9Shares

पाल्पा, परासी — कालीगण्डकी करिडोर (उत्तर–दक्षिण) आयोजनाअन्तर्गत पीपलडाँडा–गैंडाकोट सडक खण्ड निर्माण ८० प्रतिशत सकिएको छ । घरटहरा हटाउन नसक्दा कतिपय स्थानमा तीन वर्षदेखि काम रोकिएको थियो । केही स्थानमा रूख कटानको अनुमति नपाएर पनि काम अघि बढेको थिएन ।

‘घरटहरा हटाउनुपर्नेमा क्षतिपूर्ति दिएका छौं,’ कालीगण्डकी करिडोर आयोजना कार्यालय बर्तुङका सूचना अधिकारी पवित्रमणी आचार्यले भने, ‘जंगल क्षेत्र पर्नेमा केही काम बाँकी रहे पनि छिटै समस्या समाधान हुनेछ ।’

पाल्पाको पीपलडाँडादेखि पूर्व नवलपरासीको गैंडाकोटसम्म १ सय ३२ किलोमिटर सडक कालोपत्र गर्न भारतीय निर्माण कम्पनी इकेके इन्फ्राइस्ट्रक्चरले ठेक्का लिएको छ । जसको कुल लागत साढे ५ अर्ब ५२ करोड ९४ लाख रुपैयाँ छ । भारत सरकारको ऋण सहयोगमा कालोपत्र भइरहेको हो । ‘पछिल्ला दिनमा काम धमाधम चलिरहेको छ,’ आचार्यले भने, ‘कालोपत्र गर्ने काम बाहेक स्ट्रक्चरको कामले गति लिएको छ ।’ १ सय ११ किलोमिटर कालोपत्र सकिएको छ । उनले फागुनदेखि बाँकी कालोपत्र पनि सुरु गरिने बताए । पहिरो खसेको, घरटहरा हटाउन विवाद भएको र जग्गा विवाद भएका केही स्थानमा बीचबीचमा काम बाँकी छ । ‘रोकिएका स्थानमा स्थानीय तहसँगको समन्वयमा काम अघि बढेको छ,’ उनले भने ।

२०७८ भदौ ८ म सक्नेगरी ठेक्का लिए पनि निर्माण व्यवसायीले दुई पटक म्याद थपिसकेको छ । २०८० असार २३ सम्म सक्ने गरी काम अघि बढेको उनले बताए । यो सडकलाई भारत र चीन जोड्ने आर्थिक, सांस्कृतिक र पर्यटकीय महत्त्वको त्रिदेशीय पारवहन मार्गका रूपमा सञ्चालनमा ल्याउन खोजिएको हो । सूचना अधिकारी आचार्यका अनुसार कालीगण्डकी करिडोरअन्तर्गत पीपलडाँडा–गैडाकोट सडक खण्डको २१ किलोमिटर क्षेत्रमात्र अब कालोपत्र गर्न बाँकी छ । कामको गुणस्तरमा भने ध्यान नदिएको स्थानीयको आरोप छ । ‘नाली निर्माण, ग्याभिएन, सडक पर्खाल, तार जाली लगाउने काममा गुणस्तर देखिएन,’ रामपुर नगरपालिका–१० का जयप्रसाद अधिकारीले भने, ‘रेखदेख गर्ने निकायको ध्यान पुग्नपर्छ ।’

करिडोरअन्तर्गत तीन वर्षअघिदेखि रोकिएको रामपुर नगरपालिका–५ मटेरी र भलायटारमा सडक निर्माण सुरु भएको छ । मटेरी ठूलोटार खण्डमा सार्वजनिक जग्गा संरक्षण पक्ष र त्यस क्षेत्रमा घर जग्गा पर्नेहरूबीच तीन वर्षदेखि विवाद थियो । ‘रामपुर नगरपालिकाले पहल गरेर काम अघि बढेको छ,’ सूचना अधिकारी आचार्यले भने, ‘नगरपालिकाले सूचना निकाल्ने र विवाद समाधानका लागि पहल गरेर काम अघि बढाउन सकिएको छ ।’

पीपलडाँडा–गैंडाकोट अन्तर्गत पूर्व नवलपरासी सडक खण्डमा पर्ने स्थानमा रूख कटानका लागि अनुमति नपाएपछि काममा ढिलाइ भएको छ । पूर्व नवलपरासीको भोक्राफाँट, ढोडेनी, महेश्वरी खोला, तरंगा खोलालगायतका क्षेत्रमा अझै पनि रुख कटानको अनुमति नपाएको हो । सूचना अधिकारी आचार्यका अनुसार यसका लागि पहल भइरहेको छ । ‘कालोपत्र गर्ने काम रोकिएपछि रूख कटान अनुमतिका लागि स्वीकृति मागेको महिनौं भइसक्यो, अझैसम्म स्वीकृत भएको छैन,’ उनले भने । वन मन्त्रालयमै फाइल अड्किएर बस्दा समस्या भएको हो । यसअघि कतिपय स्थानमा मुआब्जाले गर्दा समस्या थियो । रूख काट्ने अनुमति पाउने हो भने काम तोकिएकै समयमा हुने उनले बताए । गैंडाकोट–पीपलडाँडा खण्डको पूर्वनवलपरासीमा ७ किलोमिटर खण्डमा १ हजार ५८ वटा रूख काट्नुपर्ने हुन्छ ।

कालीगण्डकी करिडोर सडक आयोजनाको कुल ४ सय ३५ किलोमिटर लम्बाइको सडकलाई तीन खण्डमा विभाजन गरेर काम भइरहेको छ । वर्षौंदेखि अलपत्र पाल्पा खण्डमा ५ सय मिटर ट्र्याक गत वर्ष खुलेको हो । यस सडकको स्तरोन्नति हुँदा गैंडाकोटदेखि मुस्ताङको कोरला नाकासम्म यातायात सहज सञ्चालन गर्न सकिनेछ । सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको कालीगण्डकी करिडोरको पहिलो खण्ड भारतको ठुटीबारी नाकादेखि पूर्वी नवलपरासीको गैंडाकोट हो । गैंडाकोटदेखि पाल्पाको राम्दी दोस्रो खण्डमा पर्छ ।

ग्रामीण सडक अस्तव्यस्त

पश्चिम नवलपरासीका ग्रामीण सडक अस्तव्यस्त बनेका छन् । जिल्लाका मुख्य राजमार्गबाहेक भित्री सडकको अवस्था नाजुक छ । स्थानीय तहले प्रदेश र प्रदेश सरकारले संघको मुख ताक्दा सडक जीर्ण बन्दै गएका हुन् । जिल्लाको पाल्हीनन्दन गाउँपालिकाको साबिकको केन्द्रदेखि प्रतापपुर गाउँपालिकाको गोपीगन्ज बजारसम्मको सडकको अवस्था जीर्ण छ । खाडल र धूलोले यस सडक खण्डमा हिंडडुल गर्न असहज हुँदासमेत मर्मतमा कसैले पनि चासो दिएका छैनन् । स्थानीय तहले प्रदेशअन्तर्गतको सडक र प्रदेशले केन्द्रअन्तर्गतको सडक भन्दै मर्मतसम्भारमा चासो नदिंदा सास्ती भोग्नु परेको स्थानीय जगदीश कुर्मीले बताए । ‘यो सडकमा वर्षौंदेखि खाडल र धूलो व्याप्त छ । वर्षामा हिंड्नै मिल्दैन भने हिउँदमा धूलोले उस्तै दुःख दिन्छ,’ उनले भने, ‘त्यहीमाथि स्थानीयले पशु चौपाया पनि सडकमा नै बाँध्ने गर्छन् । एम्बुलेन्स चलाउनसमेत नमिल्ने सडक छ ।’ यस खण्डअन्तर्गत पाल्हीनन्दन, सरावल र प्रतापपुर गाउँपालिकाका क्षेत्र पर्छन् । स्थानीय तह भने दुईवटा पालिका जोड्ने सडक मर्मत प्रदेश सरकारको जिम्मा भएको बताउँछन् ।

प्रदेश सरकारमा सडक पक्की बनाउन योजना पेस गरिएको र अब छिट्टै मर्मत हुने पाल्हीनन्दन गाउँपालिका अध्यक्ष वैजुप्रसाद गुप्ताले बताए । निर्माणाधीन हुलाकी सडक निर्माणले गति लिन नसक्दा स्थानीयले सास्ती भोग्नु परेको छ । वर्षौंदेखि चुनावी नारा बनेको यो सडक निर्माणले गति लिन सकेको छैन । विभिन्न स्थानमा निर्माण सामग्री राख्ने र कल्भर्ट निर्माणका लागि सडक भत्काउँदा हिलो र धूलोले आवतजावतमा समस्या आएको स्थानीयको गुनासो छ । प्रतापपुर गाउँपालिकाको कठहवादेखि सुस्ता गाउँपालिकाको बेलाटारीसम्म २७ करोडको लागतमा निर्माण हुन लागेको ९ किलोमिटर हुलाकी सडक सम्पन्न हुनुपर्ने समयमा जम्मा ६० प्रतिशत मात्र काम भएको छ । २०७९ असार मसान्तसम्ममा सम्पन्न हुनुपर्ने काम पूरा नभएपछि पुनः ६ महिना म्याद थप भएको छ । पुस मसान्तमा सकिनुपर्ने कामले गति लिएको छैन । ठेकेदार कम्पनीले भने नदीजन्य पदार्थको अभावको बहाना बनाउँदै काममा ढिलाइ गर्दै आएका छन् ।

9Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement