0Shares

मनोज रेग्मी, 
कोभिडपछि नेपालबाट विदेश जानेको संख्या बढ्दै छ । पढ्न जाने विद्यार्थी हुन या काम गर्न जाने कामदार विदेश जाने होड चलेको छ । गाउँदेखि शहर र शहरदेखि विदेशसम्म पुग्ने र उतै पलायन हुने नेपालीको संख्या पनि विस्तारै बढ्दै छ । अझ अमेरिका पस्ने नेपाली त नेपाल सम्झेर आउनै मान्दैनन् । डिभी पर्यो भनेपछि नेपालीहरुको मनमा लड्डु फुट्न थाल्छ । अमेरिकामा नेपाली कति छन् भन्ने प्रश्न अहिले गौण भइसक्यो ।

अमेरिकामा नेपालीहरू कहाँ–कहाँ छैनन् भन्ने प्रश्न बरु जायज हुन सक्छ । अमेरिकाका सबै राज्यहरूमा अहिले नेपालीहरूको बाक्लो बस्ती बसिसकेको छ । अहिले पनि अमेरिका जाने कुरा गर्यो  भने, फेरि नेपाल फर्केला भन्ने कसैले पनि कल्पना गर्दैनन् । न त त्यस्तो सल्लाह नै कसैले दिन्छ । नेपालमा हुनेहरूले अमेरिका गएको मानिस अब नेपाल फर्कदैन, उतै हराउँछ भन्छन । भिजिट भिषामा विदेश पस्ने पनि उतै हराएका छन, विद्यार्थी पनि उतै हराएका छन ।

अझ स्वदेश फर्कनु त परै जाओस आफ्ना बाबुआमा समेत उतै लग्ने र ‘सेटल’ गराउने चलन चलेको छ । हुन त अमेरिकाले सानाभन्दा साना राज्य र सहरहरूमा सबै प्रकारका सेवा–सुविधा तथा व्यवस्थित बसोबासको प्रबन्ध गरेको छ । मानिसका लागि चाहिने अत्यावश्यक सामग्रीका पसलदेखि होटल, अस्पताल, विद्यालय, विद्युत, खानेपानी लगायत सम्पूर्ण व्यवस्था सर्वसुलभ छन् । चिल्ला बाटा र सफा ठाउँ देखेपछि नेपाल फर्किन को नै चाहन्छ र !

तर, माछापुच्छ्रे बैंकमा ‘दायित्व र विदेश मामिला अन्तर्गत नायब प्रमुखको जिम्मेवारी सम्हालेकी प्रतिमा पाण्डे भने अमेरिका छाडेर नेपाल फर्किन । अमेरिकालाई चटक्कै छाडेर नेपाल किन आउनुभयो भन्ने पश्नमा उनी भन्छिन, ‘मलाई चिन्ने आफन्त सबैले यो प्रश्न बारम्बार गर्दछन, कतिले हरेक भेटमा मलाई विदेश गइसकेको तिमी किन फेरि फर्केको भनेर पनि सोध्छन । तर मेरो विदेशका बारेमा अलिक भिन्न विचार छ ।’

प्रश्नको उत्तरलाई थप घुमाउरो बनाउँदै उनले फेरि भनिन ‘तपाई आफ्नो देश, आफ्नो परिवार, आफ्ना आफन्त सबै छाडेर विदेश किन जानुहुन्छ ? पक्कै पनि अझै धेरै अवसर, उच्च शिक्षा, आर्थिक अवस्था अर्थात एउटै शब्दमा भन्दा तपाईको अहिले चलिरहेको जीवनभन्दा अझ राम्रो होस् भन्ने चाहनाले न हो । तर अवसर हुँदा हुँदै आफ्नै भूमी सम्झेर फर्कनुका पछाडी थुप्रै कारणहरु हुन्छन ।’ अमेरिकामा जाने बेलाको अनुभव सुनाउँदै उनले भनिन, ‘विकासोन्मुख देशबाट विकसित देशमा पुग्दा अवश्य पनि यहाँ भन्दा राम्रो अवसर हुन्छ नै । मैले पनि केहि वर्ष अगाडि अमेरिका जाने अवसर पाए । म त खुशी नहुने कुरै भएन, तर म भन्दापनि बढि खुशी मेरा आफन्तजन र साथीभाई थिए ।’

अमेरिका जानु अगाडी पनि उनले कुनै अर्को वाणिज्य बैंकमा राम्रै पोष्टमा जागिर खान्थिन । जब भिसा लाग्यो उनलाई पनि नेपालमा भन्दा त्यहा अझ धेरै राम्रा–राम्रा अवसर हुन्छन भन्ने लागेको थियो ।  विदेश पुगेपछिको अनुभव सुनाउँदै उनले भनिन् ‘जब म विदेश पुगे त्यसको २ हप्ता भित्र नै मलाई पैसा कमाउने कि पढ्ने भन्ने दुविधा थियो । तर मैले व्यवस्थापन विषयमा स्नातोकोत्तर गर्ने निर्णय गरे । म अठोटका साथ पढ्न लागे । विदेशमा पढ्दै गर्दाको संघर्ष सुनाउँदै उनले भनिन, ‘नेपालबाट गएकी म सामान्य बिद्यार्थीले त्यहाँ बसेर अन्य देशका विद्यार्थीहरुसँग मज्जाले प्रतिस्पर्धा गरे । प्रतिस्पर्धामा सधै अग्र पक्तिंमा आए, प्रोफेसरहरुबाट सम्मान पनि प्राप्त गरे ।  त्यहाँ राम्रो अवसर पनि पाए मैले ।’

हुन त उनले आफ्नो योग्यता अनुसारको काम नपाएकी पनि होइनन् । तर त्यहाँको जिवन र यहाँको जिवन तुलना गर्दा उनलाई यहाँजत्तीको जिवन त नेपालमै पनि जिउन सकिन्छ भन्ने अनुभूती भयो । त्यसपछि उनले नेपालमै फर्किने निर्णय गरेको कुरा बताइन । उनी भन्छिन, ‘विदेशमा जानेले खोज्ने अर्को कुरा स्वतन्त्रता पनि हो र मैले मेरो पेशागत स्वतन्त्रता र व्यक्तिगत स्वतन्त्रता नेपालमै बसेर पनि कम्परमाईज गर्नु परेको थिएन भने म किन विदेश बस्ने भन्ने पनि लाग्यो मलाई । विदेश नपुगुन्जेल हामी विदेश भनेको के–के न होला भन्ने सोच्छौँ । तर मेहनत गर्यो भने विदेशमा बस्नु र नेपालमा बस्नुमा मैले कुनै भिन्नता भेटिन ।’

आफ्नो देश, आफ्नो परिवार, आफ्ना आफन्त अनि नेपालमा हुदाँ प्राप्त गरिने पहिचानको छुट्टै महत्व छ । उनी भन्छिन, ‘म विदेश जाने कुरालाई नराम्रो मान्दिन । तर आफुले दृढतापूर्वक मेहनतका साथ काम गर्दा अमेरिकामा बसेर भन्दा नेपालमा बसेर नै बढी  स्वतन्त्रता र सम्मान पाईन्छ भन्ने मलाई लाग्छ । मैले आज सोही कुरा हासिँल गरिरहेकी छु ।’

विदेशी विलासिता र सहज जीवन छोडेर नेपाल फर्केपछिको अनुभव प्रस्तुत गर्दै उनले भनिन, ‘जब म नेपाल फर्किए त्यसपछि केही व्यक्तीहरुले मलाई गलत निर्णय भयो भनेर नभनेका पनि होइनन् । तर म नेपालमा नै केही गर्छु भन्ने पूर्ण विश्वासका साथ नेपाल फर्किएकी थिए । भाग्यबस म नेपाल फर्किएको एक सातामा नै माछापुच्छ्रे बैंकबाट राम्रो पोष्टमा अफर आयो र बाकीँ यहाँहरुको अगाडी छदैँछ ।’

अमेरिकको जिवन छोडेर नेपाल आउँदा उनलाई आजसम्म पनि कुनै पश्चताप गर्नु नपरेको उनी बताउँछिन । विदेशबाट नेपाल फर्केर केही गर्छु, भन्नेहरुका लागि एक उदारणीय पात्र पनि हुन उनी । विदेशमा रहेका र भविष्यमा नेपालमा नै आएर केही गर्न खोज्नेहरुका लागि सन्देश दिँदै उनले भनिन,‘नेपालमा थुपै सम्भावनाहरु र अवसरहरु छन् । त्यसैले सम्भावनाहरुको खोजी गरि विदेशमा सिकेको सिपलाई नेपाल आएर प्रयोग गरी आफ्नो भविष्य विदेशमा जस्तै सुन्दर बनाउन सकिन्छ । जसले गर्दा आफ्नो देशप्रति गर्नुपर्ने दायित्व पनि पूरा गरेको महशुस हुन्छ । यसले आत्मसन्तुष्टी पनि प्रदान गर्दछ ।  हरेक व्यक्तिको जीवनलाई सकारात्मक रुपले अघि बढाउन अन्यन्त आवश्यक हुन्छ ।’

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement