0Shares

चितवन, मंसिर ३०-
तुइन खोलमा पुल निर्माणका लागि पहाड काट्न नारायणगढ मुग्लिन सडकखण्ड आगामी पुस ७ गतेदेखि दैनिक ४ घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको सरोकारवालाहरुको बैंठकले तीन हप्ता सडक बन्द गरेर पहाड काट्ने र पुलका लागि फाउण्डेशन तयार गर्ने निर्णय गरेको हो ।

तुइन खोलामा पुल निर्माणका लागि पहाड काट्ने प्रयोजनका लागि पुस ७ गतेदेखि ३ हप्तासम्म हरेक दिन विहान ११ बजेदेखि ३ बजेसम्म सडक बन्द गरिने सडक आयोजनाका इन्जिनियर कृष्ण आचार्यले जानकारी दिए ।

गत बर्ष पनि सो खण्डमा पुल निर्माणका लागि पुस ५ गतेबाट सडक बन्द गरेर पहाडको भित्ता काट्ने काम गरिएको थियो । अन्यत्र पहाड काटेर पुलहरू धमाधम बने पनि तुइन खोलाको मुग्लिनतर्फको भागमा कडा चट्टान भेटिएपछि आयोजनाले विस्फोट गराएर मात्रै पहाड काट्न सकिने निष्कर्ष निकालेको थियो । त्यसका लागि भारतीय दूतावासमार्फत भारतबाट विष्फोटक पदार्थ ल्याउने तयारीसमेत गरिएको थियो । तर, खानी तथा टनेलमा काम गर्ने प्राविधिकहरूको स्थलगत अध्ययनपछि प्राविधिकहरुको सल्लाहअनुसार फरक प्रविधिको प्रयोग गरेर चट्टान काट्न लागिएको आयोजनाले जनाएको छ ।

नारायणगढ–मुग्लिन सडक आयोजनाले मुग्लिन नजिकैको खहरे खोलादेखि रिग्दी खोलासम्मका सात वटा पुललाई प्याकेज–१ र जुगेडीदेखि सिमलतालसम्मका आठ वटा पुललाई प्याकेज–२ बनाएर काम अघि बढाएको हो ।

प्याकेज २ अन्तर्गतका जुगेडी, खहरे, खोर, लामोबालुवा, भोर्ले, डुम्रे, सिमलताल र सेतीदोभानका आठ पुल बनिसकेका छन् । प्याकेज १ का २ पुल बन्न बाँकी छन्, चिसेञ्जी, काली, टोपे, न्याम्सी र रिग्दीखोलाका गरेर ५ पुल बनिसकेका छन् । यो सडकखण्डका सबै पुल २५ मिटरभन्दा लामा छन् । नारायणगढ मुग्लिन सडकखण्ड विस्तार भइसकेको तर पुलहरु साना र जीर्ण हुँदा दुर्घटनाको जोखिम बढेपछि सबै पुलहरुलाई नयाँ बनाइएका हुन् ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement