2Shares

काठमाडौं। निजी क्षेत्रको अग्रणी आन्तरिक वायुसेवा कम्पनी बुद्ध एयरका संस्थापक कार्यकारी अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको निधन भएको छ।

१९८४ साउन २७ गते भोजपुर दिङ्लास्थित साल्मामा जन्मिएका बस्नेतको आज पुस १० गते आइतबार बिहान १ बजे ९५ वर्षको उमेरमा ललितपुरकाे मेडिसिटी अस्पतालमा निधन भएको हो।

बस्नतले आफू ७० वर्षको हुँदा सन् १९९६ मा बुद्ध एयर स्थापना गरेका थिए। सर्वसाधारण नेपालीमा हवाई यात्राको पहुँच पुर्‍याउने उद्देश्यले बस्नेतले साढे दुई दशकअघि बुद्ध एयर स्थापनाको कल्पना गर्दा समय त्यति सहज थिएन।

उनको कल्पनालाई साकार रूप दिन जेठा छोरा वीरेन्द्रबहादुर बस्नेत अगाडि बढे। बुबाको कल्पनालाई यथार्थमा परिणत गर्दै लगेपछि बुद्ध अहिले मुलुककै सबैभन्दा ठूलो आन्तरिक वायुसेवा कम्पनीमा दरिएको छ।

बुद्ध एयरको नाम नसुन्ने हवाई यात्रु सायदै होलान्। तर, बुद्ध एयर स्थापनाको कथा कम्ति रोचक भने छैन। बुद्ध स्थापनाको २६ वर्षमा उडिरहेको छ।

सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमबाहेक नेपालमा निरन्तर लामो समयदेखि व्यावसायिक उडान गरिरहने वायुसेवा कम्पनीमा पहिलो स्थान बुद्धकै छ।

बुद्धका संस्थापक कार्यकारी अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतले वायुसेवा कम्पनी सुरु गर्दाताका मुलुकमा धेरै वायुसेवा केही समय चल्ने अनि सदाका लागि बन्द हुने गरेका थिए। तर, बुद्ध यसमा अपवाद बनेर २६ वर्षदेखि निरन्तर उड्डयन बजारमा टिक्दै यात्रु र देश सेवामात्र नभई अर्थतन्त्रमा पनि योगदान दिँदै आएको छ।

जन्मथलो भोजपुर दिङ्लाबाट कर्मथलो विराटनगर झरेका सुरेन्द्रबहादुर बस्नेत हवाई यात्रा गरी त्यहाँबाट काठमाडौं आउन नेपाल वायुसेवा निगमको जहाजको टिकट लिन हप्तौं कुर्थे।

त्यतिले मात्र नपुगेर, निगम कर्मचारीका ‘चाकडी’ गर्नुपर्ने बाध्यता बाँकी नै हुन्थ्यो। सरकारी वायुसेवाबाट दिक्क भएका उनले आमनेपालीलाई सरल र सहज उडानबाट गन्तव्य पुर्‍याउन अनि निगमको एकाधिकार अन्त्य गर्न आफूसँग भएको सबै जायजेथा जमानी राखेर वायुसेवा कम्पनी सञ्चालन गर्ने निर्णयमा पुगेका थिए।

त्यसबेला सुरेन्द्रले आफूमात्र नभई, हवाई यातायात पहुँच सर्वसाधारणसम्म पुर्‍याउन ठूलो जोखिम मोलेर लगानी गरेका थिए। पैसा तिरेर पनि हवाई टिकट पाउन नेपाल वायुसेवा निगम कर्मचारीका घरघर गएर गर्नुपर्ने चाकडी अन्त्यकै लागि सुरु भएको बुद्ध एयर अहिले नेपालमा निजी क्षेत्रकै सबैभन्दा ठूलो आन्तरिक वायुसेवा बनेको छ।

‘त्यसबेला बुबाले ठूलै जुवा खेलिबक्सेको थियो,’ उनका जेठा छोरा तथा बुद्धका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले क्यापिटल नेपालसँग भने, ‘भएभरको सम्पत्ति दाउमा राखेर ‘भूतो न भविष्यति’ भन्ने खालको व्यापारमा हात हालेको देख्दा त्यसबेला अधिकांशले बस्नेतहरूले सबै सम्पत्ति सिध्याउने भए भनेको हिजो जस्तो लाग्छ।’

बुद्ध अहिलेको अवस्थासम्म आइपुग्नुका मुख्य कारण सञ्चालक र व्यवस्थापकको लगनशिलता, मिहिनेत र दृढसंकल्प हो।

‘हामी सबै कर्मचारी, व्यवस्थापको मिहिनेतका  साथै बुबाको मार्गनिर्देशनबाट आज बुद्ध एयर सफलतासाथ यो अवस्थामा आइपुगेको हो,’ वीरेन्द्र भन्छन्।

बुद्ध एयर स्थापनाताका उमेरले सात दशक लागे पनि सुरेन्द्रबहादुर बस्नेत कम्पनीलाई दिगोरूपमा कसरी अगाडि बढाउने, सबै नेपालीमा सरल भाडा दरमा कसरी हवाई यातायात पहुँच पुर्‍याउने भनेर दिनरात खरिटरहन्थे। दिनहुँ सरकारी निकाय धाउनु त्यो बेला उनको दैनिकी जस्तो थियो।

‘बयोवृद्ध उमेरमा पनि बुबाको मिहिनेत, आँट र कामप्रतिको समर्पण देखेर हामी त्यो बेला नतमस्तक हुन्थ्याैं,’ वीरेन्द्र भन्छन्, ‘त्यसैको नतिजा हो, आज हामी र बुद्ध एयरले पाएको सफलता।’

बुद्ध स्थापनाका केही वर्ष त संस्थापक कार्यकारी अध्यक्ष बस्नेत नियमित कार्यालय आउजाउ गर्थे। तर, पछिल्ला केही वर्षदेखि स्वास्थ्यमा समस्या देखिएपछि भने उनी कार्यालय आउन छाडेका थिए।

कार्यालय नआए पनि उनले घरमै आराम गरिरहेका बेला जेठा छोरा वीरेन्द्र र अन्य निर्देशक तथा सञ्चालक समितिका सदस्यहरूलाई ‘अब यसरी अगाडि बढ्नुस्, यसो गर्दा उपयक्त हुन्छ’ भनेर टेलिफोनबाटै मार्गनिर्देश गर्ने गरेका थिए।

‘त्यसबाट पनि हामीलाई हाम्रो अभिभावकबाट सधैं प्रेरणा प्राप्त भइरहन्थ्यो,’ वीरेन्द्र भन्छन्, ‘हामी र बुद्ध एयरका लागि बुबाको निधन अपूरणीय क्षति हो। तर, बुबाको मार्गनिर्देश र प्रेरणालाई सदैव आत्मसात गरेर अगाडि बढिरहने छौं।’

बुद्धका संस्थापक कार्यकारी अध्यक्ष सुरेन्द्रबहादुर बस्नेत उड्डयन व्यवसायमा ७० वर्षको उमेरमा प्रवेश गरे पनि त्यसअघि उनले सरकारका धेरै उच्च ओहदामा बसेर काम गरेका थिए।

उनी सर्वोच्च अदालतका न्यायाधीश, निर्वाचन आयोगका प्रथम प्रमुख आयुक्त, नेपाल प्रेस काउन्सिलका प्रथम अध्यक्षमात्र नभई विभिन्न समयमा कानुन तथा न्याय, शिक्षा, अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री समेत थिए।

उनले बनारस हिन्दु विश्वविद्यालयबाट एमए, एलएलबी अध्ययन गरेका थिए।

उनको पार्थिव शरीलाई बुद्ध एयर मुख्यालय जाउलाखेलमा श्रद्धाञ्जलीका लागि राखेर त्यसपछि पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने पारिवारिक सदस्यले जनाएका छन्। उनका श्रीमती, दुई छोरा र एक छोरी छन्।

सन् १९९७ अक्टोबर ११ मा १८ सिट क्षमातायुक्त एकथान ‘बिचक्राफ्ट १९००’ जहाज र ३० कर्मचारीबाट सुरु भएको बुद्धसँग आजको दिनमा आइपुग्दा ७२ सिट क्षमताका ‘एटिआर७२–५००’ सिरिजका ११ थान, ४७ सिट क्षमतायुक्त ‘एटिआर४२–३२०’ सिरिजका तीनथान र १८ सिटयुक्त ‘बिचक्राफ्ट १९००डी’ सिरिजका दुईथान गरी १६ जहाज सञ्चालनमा छन्।

2Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement