0Shares

चितवन, असोज २-

नेपाल शिक्षक महासंघ जिल्ला कार्यसमिति चितवनले सबै विद्यालय बन्द गरी सडक आन्दोलनमा सहभागी हुन शिक्षकलाई आव्हान गरेको छ ।

 

नेपाल शिक्षक महासंघसहित चितवनका विभिन्न राजनीतिक दलहरु निकट पाँचवटा शिक्षक संघ र संगठनले आइतबार प्रेषित गरेको संयुक्त विज्ञप्तिमा सो आव्हान गरेको हो ।

विज्ञप्तिमा संसदमा दर्ता गरिएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विद्येयक–२०८० ले नेपाली शिक्षक र विद्यालयका कर्मचारीहरुको पेसागत सम्मान, सुरक्षा मूलभूत माग र मुद्दाहरुलाई सम्बोधन गर्न नसकेको जनाइएको छ । विद्यालय शिक्षामा लगानीको अनिश्चितता र सामुदायिक विद्यालय शिक्षामा लगानीको दायित्वबाट सरकार पछाडि हट्ने योजनाका साथ विद्येयक संसदमा पेस गरिएको विज्ञप्तिमा आरोप लगाइएको छ ।

यसबाट नेपालको सामुदायिक विद्यालय शिक्षा अझै अनिश्चित बन्ने शिक्षक महासंघको ठहर छ । विज्ञप्तिमा सबै विद्यालय बन्द गरेर असोज ३ गतेबाट काठमाडौँमा हुने आन्दोलनमा सहभागी हुन र शिक्षा मन्त्रालयले आयोजना गर्ने सबै कार्यक्रम बहिष्कार गर्न शिक्षकहरुलाई अनुरोध गरिएको छ ।
नेपाली शिक्षकहरुको न्यायिक माग र मुद्दाहरुको सम्बोधन गरी विद्यालय शिक्षाप्रति राज्यलाई जिम्मेवार बनाउन नेपाल शिक्षक महासंघ चितवनले बाध्य भई काठमाडौँ केन्द्रित सडक आन्दोलन तथा शिक्षक प्रदर्शन गर्नुपरेको महासंघले जनाएको छ ।

महासंघ चितवनका अध्यक्ष कोमलनाथ घिमिरेको नेतृत्वमा चितवनबाट ११ वटा बसमा सामुदायिक विद्यालयका पेसागत शिक्षकहरु आज काठमाडौँ गएका छन् । घिमिरेले भने, ‘ हामी एक हजार जना शिक्षक काठमाडौँ उत्रँदै छौं । अझ साथीहरु आउँदै हुनुहुन्छ । पर्सीबाट चितवनका सबै सरकारी सामुदायिक विद्यालयहरु बन्द हुनेछन् ।’  शिक्षक महासंघ चितवनका सदस्य कृष्ण नेपालले पर्सीबाट सबै विद्यालय बन्द गरेर शिक्षकहरुको ३० बुँदे र ५१ बुँदै माग पूरा नगरेसम्म निरन्तर आन्दोलनमा रहने  बताए ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement