0Shares

२१ साउन, चितवन । चितवनको भरतपुर महानगरपालिका २९ भतेरीमा निर्माणाधीन ‘रिभर बैंक फनपार्क एण्ड रिसोर्ट’ सञ्चालनको अन्तिम तयारीमा पुगेको सञ्चालकले जनाएका छन् ।

रिसोर्ट सञ्चालक समितिका अध्यक्ष कल्याण जोशीले दिएको जानकारी अनुसार रिसोर्टको ८५ प्रतिशतभन्दा बढी काम सकिएको छ । आउने दशैंमा रिसोर्ट सञ्चालनमा ल्याउने लक्ष्यसहित काम भैरहेको उनले जानकारी दिए । ५ बिघा जग्गामा रहेको रिसोर्टमा ५० जनाको झण्डै ६० करोडको लगानी रहने अध्यक्ष जोशीले बताए । यो सञ्चालन हुँदा ६५ जनाले प्रत्यक्ष रोजगारी पाउने छन् ।

नारायणगढ–मुग्लिन सडकखण्ड नजिकै भतेरी जंगलभन्दा तल त्रिशुली नदी किनारमा रहने रिसोर्ट तथा फनपार्कमा १२ वटा भिल्ला रहेका छन् । भिल्लामा ४८ वटा रूम छन् । एक स्वीट भिल्ला छ भने, ८ वटा फेमिली भिल्ला र बाँकी डिलक्स छन् ।

भिल्लाहरूमा परम्परागत थारु समुदायले प्रयोग गर्ने खपडाले छाना छाइएको छ भने भित्र टायलको सट्टामा ढुंगा प्रयोग गरिएको छ । रिसोर्टमा ठूला तथा साना बालबालिकाहरूका लागि अलग्गै स्वीमिङ पुल, २५० जना, ५० र २५ जना अट्ने हलहरू तयार भएका छन् ।

विद्यालय, सहकारी तथा विभिन्न संघसंस्था वा समूहमा भ्रमणमा आउने आन्तरिक पर्यटकहरुलाई बस्नका लागिसमेत रिसोर्ट ६ देखि ८ जनासम्म सुत्न मिल्ने पाँच वटा कोठासमेत तयार गरिएको छ । नारायणगढबाट १० किलोमिटर मुग्लिनतर्फ र मुग्लिनबाट २४ किलोमिटर नारायणगढतर्फ त्रिशुली नदीको किनारमा रहेको रिसोर्टमा आकर्षक रिभर साइट गार्डेन तयार गरिएको प्रोजेक्ट निर्देशक इन्जिनियर शिवहरि घिमिरेले जानकारी दिए । बजार, खोला, पहाड र जंगलबाट नजिकै रहेकाले प्राकृतिक विविधतासमेत पाइने घिमिरेले बताए ।

व्यवस्थापनको जिम्मा भारतको रेजन्ता समूहलाई

रिसोर्टको व्यवस्थापनको जिम्मेवारी भारतको रोयल अर्किड समूहको रेजन्ता समूहलाई दिने निर्णय गरिएको छ । १२ वर्षका लागि व्यवस्थापनको जिम्मेवारी दिने निर्णय भएको रिसोर्टका म्यानेजिङ डाइरेक्टर ऋषि न्यौपानेले बताए । ‘उहाँहरुको चेन होटलहरु छन्, पर्यटकहरु ल्याउन पनि सजिलो हुन्छ, समग्र व्यवस्थापन उहाँहरुले हेर्नुहुन्छ, अन्य व्यवस्थापनको काम हामी गर्छौं,’ न्यौपानेले भने, ‘भारतीय पर्यटकहरुलाई आकर्षित गर्नका लागि पनि यो निर्णय सफल हुने विश्वास छ ।’

त्रिशुली नदी किनारमै रहेकाले पानीसँग सम्वन्धित विभिन्न पर्यटकीय गतिविधिहरु सञ्चालन गर्ने योजनासमेत रहेको अध्यक्ष जोशीले जानकारी दिए । ‘पहिला फन पार्क बनाउने की भन्ने सोच थियो, तर अन्य फनपार्क खासै नचलेपछि रिसोर्टतिर लागेका हौं, विभिन्न कारणले गर्दा एक वर्ष जति ढिलो भयो, अब रिसोर्ट चलाउँछौं, त्यसपछि फनपार्कको काम सुरु हुन्छ’ अध्यक्ष जोशीले भने । उनले जंगल सफारीलाई पनि प्राथमिकतामा राखेको बताए ।

उनका अनुसार रिसोर्टमा रोलर कोष्टर रेल, जीप ड्राइभर, लेजी रिभर, वेभ पुलसमेत रहने छ । ‘वाटर बेससम्वन्धी गतिविधि चितवनमा नौ महिनासम्म चल्छ,’ अध्यक्ष जोशीले भने, ‘हामीले चितवन आउने पर्यटक र चितवनका स्थानीयलाई पानी सम्बन्धी गतिविधिमा संलग्न गराउने उद्देश्य राखेका छौं ।’ उनले दोस्रो चरणमा फनपार्कको काम अगाडि बढाइने बताए ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement