8Shares

चितवन, पुस २२-

उद्योग वाणिज्य संघ चितवनको अधिवेशन नजिकिँदै गर्दा संघको नेतृत्व हत्याउने दाउमा उमेदवारहरु अन्तिम कसरत गर्दै छन् ।

भोलि बिहान ८ बजेबाट निर्वाचन भएकोले अध्यक्षका प्रत्यासी दुई उम्मेदवार सुमनकुमार श्रेष्ठ र सिरिस पन्त दुवैको आज घरदैलो र दौडधुपले तीव्रता पाएको हो । दुवै उम्मेदवार आफूले जित्नेमा ढुक्क छन् ।

संघको नेतृत्व सम्हाल्न तयार भएका दुवै उम्मेदवारले पत्रकार सम्मेलन नै गरेर आफ्नो धारणा सार्वजनिक गरिसकेका छन् । दुवै उम्मेदवार उत्तिकै उत्साहित छन् । करिब सात दशक लामो यात्रा गरिसकेको संघले व्यावसायिक हकहितको लागि काम गर्दै आएको बताउँदै अध्यक्ष पदका उमेदवार श्रेष्ठले संघमा आवद्ध रही करिब दुई दशक लामो यात्रा गरेको अनुभव र व्यवसायीको समस्या नजिकबाट नियाल्न सक्ने क्षमता आफूसँग भएको हुँदा एकपटक संघको नेतृत्व सम्हाल्ने योजनासहित अगाडि बढेको बताउँदै आएका छन् ।

अर्का उम्मेदवार पन्तले व्यावसायिक हकहितको क्षेत्रमा काम गर्नको लागि अध्यक्ष नै प्रमुख पद भएकोले आफूले यसपटक अध्यक्ष पदमा उमेदवारी दर्ता गराएको बताउँदै आएका छन् ।
व्यवसायिक हकहित तथा सुरक्षा आजको आवश्यकता, संस्थागत सुशासन र पारदर्शिताको प्रतिबद्धता भन्ने नारासहित उनी चुनावी मैदानमा होमिएका छन् । संघलाई सुसासनयुक्त र पारदर्शी बनाउनको लागि नेतृत्व सम्हाल्ने प्रयासमा लागेको उनको भनाइ छ ।

आगामी नेतृत्व कसले हत्याउँछ भन्नेमा बजारमा दुई खाले प्रतिक्रिया आइरहेका छन् । कसैले युवा पन्त रोजाइमा परेको बताएका छन् भने कसैले अनुभवी श्रेष्ठलाई रोजाइमा पारेका छन् । मतदाताहरुको प्रतिक्रिया बुझ्दा यो निर्वाचन निकै प्रतिस्पर्धात्मक हुने देखिएको छ ।

उद्योग वाणिज्य संघ चितवनका पूर्वअध्यक्ष सहनलाल प्रधानले सुमन श्रेष्ठ निकै अनुभवी र संघमा रहेर लामोसमयदेखि काम गरिरहेका उम्मेदवार भएकोले उनको जित निश्चित भएको बताएका छन् । त्यसैगरी संघका अर्का पूर्व अध्यक्ष राजन गौतम भने पन्तलाई पनि कमजोर उम्मेदवार आकलन गर्न नहुने बताएका छन् । उनी उद्योग वाणिज्य संघमा दलीय राजनीति हाबी हुनु निकै दुःखद् भएको बताउँछन् । उनले भने, ‘ अहिलेको निर्वाचन निकै निराशाजनक छ । म सधै र्निविरोध नेतृत्वको पक्षमा उभिएको हो । चुनाव जसले जिते पनि करिब १०० को अन्तरमा जित्छन् । आर्थिक मन्दीको समयमा व्यवसायीहरु संघको नेतृत्वमा एकीकृत भएर जान नसक्नु निकै दुःखद् विषय हो ।’

भोलि हुने संघको निर्वाचनमा चितवनका दुई हजार ९७४ मतदाताले मताधिकार प्रयोग गर्दै छन् । आगामी नेतृत्व कसले हत्याउँला भन्ने थाहापाउनको लागि अझै एकदिन कुर्नुपर्ने हुन्छ । रात रहे अग्राख पलाउँछ भनेझै आजको रातभरमा कसको पक्षमा को लाग्छन् यसै भन्न सक्ने अवस्था छैन ।

कुन पदमा को को छन् प्रतिस्पर्धामा ?

संघको वरिष्ठ उपाध्यक्षमा चीरञ्जीवी सुवेदी र राजन पियाले उम्मेदवारी दिएका छन् । सुवेदी तीन पटकसम्म संघको उपाध्यक्ष भइसकेका छन् । पिया पहिले संघको सदस्य थिए। उपाध्यक्ष पदमा वाणिज्यतर्फ राजेन्द्र ओली र रजनी मास्के उम्मेदवार छन् । ओली अघिल्लो कार्यकालमा स्वतन्त्र उम्मेदवारी दिएर उपाध्यक्षमा निर्वाचित भएका थिए । त्यसअघि उनी पाँच पटक संघको सदस्य भइसकेका छन्। सदस्य हुँदा पनि उनले विभिन्न समितिको संयोजक बनेर काम गरेका थिए । उपाध्यक्ष भएपछि उनी नेपाल उद्योग वाणिज्य महासंघको बैंक, वित्त तथा बीमा समितिको आमन्त्रित सदस्य बनेका थिए । प्लास्टिक व्यवसायी संघ चितवनका पूर्वअध्यक्ष ओली ओली प्लास्टिक सेन्टरका सञ्चालक हुन् ।

छ पटक सदस्य भइसकेकी मास्के उद्योग वाणिज्य संघ चितवनको इतिहासमा उपाध्यक्ष पदमा उम्मेदवारी दिने पहिलो महिला हुन् । उनी मास्के पुस्तक पसलको सञ्चालक हुन् । उनले उद्योग वाणिज्य संघमा कोशेली घर स्थापना गर्न र महिला उद्यमी भेला तथा महिला उद्यमी मेला गराउन संयोजन गरेकी थिइन् ।
रोचक पक्ष के छ भने अघिल्लो पटक स्वतन्त्र उम्मेदवार बनेर उपाध्यक्ष जितेका ओली अहिले संस्थापक समूहको प्यानलबाट उपाध्यक्ष बनेका छन् भने अघिल्लो पटक संस्थापक प्यानलबाट सदस्य बनेकी मास्के अहिले स्वतन्त्र रूपमा उपाध्यक्षको उम्मेदवार बनेकी हुन्।

संघको सदस्यमा उद्योगतर्फ ६, वाणिज्य ६ जना र महिला उद्यमीतर्फ एक जनाका लागि निर्वाचन हुँदैछ। वस्तुगत संघतर्फका ४, कर्पोरेट २, एक जना क्षेत्रीय सदस्य निर्विरोध भइसकेका छन् । संघको सदस्यमा ३ जनालाई मनोनित गर्ने व्यवस्था छ। साथै शिक्षा, कृषि, स्वास्थ्य र पर्यटनतर्फका एक÷एक जना विशिष्ट व्यक्तित्वलाई सदस्यमा मनोनित गर्ने गरिन्छ ।

 

8Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement