0Shares

पूजा ढकाल

चितवन, साउन २१-

चितवनमा पछिल्लो समय महामारीका रुपमा ‘क्याप्री पोक्स’ नामक जिवाणुका कारण सर्नेे लम्पी स्किन रोग फैलिँदै गएको छ ।
सरकारले यसको रोकथामको लागि प्रभावकारी कदम चाल्न नसकेपछि रोगको संक्रमण बढ्दै गएको हो ।

भेटेरीनरी अस्पताल तथा पशु सेवा केन्द्र भरतपुरका पशु विकास अधिकृत रामचन्द्र आचार्यका अनुसार चितवनमा मात्रै साउन १४ गतेसम्म ११ हजार १८५ पशुमा यो रोग देखा परेको छ । जसमध्ये अब जिल्लामा ९ हजार २३५ सक्रिय संक्रमित पशु रहेका छन् र २८७ को मृत्यु भएको आचार्य बताउँछन् । चितवनमा अहिलेसम्म कुल १८ हजार २९० पशुलाई यस रोगविरुद्ध खोप लगाइएको उनको भनाइ छ ।

पशु सेवा विकास केन्द्र मंगलपुरका सहायक पशु विकास अधिकृत डा. बन्धुराज अधिकारीका अनुसार भरतपुर महानगपालिकाको १६ नम्बर वडामा पहिलो पटक वैशाख २ गते शरणपुरबाट यो रोग देखा परेको थियो । तर, शरणपुरबाट अहिले वडाको सबै क्षेत्रमा फैलिएको छ । जसबाट साउन २० सम्म २७५ किसानको १२ सय ३७ पशुमा लम्पी स्किन देखा परेको थियो । यस्तै, ३५६ पशुमा प्रष्ट लक्षण देखिएको र वडामा ४० पशुको यसै रोगका कारण मृत्यु भएको अधिकारी बताउँछन् । विसं २०७८ मा ज्यानमा मात्रै बिबिरा देखिएको लम्पी स्किनले यस वर्ष निकै जटिल रुप लिएको बताउँदै अधिकारी भन्छन्, ‘ गत वर्ष मृत्यु दर निकै कम भए पनि यस वर्ष मृत्यु दर निकै धेरै छ । असार र साउनको पहिलो सातासम्म तीव्र गतिमा फैलिएको यो रोग अहिले केही हदसम्म नियन्त्रण भए पनि जोखिम भने अझै छ ।’ यस वर्ष सुरुमा लम्पीस्किन ५÷६ महिनाको बाच्छीमा देखा पर्दै माउँ गाईमा सरे पनि १६ नम्बर वडामा ३० वटा बाली जाने उमेरका, साना बाच्छी र १० वटा मात्रै दुधालु माउ गाई मरेको अधिकारीको भनाइ छ ।

नेपालमा चुनौतीको विषय बनेको यस रोगले प्रभावित फार्ममा १० देखि २५ प्रतिशत दूधको उत्पादन घटेको बताउँदै अधिकारीले भने, ‘ किसानलाई व्यापक क्षति भएको छ । तर, संक्रमित पशुबाट उत्पादित दुध नफाटेकोले किसानले प्रयोग गरेका छन् र प्रयोग गर्न पनि हुन्छ ।’ उनको अनुसार यस वर्ष लम्पीस्किनबाट २ वर्ष भन्दा कम उमेरका बाच्छी प्रभावित छन् र दिनमा एक पशु तीन ठाउँमा ओसारपसार भएको हुँदा यसलाई नियन्त्रण गर्न सर्वप्रथम पशु ओसारपसार रोक्न पर्छ, गोठमा बाहिरी मान्छे जान दिन हुँदैन र नयाँ पशु ल्याएको समयमा आइसोलेसनमा १० दिनसम्म राख्नु पर्छ ।

यस वर्ष गोठका बाच्छाबाच्छीमा यो रोग देखा परेको भरतपुर–१६ सम्झना टोल निवासी अन्नतप्रसाद सुवेदीले नारायणी अनलाइनलाई बताए । उनको अनुसार गोठमा १७ गाई÷भैँसी मध्ये ५ वटा गाईमा मात्रै यो रोग देखा परेको थियो । सुवेदी भन्छन्, ‘पहिले २०७८ मा संक्रमित भएका पशुमा भने यो रोग देखा परेको छैन् । तर, यस वर्ष देखा परेको पाँच मध्ये चार वटा गाईलाई सन्चो भयो र अझै एउटा ब्याउने बाच्छी सन्चो हुन बाँकी छ । यो सन्चो नभएको बाच्छीले ३\४ दिन केही नखादाँ त मर्छ भनेर आशै मारेको थिएँ । तर, अहिले पहिले भन्दा धेरै सन्चो भएको देख्दा भने मैले बचाए भन्ने भएको छ र आश पनि लागेको छ ।’

यो सरुवा रोग भए पनि रोगसँग लड्ने क्षमता कम भएका पशुमा मात्रै यो रोग सर्ने भएकोले आफ्नो गोठमा सबै पशु सँगै राख्दा पनि सबै संक्रमित नभएको उनको भनाइ छ । उनको अनुसार यस रोगबाट पशुलाई बचाउन बिहान बेलुका नुहाइदिनु पर्छ, भेटेनरी अस्पतालले दिएको औषधिको प्रयोग गर्नुपर्छ, फिनेल पानीले गोठ सफा गर्नुपर्छ र पशु ओसारपसार रोक्नै पर्छ ।

त्यस्तै भरतपुर–१६ मंगलपुर निवासी पूर्णबहादुरको गोठमा पनि सबै भन्दा पहिला यो रोग बाच्छीमा देखा परेको थियो । उनको अनुसार १६ वटा गाई÷भौँसी मध्ये तीन वटामा देखा परेको छ । उनी भन्छन्, ‘यो रोग देखा परेपछि ६ लिटर दूध दिने गाईले तीन लिटर मात्रै दूध दियो । जुन उत्पादिन दूध हामीले प्रयोग गरेनौं ।’ पछिल्लो समय महामारीको रुपमा फैलिएको यस रोगलाई नियन्त्रण गर्न दिनमा ३ देखि चार पटकसम्म पशुलाई नुहाउन पर्छ । ज्वरो आए सिटामोल प्रयोग गर्न र घाउँमा हिमेक्स मलम लगाउन उनी पशुपालक किसानलाई आग्रह गर्छन् ।

पशुसेवा विभाग काठमाडौँको तथ्यांकअनुसार साउन १२ गतेसम्म देशभर लम्पी स्किन रोगबाट ५० हजार ८२६ पशु मरेका छन् । विभागका अनुसार देशभर कुल १० लाख ८८ हजार पशु संक्रमित भएकोमा ७ लाख ८९ हजार निको भएका छन् भने दुई लाख ४८ हजार सक्रिय संक्रमित छन् र कुल तीन लाख ५० हजार पशुलाई लम्पीस्किन रोगविरुद्ध खोप लगाइएको विभागले जनाएको छ । Source:Narayanionline

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement