाई हिरासतमा राखिरहनु आवश्यक वा उपयुक्त नदेखिएमा अनुसन्धान अधिकारीले सरकारी वकिलको सहमति लिई वा तत्काल त्यस्तो सहमति लिन सकिने अवस्था नभएमा कारणसहितको पर्चा खडा गरी त्यस्तो व्यक्तिबाट धरौटी वा जमानत लिई वा निजलाई कुनै भरपर्दो व्यक्तिको जिम्मामा हाजिर जमानीमा छाड्न वा तारिखमा राख्न सक्नेछ,’ उक्त दफामा भनिएको छ।

 

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement