2Shares

काठमाडौं । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सवालमा सन् २०२२ निकै नै चुनौतीपूर्ण वर्ष बनेको नेपाल पत्रकार महासंघले जनाएको छ ।

महासंघका अनुसार नयाँ प्रविधि र शैलीको विकाससँगै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्धका घटनामा पनि नयाँ नयाँ तरिका अपनाइएको पाइएको छ ।

यस वर्ष सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित समाचारमा असहमति राख्ने व्यक्ति वा समूहले सञ्चार संस्था र पत्रकारमाथि नयाँ नयाँ तरिका अपनाएर आक्रमण गरेका पाइएको र यसले नेपालको पत्रकारिता क्षेत्रमा नयाँ चुनौती थपिएको महासंघका महासचिव रोशन पुरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उनका अनुसार अघिल्लो वर्षमा भन्दा फरक यो वर्ष डिजिटल माध्यमबाट सञ्चारमाध्यम र पत्रकारमाथि आक्रमण भएको हो । अनलाइन सञ्चारमाध्यमको सिएमएसमा अनधिकृत प्रवेश गर्ने, संगठित रूपमा अन फलो अभियान चलाउने, सामाजिक सञ्जालमार्फत विभिन्न प्रकारका धम्की दिने, सामाजिक सञ्जाललाई बन्द गर्न प्रयास गर्ने र विमुख बनाउने तथा ह्याक गर्ने काम भएको विज्ञप्तिमा उल्लेख छ ।

महासंघको अभिलेखमा सन् २०२२ मा प्रेस स्वतन्त्रता हननका ५३ वटा घटना भएका छन् । महासंघको प्रेस स्वतन्त्रता अनुगमन शाखाको अभिलेखअनुसार ५३ वटा घटनामा १३२ जना पुरुष र १८ जना महिला पत्रकारसहित ६ वटा सञ्चार संस्था प्रभावित भएका छन् । सन् २०२१ मा प्रेस स्वतन्त्रता हननका ६२ वटा घटना भएका थिए । ६२ वटा घटनामा १९० जना पत्रकार तथा ४ सञ्चारमाध्यम प्रभावित भएका थिए ।

सरकारले ल्याएका र ल्याउन प्रयास गरिएका सञ्चार कानून सुधारमा महासंघको निरन्तर खबरदारी हुँदा पनि पाँच वर्षे प्रतिनिधिसभाको कार्यकाल सकिएको महासंघले जनाएको छ । सन् २०२२ मा संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्धका कानून ल्याइएको, संघ, प्रदेश र स्थानीय सरकारले ल्याएका सञ्चारसम्बद्ध विचाराधीन कानून प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्ध रहेका महासंघको निष्कर्ष छ । त्यस्ता कानूनले नेपालको संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्थालाई समेत चुनौती थपिदिएको जनाइएको छ ।

2Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement