0Shares

काठमाडौँ । सञ्चार क्षेत्रका लागि कार्यस्थलमा हुने लैङ्गिक हिंसाबारे निर्देशिकाको मस्यौदा तयार पारिएको छ ।

सञ्चार प्रतिष्ठान र मिडियाको समग्र क्षेत्रको कार्यस्थललाई सुरक्षित गर्न संयन्त्रको आवश्यकता महसुस गरेर प्रेस काउन्सिल नेपाल, नेपाल पत्रकार महासङ्घ र यस क्षेत्रमा कार्यरत सङ्घसंस्था एवं विज्ञहरूबिच छलफलसहित निर्देशिकाको मस्यौदा तयार भएको हो ।

मिडिया एडभोकेसी ग्रुप (म्याग), सहयोगी संस्था सोलिडारिटी सेन्टर नेपालले संयोजनमा विभिन्न प्रदेशमा भएको अन्तरक्रियासहित तयार मस्यौदालाई बुधबार काउन्सिल र महासङ्घलाई बुझाइएको हो ।

म्यागका निर्देशक बबिता बस्नेतले उक्त मस्यौदा काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेत र महासङ्घ अध्यक्ष विपुल पोखरेललाई हस्तान्तरण गर्नुभयो ।

उक्त मस्यौदामाथि दुवै संस्थाबीच थप छलफल र गृहकार्य गरी कार्यान्वयन तहमा लैजाने काउन्सिलका अध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।

यसअघि काउन्सिलका अध्यक्ष बस्नेत, महासङ्घका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, महासङ्घका पूर्व अध्यक्ष डा. महेन्द्र विष्ट, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष सङ्गीता खड्का, मिडिया एड्भोकेसी ग्रुपका अध्यक्ष अनिता बिन्दु र निर्देशक बबिता बस्नेत रहेको निर्देशिका मस्यौदा समिति गठन भएको भयो ।

समितिको तर्फबाट प्रारम्भिक मस्यौदा तयार भई सातै प्रदेशलाई समेट्ने गरी विराटनगर, जनकपुर, चितवन, पोखरा, बुटवल, सुर्खेत र धनगढीमा छलफल भएको थियो ।

प्रदेशस्तरीय छलफलमा आएका सुझावहरूलाई समेत समेटेर काठमाडौँमा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको प्रमुख आतिथ्यतामा सञ्चार सचिव डा.वैकुण्ठ अर्याल, काउन्सिलका अध्यक्ष, महासङ्घका अध्यक्षसहित सञ्चार गृहका व्यवस्थापन तथा सम्पादकीय प्रमुख र यस क्षेत्रका विज्ञसमेतको सहभागितामा राष्ट्रिय तहको छलफल कार्यक्रम गरिएको थियो ।

यी सबै कार्यक्रम र समितिमा भएको गहन छलफलपश्चात् सञ्चार क्षेत्रका लागि सुरक्षित कार्यस्थल निर्देशिका, २०७९ को अन्तिम मस्यौदा तयार भएको हो ।

प्रस्तावना, सात खण्ड र १७ बुँदा रहेको संलग्न मस्यौदामा परिभाषा, निर्देशिकाको उद्देश्य, निर्देशिकाको क्षेत्र, कार्यस्थलमा हुने हिंसा र दुर्व्यवहार, हिंसा तथा दुर्व्यवहारबाट संरक्षण तथा रोकथाम, तालिमको व्यवस्था, गुनासो सुनुवाई, गुनासो सुनुवाई समिति, गुनासोकर्ताको संरक्षण, गुनासो सुनुवाई सम्बन्धी कार्यविधि, निरीक्षण, अनुगमन तथा कारबाहीलगायतको व्यवस्था रहेको छ ।

प्रतिवेदन बुझाउँदै म्यागका निर्देशक बबिता बस्नेतले कार्यस्थलमा हुने लैङ्गिक हिंसाबारे खुलेर बोल्न र आगामी दिनमा हिंसा रोक्न यो निर्देशिकाले सहयोग पुग्ने विश्वास राख्नुभयो ।

महासङ्घका अध्यक्ष विपुल पोख्रेलले नेपाली पत्रकारिता जगतमा एउटा महत्त्वपूर्ण कामले आकार लिएको भन्दै पत्रकार महासङ्घले यसलाई कार्यान्वयनमा लैजाने सन्दर्भमा आवश्यक समन्वय गर्ने बताउनुभयो ।

मस्यौदा लेखनको संयोजन समेत गर्नुभएका महासङ्घका पूर्व अध्यक्ष डा.महेन्द्र विष्टले म्याग र सोलिडारीटी सेन्टरलाई धन्यवाद दिँदै मिडिया क्षेत्रमा जो कोही पनि कार्यस्थलमा सुरक्षित हुनुपर्छ भन्ने ध्येयका साथ यो निर्देशिका तयार भएको बताउनुभयो ।

काउन्सिल अध्यक्ष बस्नेतले छोटो अवधिमा यति महत्त्वपूर्ण दस्ताबेज तयार हुने रहेछ भन्ने उदाहरण निर्देशिका रहेको भन्दै यसलाई चाँडै अन्तिम रूप दिइने जानकारी दिनुभयो । उहाँले यसको कार्यान्वयनले कार्यस्थलमा हिंसा रोक्ने मात्र नभई मिडियाका कन्टेन्टमै सुधार ल्याउने समेत बताउनुभएको थियो ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement