40Shares

चितवन । पाँच वर्षअघिको स्थानीय निर्वाचन परिणामलाई तुलना गर्दा चितवनमा एमालेको स्थिति खस्केको देखिएको छ । निर्वाचन आयोगबाट प्राप्त तथ्याँकलाई केलाएर हेर्दा २०७४ सालमा प्राप्त परिणामलाई एमालेले २०७९ को स्थानीय तह निर्वाचनमा आएर जोगाउन सकेन ।
यस निर्वाचनमा पाँच दलीय गठबन्धनसँग मुख्य प्रतिष्पर्धा गर्नुलाई नै चुनौति मानेको एमालेले चितवनको कतिपय ठाउँमा आफ्नै पार्टीको मतसमेत जोगाउन नसक्दा परिणामसमेत ओरालो लागेको हो । यद्दपि समग्र निर्वाचन परिणामलाई हेर्दा यस निर्वाचनमा पनि एमाले चितवनमा पहिलो दल बन्न भने सफल नै भएको छ ।
चितवनका सात स्थानीय तहका तीन प्रमुख, चार उपप्रमुख, ३६ वडाध्यक्ष, ५४ महिला सदस्य, ५१ दलित महिला सदस्य र ९४ खुल्ला सदस्य जितेर नेकपा एमाले पहिलो दल बनेको हो । पालिका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्य गरी कुल ५०४ जनप्रतिनिधिमध्ये एमालेका मात्रै २४२ जना निर्वाचित भएका छन् ।
२०७४ को स्थानीय निर्वाचनमा पनि एमाले चितवनमा पहिलो दल नै थियो । त्यतिबेला चार प्रमुख, पाँच उपप्रमुख, ५६ वडाध्यक्ष, ५८ महिला सदस्य, ५२ दलित महिला सदस्य र ११६ खुल्ला सदस्य जितेर नेकपा एमाले पहिलो दल बनेको हो । पालिका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्य गरी कुल ५०४ जनप्रतिनिधिमध्ये २०७४ मा एमालेका मात्रै २९१ जना जनप्रतिनिधि निर्वाचित भएका थिए ।
चितवनमा सम्पन्न भएका दुई स्थानीय निर्वाचलाई आधार मान्दा २०७४ भन्दा यस वर्ष एमालेका ४९ जना जनप्रतिनिधि कम निर्वाचित भए ।
जिल्लाका ७ वटै पालिकामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाबीच तालमेल भएको थियो । नेकपा एमालेले भरतपुर महानगरपालिका र माडी नगरपालिकामा राप्रपासँग तालमेल गरेको थियो ।
इच्छाकामना मात्रै सफल
चितवनको एकमात्र गाउँपालिका इच्छाकामनामा एमालेले यसपटक अध्यक्ष र उपाध्यक्ष दुवै पद जितेको छ । अघिल्लो निर्वाचनमा एमालेले दुवै पद गुमाएको थियो । इच्छाकामनामा २०७४ मा १४ जनप्रतिनिधि निर्वाचित थिए । अहिले यहाँबाट २८ जनप्रतिनिधि निर्वाचित छन् ।
पूर्वी चितवनमा ठूलो धक्का
२०७४ को निर्वाचनमा पूर्वी चितवन एमालेका लागि गढ थियो । यहाँ रहेका चार पालिकाहरु रत्ननगर, खैरहनी, कालिका र राप्ती नगरपालिकामा प्रमुख, उपप्रमुख दुबै पद एमालेले जितेको थियो । यसपटक भने रत्ननगर र खैरहनीमा प्रमुख पद गुमाएर उपप्रमुख पद मात्रै जित्यो । कालिकामा भने एमालेले आफ्नो साख जोगायो । यहाँ प्रमुख र उपप्रमुख दुबै पदमा विजय हासिल ग¥यो । राप्तीमा भने प्रमुख र उपप्रमुख दुबै गुमायो । एमालेले रत्ननगरका ५, खैरहनीका ७, राप्तीका ८ र कालिकाका ४ वडामा मात्रै वडाध्यक्ष जितेको छ । जबकि २०७४ मा एमालेले रत्ननगरका १०, खैरहनीका ७, राप्तीका ११ र कालिकाका ६ वडा जितेको थियो ।
एमालेले यसपटक पूर्वी चितवनको राप्ती नगरपालिकालाई अझ आफ्नो आधार क्षेत्र मान्दै आएको थियो । तर राप्तीमै एमाले नराम्रोसँग चिप्लियो । एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले पार्टीले जिल्लाका सात पालिकामध्ये जित्ने एक नम्बर सूचीमा राखेको पालिका राप्तीमा भएको हारलाई गम्भीर रुपमा लिएको बताए ।
पूर्व अर्थमन्त्री तथा एमालेका उपाध्यक्षसमेत रहेका सुरेन्द्र पाण्डे, पूर्व प्रदेश मन्त्री दावा दोर्जे लामा, स्थायी कमिटी सदस्य सीता पौडेल, केन्द्रीय सदस्य प्रभा बराल, जिल्ला संगठन विभाग प्रमुख घनश्याम कँडेलको पालिका राप्तीमा एमालेबाट प्रमुख उठेका गोविन्द कँडेल ४७३ मतले पराजित भए ।
राप्ती नगरपालिकाको प्रमुखमा एकीकृत समाजवादीका शम्शेर लामा र उपप्रमुखमा कांग्रेसका देवेन्द्र लामा निर्वाचित भएका हुन् ।
यता, खैरहनी नगरपालिकामा यसअघिका मेयर लालमणि चौधरीलाई नै एमालेले अगाडि सारेको थियो । अघिल्लो कार्यकालमा जिल्लाका ७ पालिकामध्ये खैरहनीलाई चौधरीले उत्कृष्ट पालिका बनाएका थिए । थारू जातिको सघन बसोबाससमेत भएको ठाउँमा चौधरीलाई राम्रो मत नआउँदा उनी कांग्रेसका शशि खनियाँसँग ८५० मतले पछाडि परे ।
रत्ननगरमा एमालेले अघिल्लो कार्यकालमा उपमेयर बनिसकेकी बिमला दुवाडीलाई मेयरमा प्रतिष्पर्धा गराएको थियो । तर उनी नेपाली काँग्रेसका प्रल्हाद सापकोटासँग ८०६८ मतले पछाडि परिन् ।
माडी र महानगर झनै कमजोर
प्रचण्डको क्षेत्र समेत मानिने भरतपुर महानगर र माडी नगरपालिकामा एमाले झनै कमजोर देखिएको छ । यहाँ राप्रपासँग एमालेले चुनावी तालमेल गरेको थियो ।
माडीमा राप्रपासँग तालमेल गरेर एमालेले ताराकाजी महतोलाई मेयरमा निर्वाचित गराउन सफल भयो । तर तालमेल गरेर उपमेयरको उम्मेदवार बनेका राप्रपाका मदन पौडेल भने पराजित भए । यो परिणामलाई राप्रपाले ‘एमालेबाट आफूहरुलाई अन्तर्घात गरेको’ भन्ने अर्थमा लिएको छ । मेयरमा निर्वाचित महतो यसअघि माडीमा उपमेयर थिईन् ।
माडीमा ९ वडा रहेका छन् । २०७४ मा माडीबाट एमालेका २५ जना जनप्रतिनिधि निर्वाचित भएका थिए । अहिले भने १४ जना जनप्रतिनिधि मात्र निर्वाचित भएका छन् । अघिल्लोपटक ५ वडा जितेको एमालेले यसपटक एकवटा वडामा मात्र चित्त बुझाउन परेको छ ।
भरतपुर महानगरलाई यसपटक सबैले चर्चाको केन्द्रविन्दुमा राखे । सबैको ध्यान भरतपुरमै थियो । यहाँ एमालेका विजय सुवेदी ठूलो मतान्तरसहित पराजित भए । सुवेदीको मत माओवादीकी रेणु दाहालको भन्दा १२ हजार ४४६ कम छ । जबकी २०७४ को निर्वाचनमा मेयर पदमा रेणु र देवी ज्ञवालीबीचको मतान्तर जम्मा २०३ थियो ।
भरतपुर महानगरमा एमालेका वडाध्यक्षलाई प्राप्त सबै मत मेयरका उम्मेदवार सुवेदीलाई आएन । यदि वडाध्यक्षको उम्मेदवारलाई प्राप्त सबै मत आउँदा पनि निर्वाचन जित्न गाह्रो हुने तथ्याँकले देखाएको छ । भरतपुरमा एमालेका वडाध्यक्ष उम्मेदवारले प्राप्त गरेको मत जोड्दा ४४ हजार ६०१ हुन आउँछ । जबकि रेणु दाहालले प्राप्त गरेको मत ५२ हजार २८ रहेको छ भने विजय सुवेदीले ३९ हजार ५८२ मत प्राप्त गरेका छन् । नेपाली काँग्रेसबाट बिद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलको मत भने १४ हजार ७२८ रहेको छ ।
नेताकै वडामा पराजित
एमालेले अघिल्लो चुनावको तुलनामा राम्रो नजिता ल्याउन त सकेन नै, त्यसमाथि नेतृत्व तहमा रहेका नेताकै वडामा एमालेले पराजय भोगेको छ । एमालेले यसपटक ‘मेरो वडा म जिताउँछु, हाम्रो पालिका हामी जिताउँछौ’ भन्ने नारा तय गरेको थियो ।
तर, जिल्लाबाट केन्द्रमा प्रतिनिधित्व गर्ने कतिपय केन्द्रीय सदस्यहरूकै वडामा एमाले पराजित बन्न पुग्यो । केन्द्रीय सदस्यहरुकै वडामा एमालेले धक्का खाएको छ ।
चितवनबाट एमालेका केन्द्रीय उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, उपाध्यक्ष सुरेन्द्र पाण्डेसहित १० जना केन्द्रीय सदस्य छन् । एमाले उपाध्यक्ष थापाको वडा भरतपुर महानगरपालिका वडा नं. १० हो । उनको वडामा एमालेका उम्मेदवार भक्ति गौतम कांग्रेसका परमेश्वर खनालसँग ३२७ मतले पराजित बने ।
एमाले चितवनका पूर्व जिल्ला अध्यक्ष एवम् क्षेत्र नं. २ का सांसद कृष्णभक्त पोखरेलको वडा पनि गही हो । यो वडा केन्द्रीय सदस्य शिवकुमारी गोतामेको पनि हो ।
एमालेका स्थायी कमिटी सदस्य काशीनाथ अधिकारीको रत्ननगर नगरपालिका वडा नं. ९, अर्का स्थायी कमिटी सदस्य सीता पौडेल, केन्द्रीय सदस्य प्रभा बराल, जिल्ला संगठन विभाग प्रमुख घनश्याम कँडेलको राप्ती वडा नं. ७, पोलिट्ब्यूरो सदस्य देवी ज्ञवालीको भरतपुर वडा नं. ४, केन्द्रीय सदस्य जगन्नाथ थपलियाको खैरहनी वडा नं. ३ र ८, केन्द्रीय सदस्य पार्वती रावलको भरतपुर–१६ मा एमालेले हार ब्यहोरेको छ ।
एमाले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेको माडी–७ मा पनि एमालेले वडाध्यक्ष हारेको छ । यहाँ समाजवादीले ३५ मतको अग्रतामा चुनाव जितेको छ ।
आन्तरिक समीक्षामा एमाले
चितवनमा दलगत रूपमा हेर्दा एमाले एक्लैले धेरै पालिका प्रमुख÷अध्यक्ष र उपप्रमुख÷उपाध्यक्ष जितेको छ । वडा अध्यक्ष भने धेरै गुमाएको छ । अघिल्लोपटक माओवादीको समेत सहयोगमा जिल्ला समन्वय समिति जितेको एमालेका लागि यसपटक भने चुनौती थपिएको छ । गठबन्धनमा कुनै फेरबदल नआए जिससको निर्वाचनमा गोलाप्रथा हुने पक्का भएको छ ।
पूर्वी चितवनका चारवटै पालिका यसपटक पनि जित्ने बलियो सम्भावना भएर हारेकोमा यो कमजोरीप्रति एमालेले गहिरो समीक्षा गरिरहेको छ ।
जुनसुकै परिस्थितिमा पनि जित्नुपर्ने पालिकामा थोरै मेहनत नपुगेको र केही अन्तर्घात भएका कारण परिणाम सोँचेअनुरुप नआएको एमाले नेताहरुको बुझाइ छ । साथै नेताहरुले आफ्नो वडामा विशेष प्राथमिकता दिएर चुनावी अभियान सञ्चालन नगर्दा समेत परिणाम सोँचेअनुरुप नआएको बताइन्छ ।

40Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement