10Shares

आर्थिक विकासको मेरुदण्ड पर्यटन क्षेत्र भनिए पनि पालिकाहरुमा प्रभावकारी पर्यटन इकाइहरु नहुनु दुःखद सरोकारवालाहरुको टिप्पणी छ । निजी क्षेत्र एकातिर, पालिकाहरु आफ्नै लयमा हुँदा पर्यटन क्षेत्र अलपत्र बनिरहेको छ । चितवनमा १ सय ५० बढी पर्यटकीय होटलहरु छन् । झण्डै ४० अर्ब लगानी छ । कोरोना र अर्थतन्त्रमा देखिएका उतारचढावले पर्यटन क्षेत्र नै संकटमा छ ।

चितवन घुमफिरका लागि रोजाइमा पर्ने जिल्ला हो । चितवनको नाम आउँदा सौराहाको याद धेरैलाई आउँछ । सौराहाले चितवनलाई चिनायो । २०२२ सालमै टाइगर टप्स होटल खुल्यो । विदेशी पर्यटक र सौखिनहरुले जंगल सफारी थाले । २०३० सालमा चितवन राष्ट्रिय निकुञ्ज बनेपछि चितवनले पर्यापर्यटनमा गति लियो । होटल तथा रिसोर्टहरु खुले । विदेशका ठूला धनाढ्यहरु, सौखिनहरु चितवन आउने क्रम बढ्यो ।

सन् १९५१ सम्म तत्कालिन शासकहरुले सिकार खेल्नका लागि चितवनको वन क्षेत्र प्रयोग गर्थे । विश्वसम्पदा सूचिमा सूचिकृत भएपछि सिकार बन्द भयो । निकुञ्ज क्षेत्र एकसिंगे गैंडा, बाघ, हात्ती, चरा, ताल अवलोकन गर्ने गन्तव्य बन्यो । सन् १९६१ मा बेलायती महारानी एलिजावेथले सौराहाको भ्रमण गरिन् । त्यसपछि सौराहाको पर्यटन क्षेत्र थप उत्साहित बन्यो । परम्परागत घर, थारुका मौलिक घर, संस्कृतिमा पर्यटकहरु रमाए । हात्ती, जीप, डुंगा सफारीमा पर्यटक रमाउन थाले ।

वाइल्ड लाइफ टुरिजममा सौराहा अग्रस्थानमा छ । क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराई वार्षिक २ लाख भन्दा बढी पर्यटकले सौराहा घुमफिर गरेको सम्झन्छन् । “घुमफिरका लागि सौराहा उत्कृष्ट गन्तव्य कायमै छ” उनी भन्छन्, “सौराहाको प्रचार–प्रसार गर्न सके अझ पर्यटक बढ्न सक्छन्, तर स्थानीय सरकारले चासो दिँदैनन् ।” चितवन राष्ट्रिय निकुञ्जका अनुसार पछिल्लो ४ महिनामा ८६ हजार ६ सय ४३ जना पर्यटकले निकुञ्ज घुमेका छन् ।

जसमध्ये ६५ हजार ५ सय २९ जना नेपाली, ७ हजार ७ सय ८६ जना सार्क राष्ट्रका र १३ हजार ३ सय २८ जना विदेशी पर्यटकहरु छन् । निकुञ्ज घुमफिर गर्न सौराहा मुख्य प्रवेशद्वार पनि हो । “सौराहालाई अब सौन्दर्यीकरण गर्न जरुरी छ” उनी भन्छन्, “उबेला सौराहाले चितवनलाई चिनायो, अब चितवनले सौराहालाई चिनाउन भूमिका खेल्नुपर्छ ।” चितवनको पर्यटन आजभोली सौराहा मात्रै केन्द्रीत छैन, विकेन्द्रीकरण भइसकेको छ ।

स्थानीय सरकारले विकास गरेका पर्यटकीय गन्तव्यहरु पनि रोजाइमा छन् । पर्यटनविद् विश्व सुवेदी भन्छन्, “चितवनमा ७० वटा गन्तव्यहरु बनिसके, जसमध्ये ५५ वटा गन्तव्यमा अझै पूर्वाधार अभाव छ, पर्यटकलाई १५ दिन घुमाउन सकिने अवस्था बन्दैछ ।” स्थानीय सरकारले पर्यटन क्षेत्रमा प्रयाप्त बजेट विनियोजन गरे चितवनको अर्थतन्त्र निकै उकासिने तर्क गर्छन् । “हरेक गन्तव्यको साइट टुरिजम प्लानिङ बन्नुपर्छ, पहिले गुरुयोजना त्यसपछि बल्ल डीपीआर गरेर काम थाल्नुपर्छ” उनी भन्छन्, “योजना विनै पूर्वाधार थपिँदा पर्यटक आकर्षित गर्न सकिएन ।”

आर्थिक विकासको मेरुदण्ड पर्यटन क्षेत्र भनिए पनि पालिकामा प्रभावकारी पर्यटन इकाइहरु नहुनु दुःखद भएको टिप्पणी गर्छन् । “हरेक पालिकामा पर्यटन सूचना बैंक बनाउन लागौँ, ७ वटै पालिका समेटेर चितवन पर्यटन परिषद बनाउन लागौं” सुवेदीले भने, “७० वटै गन्तव्य समेटेर अलग अलग टुर प्योकज निर्माण गरौँ, निजी क्षेत्रसँग समन्वय गरौँ, चितवनको विकास छिट्टै हुन्छ ।” निजी क्षेत्र एकातिर, पालिकाहरु आफ्नै लयमा हुँदा पर्यटन क्षेत्र अलपत्र बनिरहेको छ ।

चितवनमा १ सय ५० बढी पर्यटकीय होटलहरु छन् । झण्डै ४० अर्ब लगानी छ । कोरोना र अर्थतन्त्रमा देखिएका उतारचढावले पर्यटन क्षेत्र नै संकटमा छ । होटल व्यवसायी महासंघ नेपालका वरिष्ठ उपाध्यक्ष दिनेशकुमार चुके स्थानीय सरकारले पर्यटन क्षेत्रका योजना बनाउँदा परामर्शसमेत निजी क्षेत्रबाट नलिएको दुखेसो गर्छन् ।

“चितवनमा पर्यटक धेरै भित्र्याउन बहसनै थाल्नुपर्ने अवस्था छ” उनी भन्छन्, “केही पूर्वाधारहरु थपिएका छन्, तर त्यहाँ पर्यटक लैजानेबारे निजी क्षेत्रसँग समन्वयनै छैन ।” पर्यटन क्षेत्रमा बजेट १ प्रतिशत हाराहारी विनियोजन गरेर अर्थतन्त्रमा सुधार्ने सपना लिनु उपयुक्त नहुने उनी बताउँछन् । “स्थानीयको आयआर्जनको राम्रो स्रोत पर्यटन क्षेत्र बन्न सक्छ” उनी भन्छन्, “लगानी बढाउनुपर्‍यो, प्रचारप्रसारमा ध्यान दिनुपर्‍यो ।”

सौराहा, मेघौली, देवघाटधाम, पटिहानी, सोमेश्वरगढी, बीसहजारी ताल, चौकीडाँडा, जलवीरे झरना, सिन्ती झरना, परेवाकोट, गोद्धकधाम, बैकुण्ठधाम, सिराइचुली, उपरदाङगढी, इच्छाकामना, कुरिनटार, बाघमारा सामुदायिक वन, कंकाली सामुदायिक वन, ज्ञानेश्वर सामुदायिक वन जस्ता घुुमफिरका गन्तव्यहरु चितवनमा छन् ।

क्षेत्रीय होटल संघ चितवनका निवर्तनमा अध्यक्ष सुमन घिमिरे पालिकाहरुले पर्यटन क्षेत्रको विकासका लागि स्पष्ट नीति लिन जरुरी रहेको बताउँछन् । “पर्यटन क्षेत्रको विकास गर्ने वाचा सबैको छ, तर न्यून बजेटले प्रगति कहिले हुन्छ ?” उनी भन्छन्, “कम्तिमा गन्तव्यहरुको सूचना, जानकारी दिन प्रभावकारी पर्यटन शाखाहरु पालिका तहमा हुन आवश्यक छ ।”

थपिँदै पर्यटन पूर्वाधार

चितवनमा ७ वटा पालिकाहरु छन् । जसमध्ये १ महानगर, १ गाउँपालिका र ५ वटा नगरपालिका छन् । इच्छाकामना गाउँपालिकामा ऐतिहासिक महत्वको उपरदाङगढी छ । २०१४ सालसम्म चितवनको सदरमुकाम रहेको गढी क्षेत्र सेनवंशीय राजाले सैनिक आवासका लागि बनाएका थिए । १ हजार २ सय ७५ मिटर उचाइमा रहेको यो गढीबाट नारायणी, राप्तीको नागबेली दृश्य, हिमश्रृंखलाको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ । गढी क्षेत्रमा होमस्टे, होटलहरु खुलेका छन् ।

नारायणगढ सडकखण्डको भोर्ले–चौकीडाँडा, दाहाखानी हुँदै जाने ३६ किलोमिटर, पृथ्वी राजमार्गको फिस्लिङबाट इच्छाकामना मन्दिर हुँदै जाने ३२ किलोमिटर र शक्तिखोरबाट करिब ११ किलोमिटरको बाटोले जोडिएपछि यहाँ आउने पर्यटकहरु बढेका छन् । इच्छाकामना मन्दिरको पुनःनिर्माण कार्य अन्तिम चरणमा छ । १ हजार ८ सय मिटरको उचाइमा रहेको यो मन्दिर पुग्दा लालिगुँरासको घनाजंगल नियाल्न पाइन्छ ।

गुरुङ, चेपाङको संस्कृतिमा रमाउन पाइन्छ । गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङ इच्छाकामना, उपरदाङगढी, सिराइचुली, जलवीरे झरनाको प्रचारप्रसारका योजनाहरु कार्यान्वयन गरिने बताउँछन् । चितवनकै अग्लो चुचुरो सिराइचुलीबाट सूर्योदय हेर्न पर्यटक पुग्छन् । ७५ मिटर लामो जलवीरे झरना जलपर्यटनको प्रचुर सम्भावना लिएर बसेको छ । आसपासमा होमस्टेहरु पनि खुलेका छन् ।

भरतपुर महानगरभित्र ३० वटा गन्तव्यहरु छन् । ६ रात ७ दिनको टुर प्याकेज नै महानगरले घोषणा गरिसकेको छ । महानगरभित्र पर्यापयर्टनका अलावा धार्मिक तथा सांस्कृति सम्पदा, मानव निर्मित गन्तव्यहरु, पहाडी क्षेत्रमा ट्रेकिङ–हाइकिङ, लेकसाइड तथा रिभर बेसिन गन्तव्यहरु छन् । भरतपुर महानगरकी मेयर रेनु दाहाल वर्षेनी १ अर्ब भन्दा बढी पर्यटन क्षेत्रमा लगानी भएको बताउँछिन् ।

“संघीय र प्रदेश सरकारबाट समेत पर्यटन क्षेत्रमा ठूलो लगानी छ” उनी भन्छिन्, “हरेक वडामा पार्क, हरेक गन्तव्य पुग्न सुविधासम्पन्न सडकसञ्जाल निर्माणमा लागिरहेका छौँ ।” संस्कृति अवलोकनका लागि दराईको जगतपुरमा, कुमालको गोलाघाटमा, थारुको मेघौली र सिसुवारमा, मगरको धर्मपुरमा, बहुजातिय सांस्कृतिका लागि भगाहामा संग्राहलय बनेका छन् ।

भरतपुर–१९ मा रानीपोखरी पार्क, ६ को इन्द्रपुरीमा लक्ष्मीनारायण मन्दिर पार्क, १२ मा राइनो ताल पार्क, २७ मा मेघोली राइनो इको पार्क, २४ मा देवीस्थान पार्क, ११ मा जखेडीमाई सामुदायिक वनमा चिल्ड्रेन पार्कहरु निर्माणाधिन छन् । जोर कुसुम पार्क, गणेशस्थानको रोटरी पार्क, ज्ञानेश्वर व्लक ओपन जु पनि निर्माणाधिन छन् । महानगरलाई देशकै उत्कृष्ट भ्रमण गन्तव्य बनाउने लक्ष्यसहित योजनाहरु कार्यान्वयन भइरहेको उनले बताइन् ।

“२०८० लाई भ्रमण वर्षका रुपमा मनाउँदै छौँ” उनले भनिन्, “भरतपुर, पोखरा र लुम्बिनी जोडेर त्रिकोर्ण स्वर्ण पर्यटन अवधारणा पनि ल्याएका छौँ, पर्यटक ल्याउन तत्पर छौँ ।” उनले नारायणी नदी किनारलाई ‘सी–बिच’ मोडेलमा विकास गर्न ८ करोड बजेट विनियोजन भएको बताइन् । “नदी किनारलाई व्यापारिक तथा पर्यटकीय उत्कृष्ट गन्तव्य बनाउँदै छौँ”, उनले भनिन्, “फुट ट्रेल, पार्किङ स्थल, पार्क बन्नेछन् । आउँदो असारसम्म निर्माण पूरा हुनेछ ।” नारायणी नदी व्यवस्थापन आयोजनाले पनि एकैसाथ पाँच खण्डमा तटबन्धनको काम सुरु गरेको छ ।

जसका कारणले बस्ती जोगाउँदै पर्यटकीय क्षेत्र निर्माण गर्न जमिन संरक्षण गर्न सहयोग पुग्ने उनले बताइन् । २ अर्ब ४४ करोड बराबरको यो आयोजना नारायणी पुलदेखि गोलाघाटसम्मको नदी किनार तटबन्ध हुनेछ । सिटीहल, गौतमबुद्ध क्रिकेट रंगशाला निर्माण पूरा हुँदा भरतपुरमा माइस टुरिजम विकास हुने देखिन्छ । “सभा, सम्मेलन, राष्ट्रिय, अन्तर्राष्ट्रिय खेलकुदका गतिविधिहरु बढ्दा भरतपुरको मात्रै नभई समग्र चितवनको पर्यटनमा टेवा पुग्नेछ” उनले भनिन्, “निर्माणाधिन आयोजनालाई बेलैमा पूरा गर्न लागिपर्नेछौँ ।”

भरतपुर–१० मा ४ बिघा ४ कट्ठा जग्गामा ८७ करोड ८८ लाख लागतमा २ हजार मानिस अट्ने क्षमताको सिटीहल अबको ९ महिनाभित्र निर्माण पूरा हुँदैछ । यस्तै निर्माण कार्य रोकिएको रंगशालाको स्वामित्व महानगरले लिएर निर्माण थाल्ने प्रक्रिया थाल्दैछ । धुर्मुस–सुन्तली फाउण्डेशनले उपलब्ध गराएको आर्थिक र प्राविधिक प्रतिवेदनको मूल्यांकनपछि महानगरपालिले स्वामित्व लिनेछ । रंगशाला निर्माण गर्न महानगरले १० करोड सहयोग गरेको थियो । ३ अर्ब हाराहारी लागत लाग्ने अनुमान गरिएको रंगशालालाई अब बहुवर्षिय योजनामा पारेर निर्माण गर्ने योजना छ ।

पटिहानीस्थित निकुञ्ज र राप्ती नदी किनारको घटगाईमा अम्ब्रेला स्ट्रिट नयाँ गन्तव्य थपिएको छ । छानामा लहरमा मिलाएर राखिएका ५ सय बढी रंगीन छातामुनी बसेर फोटो खिच्न, रमाउन स्वदेशी तथा विदेशी पर्यटकहरु आउने गरेको भरतपुर–२२ का वडाध्यक्ष विष्णुराज महता बताउँछन् । १ करोड ८६ लाख लागतमा बनेको अम्ब्रेला स्ट्रिट बनेको थियो ।

माडी नगरपालिकाको मुख्य पर्यटकीय गन्तव्य सोमेश्वरगढी बनेको छ । पाल्पाका राजा मुकुन्द सेनले बनाएको यो गढी पर्यटक रमाउने क्षेत्र बनेको छ । नेपाल–भारतको ४५ नम्बरको सीमा स्तम्भ गढी क्षेत्रमा छ । बसन्तपुरदेखि १० किलोमिटर सडकमध्ये ३ किमि सडक कालोपत्रे छ । फेदीबाट करिब ५ किमि उकालोमा रहेको गढी क्षेत्रमा २०७६ मा अजंगका ढुंगाहरुमा कुँदिएका मूर्तिले धेरैको मन तान्छ । चैते दसैंमा चहलपहल हुने यो क्षेत्रमा आजभोली दिनहुँ चहलपहल देख्न सकिन्छ ।

माडी नगरपालिकाकी मेयर ताराकुमारी काजी महतोलेले ९५ करोड बराबरको लागत लाग्ने गरी सोमेश्वर गढीको गुरुयोजना तयार भएपनि बजेट अभाव भएको बताइन् । “बजेट अभाव हुँदा उद्यान, हेलिप्याड, भ्यू टावर, मन्दिरलगायतका निर्माण कार्य रोकिएका छन्” उनले भनिन्, “कृषि र पर्यटन हाम्रो प्राथमिकतामा छन्, तर बजेट अभावले लक्ष्यमा पुग्न सकेनौं ।”

अयोध्याधाम निर्माणमा नगरपालिकाले ८ लाख विनियोजन गरेको छ । प्रस्तावित धाम क्षेत्रमा २०७८ वैशाखमा रामनवमीका दिन भगवान श्रीराम, सीता र लक्ष्मणको मूर्तिसहितको मन्दिर निर्माण गरिएको छ । राजा दशरथको दरबार, धर्मशाला, उद्यान तथा आधुनिक बसपार्क, विवाहमण्डप, घोडसार, जस्ता पूर्वाधार बनाउने लक्ष्य गुरुयोजनामा छ ।

माडी–१ मा पर्ने वाल्मीकि आश्रम वाल्मीक ऋषिले ध्यान गरेको क्षेत्रका रुपमा परिचित छ । धार्मिक महत्व बोकेको यो आश्रम माडीबाटै जान मिल्ने गरी गोरेटो बाटो बनाउने पहल भइरहेको छ । बनकट्टामा बोटेको, बघौडामा थारुको, रमाइलो डाँडामा दराईको अयोध्यापुरीमा पुन मगरको, बगईमा दुरा समुदायका होमस्टे सञ्चालन भएपछि माडीमा पर्यटकको चहलपहल छ ।
रत्ननगर नगरपालिकाभित्र देशकै तेस्रो पर्यटकीय गन्तव्य सौराहा पर्छ । यस्तै बाघमारा सामुदायिक वन, श्रीकृष्ण प्रणामी मन्दिर, चित्रसेन बाबा, टिकौली क्षेत्रसमेत पर्छ ।

रत्ननगर नगरपालिकाका उपप्रमुख यादवप्रसाद पाठकले सौराहाको सौन्र्दयीकरणका लागि १४ करोड बराबरको सडक निर्माण भइरहेको बताए । साइकल लेन, फुटपाथ, स्ट्रिट लाइटसहितका पूर्वाधारहरु निर्माणाधिन छन् । रत्ननगर–५ झुवानीमा ३० करोडलागतको वाटर किङडम निर्माण हुँदैछ । ३ विघा क्षेत्रफलमा ९ करोड ७९ लाखमा निर्माण हुँदैछ ।

कृत्रिम पोखरी, स्वीमिङ पुल, चिप्लेटी, पानी डान्स, रोटे पिङलगायत पूर्वाधार बन्नेछन् । खैरहनीको कुमरोज सामुदायिक वन, कंकाली सामुदायिक वन पर्यटकको रोजाइमा पर्छन् । आसपासमा होमस्टे, रिसोर्टहरु खुलेका छन् । कंकाली पिकनिक स्पोटका रुपमा परिचित छ । कुमरोजमा हात्ती, जीप, डुंगा सफारी हुँदै आएको छ ।

कालिका नगरपालिकाभित्र सिन्ती झरना, गैरीबारी झरना, चित्राम झरना, चमेरो गुफा, उदयपुर सामुदायिक वनको इको पार्क, भीमवली सामुदायिक वनलगायतका ठाउँहरु पर्यटक घुम्ने ठाउँहरु छन् । कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले संघीय र प्रदेशसरकासँग समन्वय गरेर पर्यटकीय गन्तव्यहरुमा पूर्वाधार थप्न पहल हुने बताए ।

“नगर क्षेत्रभित्रका पर्यटकीय गन्तव्य संरक्षण र प्रवर्द्धनका लागि प्रतिवद्ध छौं” उनले भने, “पर्यटकीय संरक्षण क्षेत्र नै घोषणा गरेर पूर्वाधार थप्ने अभियान चलाउने छौं ।” राप्ती नगरपालिकाको परेवाकोट चेपाङ तथा तामाङ समुदायको संस्कृति अवलोकन गर्न सकिने गन्तव्य हो । यहाँ भ्यू टावर निर्माण भएको छ । सडक सञ्जालका कारण पर्यटकहरु सजिलै घुमफिर गर्न सक्छन् । शिखर हरियाली इको टुरिजम पार्क, राप्ती एकता मध्यवर्ती सामुदायिक वन, पिपुल्स पार्क घुमफिरका गन्तव्यहरु हुन् ।

10Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement