0Shares

भरतपुर । सौराहाको जनकौली मध्यवर्ती सामुदायिक वन क्षेत्रफलका हिसाबले सानो भए पनि पर्यटनका लागि प्रचुर सम्भावना भएको वन हो । रत्ननगर नगरपालिका–५ र ६ मा गरी यस वनको एक हजार ६८४ घरधुरी उपभोक्ता छन् । १०४ हेक्टरमा फैलिएको यस वनमा हात्ती र जिप सफारी सञ्चालन गर्ने तयारी भइरहेको छ ।

हात्ती सफारी र जिप सफारीका लागि अनुमति लिइसकिएको जनकौली सामुदायिक वनका अध्यक्ष जोगेन्द्र महतोले बताए । ‘भ्यालेन्टाइन डेको अवसरमा हात्ती सफारी र जंगल सफारी सञ्चालन गर्ने तयारीमा छौँ’, उनले भने । सानो क्षेत्रमा रहेको यस सामुदायिक वनमा जंगली हात्ती, गैँडा, बाघ, भालु, घडियाल र मगर गोहीलगायतका जनावरहरु देख्न सकिन्छ ।

‘प्रचुर सम्भावनासँगै संरक्षणमा जोखिम पनि छ । उपभोक्तालाई दिनुपर्ने सेवासुविधा पर्याप्त पुगेको छैन । हामीले संरक्षणमा नै बढी जोड दिएका छौँ’, उनले भने । यहाँ डुङ्गा सयर, जंगल वाक र चरा अवलोकन गर्न सकिन्छ । वनलाई आगामी दिनमा अझ व्यवस्थित गर्ने योजना रहेको उनले बताए ।

सिजनका बेला यहाँ एक महिनामा करिब एक हजार पर्यटक पुग्ने गर्छन् । कात्तिकदेखि फागुनसम्मको महिनालाई पर्यटक आगमन उच्च हुने सिजनका रुपमा लिइन्छ । कोरोना महामारीपछि यो वर्ष पर्यटकको आगमन बढेको पाइएको उनले बताए । यहाँ कुनै समय भिआइपी पर्यटकहरु घुम्न आउने गर्थे ।

वनभित्रको खोलामा बिहान र बेलुका गरी चारपटक डुङ्गा सयर गराइन्छ । डुङ्गा सयर गर्दा नेपाली पर्यटकले ३५० रूपैयाँ र विदेशी पर्यटकले ४५० रूपैयाँ तिर्नुपर्छ । पर्यटकले यसबाहेक चितवन राष्ट्रिय निकुञ्जलाई पनि छुट्टै शुल्क तिर्नुपर्छ ।

२०३० सालमा यो सामुदायिक वनभित्र गैँडा वाइल्डलाइफ क्याम्प स्थापना गरिएको थियो । अहिले उक्त क्याम्पका संरचना भत्किएको अवस्थामा छन् । वनभित्र भौतिक संरचना बनाउन नपाइने कानुनी व्यवस्थापछि उक्त क्याम्प २०६६ सालदेखि बन्द भएको हो । यस क्याम्पमा पूर्वराजपरिवार आएर बस्ने र जंगल घुम्ने गर्थे ।

चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गानाले पछिल्लो समय जनकौलीमा पर्यापर्यटनको विकास भइरहेको बताए । जनकौलीनजिक मगर समुदायको बढी बसोवास रहेकोले होमस्टेलगायत उनीहरुको संस्कृति झल्कने प्रस्तुति पर्यटकलाई देखाउने तयारी भइरहेको उनले बताए । ‘हात्ती सफारी र जंगल सफारीका लागि पनि भर्खरमात्रै अनुमति पाएकाले अब यस क्षेत्रका पर्यापर्यटनसँगै आर्थिक विकासमा टेवा पुग्ने विश्वास लिइएको छ’, उनले भने ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement