0Shares

चितवन,साउन १०-

भरतपुर महानगरपालिकाका किशोरीहरुलाई आज (मंगलबार) बाट एचपिभि खोप लगाउन शुरु गरिएको छ । ११ देखि १३ वर्ष उमेर समूहका किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्ध लगाइने (ह्यूमन प्यापिलोमा भाईरस (एचपिभि) खोप कार्यक्रम भरतपुर वडा नम्बर ७ बाट शुरु गरिएको हो ।

वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा एक कार्यक्रमको आयोजना गरी खोपको शुभारम्भ गरिएको छ । क्यान्सर अस्पतालमै यो खोप लगाइनेछ । कार्यक्रमको उद्घाटन गर्दै भरतपुर महानगरपालिका वडा नं. ७ का अध्यक्ष राजेन्द्रमणि काफ्लेले यो खोप लगाउनु पाउनु ठूलो कुरा भएको बताउनुभयो । धेरै प्रयासपछि खोप ल्याईएको भन्दै उहाँले यो उमेर समूहका सबैले खोप लगाउन आग्रह गर्नुभयो ।

कार्यक्रममा अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. कृष्णसागर शर्माले पहिलोचरणमा माडी नगरपालिकाका ६९९ जना किशोरीलाई यो खोप लगाईएको जानकारी दिनुभयो । अस्पतालले १२ हजार खोप ल्याएको जानकारी दिंदै उहाँले वडा नं. ७ का किशोरीलाई लगाईसकेपछि जिल्लाभरका सरकारी विद्यालयका किशोरीहरुलाई अभियानको रुपमा लगाईने बताउनुभयो । उहाँका अनुसार साउन २७ गतेदेखि ३१ गतेसम्म जिल्लाभर खोप अभियान सञ्चालन गरिने छ ।

खोप शुभारम्भ कार्यक्रममा प्रेमबस्ती माविका प्रधानाध्यापक नवराज पौडेलले यो खोप लगाउनुपर्छ भन्ने चेतना अभिभावकमा अझै नरहेको बताउनुभयो । उहाँले खोप लगाउनका लागि पठाईएका ५० प्रतिशत फारम नभरिएको जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस ७ नं. वडा कमिटीका अध्यक्ष विनोद ढकालले क्यान्सर अस्पतालले पहिलो प्राथमिकता वडा नं. ७ लाई दिनुपर्ने बताउनुभयो ।
क्यान्सर अस्पतालले जिल्लाका ११ देखि १३ वर्ष उमेर समूहका ६ हजार किशोरीहरुलाई यो खोप लगाउँदै छ । डा. शर्माले १२ हजार खोप आएको जानकारी दिंदै एक जनालाई ६ महिनाको फरकमा दुई पटक खोप दिनुपर्ने बताउनुभयो ।

यो एचपिभि खोप लगाएपछि भाईरसको संक्रमणबाट बचाउँछ । यो खोपले पाठेघरको मुखको क्यान्सरको मात्र नभई यौनीको क्यान्सर, मलद्धारको क्यान्सर, मुखको क्यान्सरबाट समेत बचाउँछ । विश्वका धेरै देशहरुमा लगाईएको यो खोपको खासै साईड इफेक्ट छैन । कसैकसैलाई यो खोप लगाएपछि ज्वरो आउने, टाउको दुख्ने, एलर्जी हुने लक्षण लक्षणहरु देखा पर्न सक्ने चिकित्सकहरुले बताएका छन् ।

धेरै जनासँग असुरक्षित यौन सम्पर्क गरेमा, सानै उमेरमा बिवाह भएमा वा सानै उमेरदेखि यौनजन्य क्रियामा सहभागी भएमा, सानै उमेरमा बच्चा जन्माएमा, धेरै बच्चा जन्माएमा, पटक पटक गर्भपतन गराएमा, धूम्रपान गरेमा, लामो समयसम्म हार्माेनयुक्त परिवार नियोजनका साधन प्रयोग गरेमा पाठेघरको मुखको क्यान्सर हुन सक्ने विज्ञहरुले बताएका छन् ।

एक अध्ययनले पाठेघरको मुखको क्यान्सर एचपीभी खोप लगाउँदा ९० प्रतिशत जतिले घटाउने देखाएको छ । यो क्यान्सर विश्वभरका महिलाहरूमा धेरै लाग्नेमा चौथो नम्बरमा पर्छ र यसले हरेक वर्ष ३ लाख महिलाको ज्यान जाने गरेको छ ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement