23Shares

काठमाडौ । प्रभु बैंकसँग मर्जरमा जान लागेको सेञ्चुरी कर्मसियल बैंकका कर्मचारीमा मर्जरपछि भविष्य अन्यौल बनेको भन्दै चरम असन्तुष्टि देखिएको छ ।

मर्जरपछि आफ्नो सेवा सुविधामा कुनै स्पष्टता नभएको भन्दै कर्मचारी रुष्ट भएका हुन् । कर्मचारीको उचित समायोजनविनै दबाब दिएर सञ्चालकले बैंकलाई मर्जरमा लगेको उनीहरूको गुनासो छ । एक उच्च कर्मचारीले बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठ आफ्नो स्वार्थ पूर्तिका लागि कर्मचारीसँग छलफल नै नगरी एकतर्फीरूपमा अघि बढेको बताए ।

तर, सेञ्चुरी बैंकका एक अधिकारी भने खाइपाइ आएको सेवा सुविधा र पद नघट्ने गरी समायोजन गर्न लागिएको बताउँछन् । उचित समायोजन गरेर मर्जरमा सहभागी हुने दाबी गर्दै उनले भने, ‘मर्जरमा जानकै लागि हाम्रो कर्मचारीको बढुवा दुई महिनाबीच दुईपटक गरेका छौं ।’

सेञ्चुरीले असार मसान्तमा २४० र भदौमा थप २ सयजना कर्मचारीको बढुवा गरेको थियो । बैंकले कर्मचारीलाई प्रोक्सी कलेक्सनको लागि घरघरमै पठाइरहेको कर्मचारीको आरोप छ । तर, पुस १४ गते साधारणसभामा कोरम पुर्‍याउनका लागि मात्र त्यसो गरिएको स्रोतले बताएको छ । हाल सेञ्चुरी बैंकमा ११५७ जना कर्मचारी कार्यरत छन् ।

प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकले गत भदौ २० मा राष्ट्र बैंकबाट मर्जरको सैद्धान्तिक सहमति पाइसकेका छन् । साउन १५ मा मर्जरमा जान दुई बैंकबीच प्रारम्भिक सम्झौता भइसकेको छ । यद्यपि अन्तिम सहमति हुन बाँकी छ । यसका लागि दुवै बैंकले पुस १४ मा साधारणसभा डाकेका छन् । त्यसपछि केन्द्रीय बैंकले मर्जरको अन्तिम स्वीकृति दिनेछ । राष्ट्र बैंकले पुस मसान्तसम्म एकीकृत कारोबार गर्नेलाई विशेष सहुलियतको व्यवस्था गरेको छ । त्यही भएर बैंकहरू मर्जरमा लोभिएका छन् ।

स्वाप रेसिया १:१ हुने गरी समान हैसियतमा गाभिन लागेका यी बैंक एक भएपछि प्रभुकै नामबाट एकीकृत कारोबार हुनेछ । बैंकको प्रमुख कार्यकारी अधिकृत प्रभु बैंककै अशोक शेरचन बन्नेछन् । यस्तै सातजनाको सञ्चालक समितिमा बहुमत सदस्यसंख्या ४ जना प्रभु र ३ जना सेञ्चुरीका रहने छन् ।

चालू आवको पहिलो त्रैमास अनुसार प्रभुको चुक्ता पुँजी १२ अर्ब ७० करोड ८७ लाख रूपैयाँ छ । प्रभु बैंकको मंसिर २१ गते बसेको सञ्चालक समितिको बैठकले ८ प्रतिशत लाभांश दिने निर्णय गरिसकेको छ । प्रभुले ६.५० प्रतिशत बोनस सेयर र १.५० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव आगामी साधारणसभामा पेश गर्दैछ । बोनस सेयर वित्तरण पछि प्रभु बैंकको चुक्ता पुँजी १३ अर्ब ५३ करोड ४७ लाख रुपैयाँ पुग्नेछ ।

यता सेञ्चुरीको चुक्ता पुँजी ९ अर्ब ५५ करोड ३९ लाख रुपैयाँ छ। बैंकले पनि गत आवका लागि ४.७५ प्रतिशत बोनस दिने प्रस्ताव अघि सारेको छ । प्रस्तावित लाभांश पछि बैंकको चुक्ता पुँजी १० अर्ब रुपैयाँ पुग्नेछ । यसो हुँदा मर्जर पछि करिब २३ अर्ब चुक्ता पुँजी पुग्नेछ ।

सेञ्चुरीले पुमरी नामक सफ्टवेयर चलाउँछ भने प्रभुले फिनाकल प्रयोग गर्दै आइरहेको छ । सेञ्चुरीलाई केन्द्रीय बैंकले सफ्टवेयर परिवर्तन गर्न दबाब दिँदै आएको थियो । मर्जरमा जाने भएपछि सफ्टवेयर परिवर्तन गर्न लाग्ने ४० करोड रूपैयाँ सेञ्चुरीको जोगिने बैंक स्रोतले जनाएको छ । कार्यालय भाडाले सेञ्चुरीको कार्यालय सञ्चालन लागतसमेत बढी हुने गरेकोमा अब प्रभुसँग गाभिएपछि सो लागत घट्ने ती अधिकारी बताउँछन् । सेञ्चुरी देशकै कान्छो बाणिज्य बैंक हो ।

सेञ्चुरीको केन्द्रीय कार्यालय भवनको सम्झौता सकिँदै

प्रभु बैंकले बबरमहलस्थित आफ्नै भवनमा केन्द्रीय कार्यालय राखेको छ । कमलादीस्थिति भवन पनि बैंकको नै हो । तर यता सेञ्चुरीको भने कुनै पनि कार्यालयको आफ्नो भवन छैन । पुतलीसडकस्थित केन्द्रीय कार्यालयको भवनका लागि गरिएको सम्झौता सकिन करिब ६ महिना बाँकी छ । घरधनीले आफैँ प्रयोग गर्ने बताइसेकोले अब सेञ्चुरीले सो घर छोड्नुपर्नेछ । १० वर्षका लागि लिइएको सो घर दुई पटक म्याद थप गरिएको थियो ।

23Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement