0Shares

चितवन / लामो समयदेखि ठूलो दलका गढ र भोटबैंक भनिने क्षेत्रहरुमा यसपटक नयाँ जनप्रतिनिधिको अनुमोदन भयो । अर्थात्, गएको मंसिर ४ गते सम्पन्न निर्वाचनले चितवनलाई समेत नयाँ जनादेश दिएर गयो । नयाँ दल र उम्मेदवारले बाजी मारे । उही र उस्तै प्रकृतिका अनुहारहरु बारम्बार उम्मेदवारको रुपमा प्रस्तुत भएपछि मतदाताले अन्ततः नयाँ र परीक्षण हुन बाँकी उम्मेदवारलाई सहजै विश्वास गरेका गरेको मान्न सकिन्छ ।

चितवनको चुनावी नतिजा
चितवनमा तीनवटा निर्वाचन क्षेत्र रहेका छन् । जसअनुसार यसपटक तीनजना संघीय सांसद र छजना प्रदेश सांसदलाई चितवनका जनताले निर्वाचित गरेर पठायो । २०७४ को निर्वाचनमा एमाले–माओवादी मिलेर बनेको गठबन्धनले चितवनका सबै क्षेत्रमा निर्वाचन जितेको थियो । यसपटक भने यो गठबन्धन छिन्नभिन्न भएकाले नतिजा समेत अर्कै आयो । त्यसमाथि भर्खर खुलेको दल राष्ट्रिय स्वतन्त्र पार्टीले अप्रत्याशित नतिजा हात पा¥यो । अझ प्रदेशमा समेत उसले उम्मेदवारी दर्ता गरेको भए नतिजा अर्कै आउन सक्थ्यो ।
२०७९ को निर्वाचन परिणाम केलाउनुअघि २०७४ मा चितवनको नतिजा विश्लेषण गर्नैपर्छ । किनभने २०७४ अघिका निर्वाचनमा प्रदेशको संरचना थिएन । एमाले–माओवादी एक भएर २०७४ को निर्वाचनमा भाग लिएका थिए । नतिजा पनि एमाले माओवादीको पोल्टामै गएको थियो । बाम गठबन्धनको तर्फबाट जो जो उम्मेदवार भए, उनैले फराकिलो मतान्तरले त्यतिबेला निर्वाचन जितेका थिए ।
जसअनुसार २०७४ को निर्वाचनमा चितवन–१ मा सुरेन्द्रप्रसाद पाण्डे, २ मा कृष्णभक्त पोखरेल र ३ मा पुष्पकमल दाहाल‘प्रचण्ड’ निर्वाचित भएका थिए ।
२०७४ को निर्वाचनमा संघमा जस्तै प्रदेशमा पनि एमाले–माओवादीले उठाएका ६ जना उम्मेदवार नै बिजयी बने । संघमा जस्तै प्रदेशमा पनि यी दुबै पार्टीका उम्मेदवारले इमान्दारीपूर्वक आफ्ना उम्मेदवारलाई मत हाले । जसअनुसार २०७४ को निर्वाचनमा चितवन–१ (१) मा दावा दोर्जे लामा र २ मा कृष्णप्रसाद शर्मा खनाल बिजयी बने । चितवन–२ (१) मा घनश्याम दाहाल र २ मा बिजय सुवेदी निर्वाचित भएका थिए । यसैगरी चितवन–३ को प्रदेश १ मा कृष्णप्रसाद भुर्तेल र २ मा रामलाल महतो निर्वाचित भएका थिए ।

२०७४ को निर्वाचनमा मूलधारमा रहेका राजनीतिक पार्टीहरुकै बाहुल्यता चितवनमा रह्यो । मुख्य प्रतिष्पर्धामा उनीहरु नै रहे । निर्वाचनमा एमालेको साथ माओवादीले पाएको थियो भने काँगेसको साथ राप्रपाले पाएको थियो । तीनवटै क्षेत्रमा सोही अनुसार गठबन्धन भएको थियो । प्रतिष्पर्धा पनि उनीहरुकै बीचमा भयो । तर त्यतिबेला नयाँ राजनीतिक दलको उभिएको विवेकशील साझाले भने राम्रो उपस्थिति देखाउन सकेन । तेश्रो हुनका लागि उसले नेकपा मालेसँग प्रतिष्पर्धा गर्नुपरेको थियो । संघ र प्रदेशका हरेक क्षेत्रमा आफ्ना प्रतिष्पर्धीभन्दा करिब करिब दोब्बर मतान्तरले बाम गठबन्धनका उम्मेदवारले बिजय प्राप्त गरेका थिए ।
२०७९ मा नतिजा फरक
निर्वाचन परिणाम आउनुअघि धेरैले २०७४ को निर्वाचन परिणामलाई समेत विश्लेषण गरेका थिए । अझ त्यसमाथि भर्खरै सम्पन्न स्थानीय निर्वाचनको प्रभाव चितवनमा कायम नै थियो । यो निर्वाचनमा सत्ता गठबन्धनमा पाँच दल एकातिर र एमाले आमनेसामने भएर निर्वाचनमा भाग लिएका थिए ।
विगतका निर्वाचनलाई आधार मान्दा सत्ता गठबन्धनका उम्मेदवारहरुले नै बिजय प्राप्त गर्ने भन्ने धेरैको बुझाइ पनि थियो । जसरी २०७४ मा बाम गठबन्धनले बिजय प्राप्त ग¥यो, उसैगरी २०७९ मा पाँच दलीय गठबन्धनका उम्मेदवारहरु बिजय हुन्छन् भन्ने कुरा राजनीतिक विश्लेषकहरुले बताइरहेका थिए ।
स्थानीय निर्वाचनमा यही गठबन्धनलाई कायम राखेर निर्वाचनमा प्रतिष्पर्धा गर्दा पाएको मत परिणामले सत्ता गठबन्धनलाई आफ्नो पक्षमा नतिजा हात पार्न धेरै मेहनत गर्नुपर्ने देखिन्थेन । गठबन्धनका उम्मेदवारहरु यो निर्वाचनको परिणामप्रति ‘ओभर कन्फिडेन्स’ नै देखिन्थे । तर, अवस्था त्यस्तो भएन ।
निर्वाचन सम्पन्न हुन केहि दिन बाँकी रहँदा भर्खर उदाएको रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी आक्रामक ढंगले आइपुग्यो । स्वतन्त्र पार्टीको चुनाव चिन्ह ‘घण्टी’ ले अन्य पार्टीहरुलाई आच्छु–आच्छु पार्ने अवस्था आइपुग्यो । अघिल्ला निर्वाचनमा खुलेरै परम्परावादी पार्टीहरुमा मत मागेकाहरु बिस्तारे ‘घण्टी’ मा खुल्न थाले । अवस्था यस्तोसम्म आयो कि ‘घण्टी’को ‘खहरे भेल’लाई कसैले रोकेर पनि रोक्न सक्ने अवस्था रहेन । जसअनुसार चितवनको संघीय निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाको उदय भयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले चितवन–१ र रवि लामिछानेले चितवन–२ बाट विजय प्राप्त गरे । उनीहरु एक्लै चुनावी प्रतिष्पर्धामा भाग लिएका थिए । २०७४ मा भारी मतान्तरले बिजय प्राप्त गरेका एमालेका सुरेन्द्र पाण्डे र कृष्णभक्त पोखरेल यो निर्वाचनमा नराम्ररी पराजित हुनुप¥यो ।
यसैगरी राप्रपाका बिक्रम पाण्डेले चितवन–३ बाट बिजय प्राप्त गरे । उनी पनि आफ्नो पार्टीबाट एक्लै चुनावी प्रतिष्पर्धामा भाग लिएका थिए । २०७४ उनले काँग्रेसको समेत समर्थन पाएर दोश्रा भएका थिए । उनीसँग २०७४ मा प्रचण्डले प्रतिष्पर्धा गरेका थिए ।
चितवन–३ मा उम्मेदवारी दिने चर्चा चलाएर प्रचण्ड गोर्खा पुगेपछि यहाँको चुनावी माहोल नै बिग्रिएको थियो । प्रचण्ड गोर्खा पुगेपछि गठबन्धनका तर्फबाट माओवादीको भागमा परेको चितवन–३ मा डा. भोजराज अधिकारी उम्मेदवार बने । एमालेका रामप्रसाद न्यौपानेले उम्मेदवारी फिर्ता गरे । काँग्रेसबाट बागी उम्मेदवारी दिएका दिनेश कोइरालालाई एमालेले समर्थन ग¥यो । कोइरालाको चुनाव चिन्ह माछा थियो । स्थानीय निर्वाचनमा बिद्रोही काँग्रेसको प्रतिनिधित्व गरेर ‘भुईकटहर’ चुनाव चिन्ह लिएर उठेका जगन्नाथ पौडेलले पनि यसै क्षेत्रबाट उम्मेदवारी दिए । तर पौडेललाई स्थानीय निर्वाचनमा जस्तो मत आएन । उनलाई पहिले सहयोग गरेका कृष्णलाल सापकोटा, भीमबहादुर श्रेष्ठ र मीना खरेललगायतले यसपटक दिनेश कोइरालालाई खुलेरै सहयोग गरे । ‘सूर्यमुखी फूल’ चुनाव चिन्ह लिएर मैदानमा उत्रेका पौडेललाई यसपटक जम्मा ३७३ मत मात्रै प्राप्त भयो । जबकी गएको स्थानीय निर्वाचनमा ‘भुइकटहर’ चुनाव चिन्ह लिएर मेयरमा प्रतिष्पर्धा गर्दा पौडेललाई १४ हजार ७२८ मत प्राप्त भएको थियो । यही नतिजा देखेर उनी संघीय चुनावमा पनि हौसिएका हुन् ।
राजनीतिक दलहरुप्रति देखिएको असन्तुष्टि र नयाँ दलप्रतिको आशा अनि भरोसाले यसपटक चितवनका जनतालाई आकर्षित बनाएको कुरालाई निर्वाचन परिणामले पनि पुुष्टि गर्छ । यद्दपि यो आकर्षणलाई टिकाउन भने जनताले चुनेका यी जनप्रतिनिधिलाई उत्तिकै चुनौति छ ।

२०७९ को निर्वाचनमा संघमा जस्तै प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवार उठाएन । किनभने यो प्रदेश नै खारेज गर्नुपर्छ भन्ने उनीहरुको राजनीतिक एजेण्डा थियो । जसको फाइदा प्रदेशमा भने पुराना परम्परावादी दलले नै उठाए । प्रदेशमा पनि अघिल्लो निर्वाचनको नतिजा काम लागेन । नतिजा छासमिस आयो ।
२०७४ मा राजनीतिक पार्टीका उम्मेदवारलाई आफ्ना कार्यकर्तालेसमेत इमान्दारीपूर्वक मत हालेनन् । जसअनुसार २०७९ को निर्वाचनमा चितवन–१ (१) मा एमालेका जगन्नाथ थपलिया र २ मा समाजवादीका कृष्णप्रसाद शर्मा खनाल बिजयी बने । चितवन–२ (१) मा एमालेका कृष्णप्रसाद सिलवाल र २ मा काँग्रेसका उत्तम जोशी निर्वाचित भएका थिए । यसैगरी चितवन–३ को प्रदेश १ मा राप्रपाका गिरबहादुर तामाङ र २ मा माओवादी केन्द्रका ठाकुरप्रसाद ढकाल निर्वाचित भएका थिए ।

२०७९ को निर्वाचनमा मूलधारमा रहेका राजनीतिक पार्टीहरुकै बाहुल्यता चितवनमा रहेन । जबकी २०७४ को निर्वाचनमा मूलधारका राजनीतिक दलहरुबीच नै मुख्य प्रतिष्पर्धामा थियो । गठबन्धनमा लडेकालाई भन्दा एक्लाएक्लै निर्वाचनमा भाग लिएकालाई जनताले रुचाए । चितवनको निर्वाचनमा काँग्रेस, माओवादी र समाजवादीले एकापसमा मिलेर उम्मेदवार उठाएका थिए । चितवन–३ मा एमालेले आफूलाई उठाएन, बरु काँग्रेसका बागीलाई समर्थन गर्दा चुनावी परिणाम अझ निराशाजनक आयो । प्रदेश र संघमा एक्लै प्रतिष्पर्धा गरेको राप्रपालाई उल्लेखनीय सफलता हात लागेको निर्वाचन परिणामले पनि देखाउँछ । २०७४ मा नयाँ राजनीतिक दलको उभिएको विवेकशील साझाले राम्रो उपस्थिति देखाउन सकेको थिएन । तर यसपटक नयाँ राजनीतिक दलको रुपमा आएको राष्ट्रिय स्वतन्त्र पार्टीले शानदार मतका साथ चितवनको प्रमुख शक्तिको रुपमा उभ्याउन सक्यो ।
पुराना दलप्रति जनता आक्रोशित थिए । उनीहरूले आक्रोश पोख्ने अवसर पाएका थिएनन् । यो आक्रोश स्वतन्त्र पार्टीमार्फत चितवनका जनताले पनि पोख्ने मौका प्राप्त गरे । जनताले आक्रोश पोख्ने नयाँ प्लेटफर्म पाए । यसलाई चितवनको राजनीतिका लागि राम्रो पक्ष पनि हो ।
आफ्नै मत जोगिएन
निर्वाचनको सम्मुखमा आइपुग्दा चितवनका राजनीतिक दललाई आफ्नै कार्यकर्ता जोगाउन धौधौ भएको थियो । आखिर यो हिसाब निर्वाचनको दिन मतमा आएर परिणत भयो । कम्तिमा स्थानीय निर्वाचनमा पाएको मत र आफ्नो कार्यकर्ता जोगाउन सकेका भए कि त पुरानै दलले जित्थे, कि त यति ठूलो मतान्तर पनि हुन्थेन ।
चितवन–१ मा अघिल्लोपटक ५१ हजार ८० मतका साथ एमालेका सुरेन्द्र पाण्डे निर्वाचित भएका थिए । पाण्डेले यसपालि भने २६ हजार ६३४ मत पाएर दोश्रोमा चित्त बुझाउनु प¥यो । उनले अघिल्लो निर्वाचन भन्दा यसपटक २४ हजार ४४६ मत कम पाए । यसैगरी अघिल्लोपटक ३५ हजार ३६० काँग्रेसका राजेन्द्रप्रसाद बुर्लाकोटीले ल्याएका थिए । यसपालि यसै क्षेत्रमा काँग्रेसबाट उठेका डा. विश्व पौडेलले २५ हजार २२ मतमै चित्त बुझाउनुप¥यो । यसपालि पौडेलले पनि काँग्रेसको १० हजार ३३८ मत गुमाएको देखिन्छ । काँग्रेस र एमाले दुबैले गुमाएको मत जोड्दा ३४ हजार ७८४ मत हुन आउँछ । तर राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल ३४ हजार २१८ मतका साथ यसै क्षेत्रबाट बिजयी भए । यसले के देआउँछ भने काँग्रेस–एमालेको सबै असन्तुष्ट मत खाएरै ढकालले चुनाव जितेका हुन् ।
चितवन–२ मा अघिल्लोपटक एमालेका कृष्णभक्त पोखरेलले ल्याएको ४४ हजार ६७० मतभन्दा करिव ४ हजार ६३० मत बढी ल्याएर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निर्वाचित भए । लामिछानेले ४९ हजार ३०० मत ल्याउदा उनका प्रतिस्पर्धी पोखरेलले एक तिहाइभन्दा पनि कम मत ल्याए । पोखरेलले अघिल्लो वर्षको तुलनामा ३० हजार १८ मत गुमाए । पोखरेलले तेश्रो स्थान प्राप्त गरे । अघिल्लोपटक कांग्रेस उम्मेदवार शेषनाथ अधिकारीले २७ हजार ३१४ मत पाएकोमा यसपालि उमेश श्रेष्ठले करिव १२ हजार ३२६ कम मत पाए । एमाले र कांग्रेसले अघिल्लोपटक पाएको ४२ हजार ३४४ मत अहिले काँग्रेस–एमालेको विश्वासबाट बाहिरिएको देखिन्छ । त्यो मत रवि लामिछानेले पाएको अनुमान गर्ने हो भने उनले थप ६ हजार ९५६ मत अरु मतदाताहरुबाट आकर्षित गर्न सफल भए । दुई निकटतम प्रतिस्पर्धीको मत जोड्दा समेत लामिछानेले ल्याएको मतभन्दा १९ हजार ६६० मत कम देखिन्छ ।
चितवन–३ मा राप्रपाका बिक्रम पाण्डे यसपालि ३५ हजार ६० मत पाएर बिजयी बने । उनी यसपालि एक्लै प्रतिष्पर्धामा थिए । बरु अघिल्लो निर्वाचनमा काँग्रेसको समर्थनमा निर्वाचन लड्दा उनले ३८ हजार ९३५ मत प्राप्त गरेका थिए । अघिल्लोपटक भन्दा ३ हजार ८७५ मत कम पाउँदा पनि उनी राप्रपाबाट निर्वाचित भएका हुन् । यो क्षेत्रमा २०७४ मा माओवादीका पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ४८ हजार २७६ मत ल्याएर बिजयी भएका थिए । तर यसपालि भने प्रचण्डका उत्तराधिकारी भनि प्रचार गरिएका माओवादीका डा. भोजराज अधिकारीलाई जम्मा २५ हजार ८२४ मत मात्रै प्राप्त भयो । काँग्रेस र समाजवादीको दह्रो साथ हुँदा पनि प्रचण्डले भन्दा अधिकारीले २२ हजार ४५४ मत कम ल्याए । यी सबै मत राष्ट्रिय स्वतन्त्र पार्टी र बिक्रम पाण्डेलाई बाँडिएर गएको देखिन्छ ।
समानुपातिकमा पनि सकस
प्रत्यक्षमा मात्र होईन, संघ र प्रदेशमा पार्टीले पाउने मत चितवनमा यसपटक खस्कियो । खासगरी परम्परावादी पार्टीका रुपमा चिनिएका एमाले र काँग्रेसले समानुपातिक मत पनि पाउन सकेनन् । गुण र दोषका आधारमा प्रत्यक्षमा पार्टीले उठाएका उम्मेदवारको मत तलमाथि पर्न सक्ने आँकलन गर्न सकिन्छ । तर, पार्टीलाई जाने मत पनि स्वाभाविक रुपमा नआएपछि अहिलेका राजनीतिक दलप्रति जनताको वितृष्णा कतिसम्म रहेछ भन्ने प्रमाणित हुन्छ ।
अब पुराना दलहरुको विचार र संगठनमा पनि पुनर्संरचनाको आवश्यक छ भन्नका लागि चितवनमा राजनीतिक दलले पाएको मत काफी छ । दलहरुले आफ्ना कार्यक्रम कहाँ लैजाने र कसरी बनाउने भन्ने टुंगो नभएर पनि यस्तो भएको हो । दलहरु अझै लोकरिझ्याईंमा लागेका छन् । यस कुरामा मतदाताहरुको विमती देखियो । दलीय संरचनामा क्षमतावान व्यक्ति एकैचोटी फड्को मारेर अघि बढ्नुपर्नेमा त्यसलाई निषेध गर्दा समेत यस्ता प्रतिक्रिया आइरहेका छन् । पार्टीमा नेतृत्व लिने सवाल होस् या जनवर्गाीय संगठनमा भूमिका दिने सवालमा होस्, जताजतै जुनसुकै पार्टीमा आफ्नालाई काखा र अर्को गुटलाई पाखा लगाउने परिपाटीले काँग्रेस–एमाले समानुपातिक मतमा पनि नराम्ररी नांगिएका हुन् भन्ने कुरालाई नकार्न सकिन्न ।
समानुतिकतर्फ पनि नयाँ दललाई नै चितवनका जनताले रुचाए । २०७४ को निर्वाचनमा एमाले सहितको माओवादी केन्द्रसँग कांग्रेसले प्रतिस्पर्धा गरिरहेको बेलामा विवेकशिल साझा पार्टीले आफूलाई नयाँ राजनीतिक शक्तिको रुपमा उभ्याउने प्रयत्न गरेको थियो । अहिले त्यो हिस्सा ‘घण्टी’ तर्फ आकर्षित भएको देख्न र बुझ्न सकिन्छ । यसैले जुनसुकै निर्वाचनमा पनि मतदाताको एउटा ठूलो हिस्साले विकल्पको खोजी गरिरहेको हुन्छ भन्ने कुरालाई राजनीतिक दलहरुले बुझ्न जरुरी छ ।

चितवनमा समानुपातिकतर्फ दलहरुले पाएको मत परिणामलाई हेर्दा नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीले उल्लेख्य मत पाएको देखिन्छ । यो पार्टीले प्रदेशमा प्रत्यक्ष र समानुपातिकतर्फ कतैपनि उम्मेदवारी दिएको छैन । तर प्रत्यक्षमा अन्य पार्टीहरुको मत ‘घण्टी’ ले काटेजसरी समानुपातिक मत पनि काटेको देखिन्छ । यद्दपि पार्टीले समानुपातिक पाएको मत पनि ठूला पार्टीले यसपालि जोगाउन सकेनन् ।
चितवनमा पार्टी र यसको एजेण्डाले चुनाव जितेको भन्दा पनि उम्मेदवारको आफ्नो व्यक्तित्वले चुनाव जितेको कुरालाई समानुपातिक नतिजाले पनि प्रष्ट्याएको छ । साँच्चै राजनीतिक एजेण्डाले चुनाव जितेको हुन्थ्यो भने संघीय सांसदका लागि प्रत्यक्ष र समानुपातिकतर्फ ‘घण्टी मा मत दिएका मतदाताले प्रदेश सांसदका लागि प्राप्त मतपत्रमा प्रत्यक्ष र समानुपातिकतर्फ पनि खाली छाड्थे । जसरी स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रदेश सांसदका लागि पाएको मतपत्रमा स्वस्तिक चिन्ह नलगाइकन त्यत्तिकै मतपेटिकामा खसाले । तर चितवनमा यसो भएन । ‘घण्टी’ का मतदाताले पनि संघ र प्रदेश दुबैतर्फ मत हालेको कुरा निर्वाचन परिणामले देखायो ।
‘नो नट फर अगेन’ को प्रभाव
चुनावताका सामाजिक सञ्जालमा एउटा ह्वीम आएको थियो,–‘नो नट फर अगेन ।’ अर्थात् फेरि पुराना नेतालाई मौका नदिउँ । यसको एउटै कारण थियो, हामीले पटक पटक जिताएर पठाएका नेताले हाम्रा लागि केहि गरेनन् । यसैले उनीहरुलाई बहिष्कार गर्नैपर्छ । समाजमा सामाजिक सञ्जालको बढ्दो प्रभावले गर्दा यो नाराप्रति धेरै आकर्षित पनि भए । जसका कारण चितवनले यसपटक अपंत्यशित नतिजा प्राप्त गरेको अनुमान गर्न सकिन्छ ।
जहिले पनि राजनीतिक दल र नेतृत्वप्रति जनताको एउटै गुनासो रहँदै आएको छ–‘नेताहरुले केहि गरेनन् । आफूमात्रै बने र आफ्नालाई मात्रै बनाए ।’ वास्तवमा ‘नो नट फर अगेन’ को नारा पनि यही भएर आएको थियो ।
पञ्चायतकालीन अवस्थादेखि नै पटकपटक ‘संस्थापन’ विरुद्धको मानसिकता’ निर्वाचन मार्फत प्रकट हुदै आएको छ । जितेका दलले जतिसुकै राम्रो र अरु सकारात्मक काम गरेपनि मतदाताले स्वीकार नगरेका कयौं उदाहरण भेटिन्छ । यसपालि चितवनमा पनि यही भएको हो भन्ने विश्लेषण छ । नत्र अघिल्लोपटक निर्वाचन जितेका चितवनका जनप्रतिनिधिले यहाँ राम्रै र सन्तोषजनक काम गरेका थिए । तर बामपन्थी गठबन्धन गरेर निर्वाचनमा गएपछि उनीहरुले जनताको अभिमत राम्रै पाएका थिए । यही अभिमत पछि गएर पार्टी एकीकरणसम्म पुगेर टुंगियो । जसअनुसार बामपन्थीको सरकार बन्यो ।
नतिजा फेरबदल हुनुका पछाडि नेपालको राजनीति फेरबदल हुनु पनि एउटा कारण बनेको छ । निर्वाचनको जनादेशबाट निर्मित बामपन्थीको सरकार स्वार्थका कारण लामो समय नटिकेको सर्वविदितै छ । बीचमै संसद भंग गरेर जनताको अभिमतलाई किनारा लगाउने काम भयो । यसलाई चितवनका जनताले पनि मूल्याँकन गरे । यता संसद बिघटनलाई ‘प्रतिगमन’ भन्दै देशमा छुट्टै राजनीतिक मोर्चा बन्यो । काँग्रेसको नेतृत्वमा भएको सो मोर्चामा माओवादी, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी सम्मिलित भए । सरकार गठन, राजनीतिक नियुक्ति र स्थानीय निर्वाचनदेखि संसदीय निर्वाचनसम्म यो मोर्चा एकसाथ संगठित भएर एमालेसँग भिड्यो । सधैभर गठबन्धन गर्ने र मोर्चा बनाउने कुरालाई पनि जनताले मन पराएनन् । एमाले र सत्ता गठबन्धनको यी दुबै क्रियाकलापलाई जनताले नियालिरहेका थिए । त्यसमाथि पछिल्लो समय राज्यसत्ता सम्हालेका दलहरुले गरेको व्यवहार र अरु यस्ता क्रियाकलापमाथि जनताले निर्वाचन मार्फत प्रतिक्रिया प्रकट गरेको अर्थका रुपमा पनि चितवनको निर्वाचन परिचित भयो ।
जितेकालाई चुनौति र अवसर‘
यसपालि ठूला पार्टीलाई पछारेर राष्ट्रिय स्वतन्त्र पार्टी चितवनबाट उदाएको छ । यसका केन्द्रीय अध्यक्ष रवि लामिछानेले पाएको मत देशभरको उत्कृष्ठ दोश्रो मत हो । यसबाहेक चितवन जिल्लाभर यो पार्टी मतका हिसाबले ठूलो पार्टी बन्न सफल भएको छ । यो पार्टीको कुनै राजनीतिक भिजन र कार्यक्रम छैन । देशको बेथिति अन्त्य गर्न र सुशासन ल्याउनका लागि आफू राजनीतिको क्षत्रमा आएको स्वयम् रवि लामिछानेले बताउँदै आएका छन् । निर्वाचनका क्रममा उनले भनेका थिए–‘अहिले भइरहेका राजनीतिक दल र नेताहरुले राम्रो नगरेरै हामी राजनीतिमा आउनुपरेको हो । उहाँहरुले राम्रो गर्नेवित्तिकै हामी पनि उतै मिसिन्छौँ ।’ यसैले रवि र उनको पार्टीको विजय भनेको परम्परावादी राजनीतिक दलहरुलाई एउटा झापड पनि हो । रविले भनेजस्तै देशमा सुशासन कायम राख्न नसक्ने हो भने अर्को चुनावमा अर्को शक्ति नजन्मिएला नभन्न सकिन्न ।
यो निर्वाचनले ठूला शक्तिहरूमा असन्तुष्टि भएको र उनीहरुको तौरतरिका ठीक छैन भन्ने सन्देश पक्कै दिएको छ । विद्रोह नगरी आएको पार्टी अस्थिर हुन्छ, यसको विश्वास पनि हुँदैन । पार्टीमा कार्यक्रम, गन्तव्य र नीति भएन भने अगाडि जान पनि सक्दैन । यसैले आफ्नो विरासत कायम राख्ने हो भने राजनीतिक दलहरुले यस कुरामा ध्यान दिनैपर्छ । यसपालि निर्वाचन जितेकाले पनि यही अवस्था दोहो¥याए भने अर्कोपटक फेरि नयाँ दल नआउला भन्न सकिन्न ।
कांग्रेस र एमालेको परम्परागत भोटबैंकमा जसरी माओवादीले राष्ट्रिय रुपमा आफ्नो स्थान बनायो, यसैगरी उनीहरुको मत आधारमा चितवनमा फेरि ‘घण्टी’ ले आफूलाई उभ्याएको छ ।
रवि लामिछाने आफै देशको उपप्रधान तथा गृहमन्त्री भएका छन् । उनलाई काम गरेर देखाउने ठाउँमा जनताले पु¥याएका पनि छन् । यस हिसाबले उनलाई चुनौति र अवसर दुबै छ । चितवनका जनताले दिएको मतलाई विश्वासमा बदल्न चाहिँ उनले धेरै मेहनत गर्नुपर्ने देखिन्छ । किनभने गफ गर्ने र काम गरेर देखाउने भन्ने कुराचाहिँ फरक कुरा हुन् ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement