0Shares

अष्ट्रेलियामा जाने नेपाली विद्यार्थीमध्ये ३० प्रतिशत ‘डिपेण्डेण्ट भिसा’ मा रहेको अनुमान छ । ‘डेपेण्डेण्ट भिसा’ अर्थात विद्यार्थी सपरिवार बसेका छन् । अष्ट्रेलियाको कानुनी परिभाषा अनुसार परिवारभित्र पति, पत्नी र छोराछोरी पर्छन् । अध्ययनमा गएका विवाहित नेपाली पुरुष या महिलाले पाउने अतिरिक्त सुविधा हो ‘डेपेण्डेण्ट भिसा’ । एक वर्षभन्दा बढी समयका निम्ति ब्याचलर डिग्री, ब्याचलर अनर्स, मास्टर्स, मास्टर्स रिसर्च वा पीएचडी गर्न जाने विद्यार्थीले यो सुविधा पाउने गरेका छन् ।

विवाहित पत्नी होस् या पति जो पहिले अष्ट्रेलिया गएको छ या सँगै जान सक्छन् । अथवा पछि विवाह गरेर जान पनि सक्छन् । परिवारका सदस्य मात्रले विद्यार्थीसँगै वा पछि छुट्टै आवेदन दिन सक्छन् । यदि कुनै विद्यार्थी एक वर्षभन्दा लामो समयको कोर्श पढ्न जाँदैछ भने आफ्नो परिवारबाट टाढा रहन नपरोस् भनेर दिइएको सहुलियत भिसा हो यो । भिसा प्रक्रियाको सुरुमै विभिन्न प्रमाणित कागजागतहरू पेस गर्नुपर्ने हुन्छ । जसमा विवाह दर्ता प्रमाणपत्र, जन्मदर्ता, नाता प्रमाणित, विवाहको फोटो, घरजग्गाको आधार, संयुक्त बैंक खाता, विभिन्न चाडबाडसँगै मनाएको भिडियो, सीडी, भीसीडी, फोटो आदि पर्छन् । त्यसैगरी पति र पत्नीबीच हुने सम्बन्धजन्य फोन, इमेल, स्काइप, कुराकानी, विवाह वाषिर्कोत्सवको मिति जस्ता सम्बन्ध कायम रहेको प्रमाणहरू आवश्यक रहन्छ ।

सबै प्रमाण पुर्याएपछि डिपेन्डेन्ट व्यक्तिको भिसा प्रक्रिया सुरु हुन्छ । आफ्नो बालबच्चा रहेमा उसको समेत सबै कागजात रुजु हुनुपर्छ । भिसा शुल्क, स्वास्थ्य परीक्षण प्रमाणपत्र सबै जुटाउनु पर्ने हुन्छ । विद्यार्थीले मास्टर्स या त्योभन्दा माथिको कोर्स पढ्दै गरेको भएमा डिपेण्डेण्ट भिसामा अष्ट्रेलिया गएका परिवारका सदस्यले पूर्णकालीन काम गर्न पाउँछन् । मास्टर्सभन्दा तल्लो तहको अध्ययन गरेको भएमा परिवारका सदस्यले सातामा २० घण्टाको दरले काम गर्न पाउँछन् । यसैगरी विद्यार्थीले सातामा २० घन्टा काम गर्न पाउँछन् । छुट्टीको समयमा पूरै काम गर्न पाउँछन् ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement