0Shares

भरतपुर बैशाख २७ –
चितवनको भरतपुर महानगरपालिका २९ मा भइरहेको अवैध पहाड उत्खनन् अझै रोकिन सकेको छैन ।
कविलास, चौकिडाँडा, जुगेडी क्षेत्रमा व्यक्तिको नाममा रहेको र केही सार्वजनिक जग्गाबाट जथाभावी पहाड तथा नदी उत्खनन् गरी ढुँगामाटो निकासा भइरहेको छ ।
भरतपुर महानगरपालिकाकी एक स्थानीय लक्ष्मी श्रेष्ठ रिमालले उक्त क्षेत्रमा रातारात ढुंगामाटो उत्खनन् हुने गरेको बताइन् । उनले भनिन्, ‘आफूहरु बोल्दा उल्टै धम्काउने र थर्काउने गरेको गर्छन् । वडा प्रहरीमा गएरभन्दा पनि झर्केर बोल्छन् । डोजर र टिप्पर रातभर हिँड्छन् । हामी गरिब स्थानीयहरु पहिरोको जोखिममा पर्ने भयौं ।’
गत वर्षदेखि नै भइरहेको उक्त उत्खनन् भरतपुर महानगरपालिकाले नियन्त्रण गर्न नसक्दा अझै रोकिन सकेको छैन । भरतपुर महानगरपालिकाको मौन स्वीकृतिमा उक्त स्थानबाट अवैध उत्खनन् भइरहेको हो । उक्त उत्खनन्लाई रोक्न भरतपुर महानगरपालिकाकी निवर्तमान मेयर रेनु दाहालले पनि कुनै ठोस कदम चाल्न सकिनन् ।
भरतपुर महानगरपालिका र वडा नम्बर २९ ले सो क्षेत्रबाट ढुंगामाटो चोरी भएको बताउँदै आएको छ । भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्दु सुवेदीले रातारात चोरी भएको बताए । उनले एक महिनाअघि अवैध उत्खनन् गर्ने १२ वटा ट्रक र एउटा डोजरलाई नियन्त्रणमा लिएर कारबाही गरेको समेत बताए । प्रहरीलाई पनि कारबाहीका लागि धेरै पटक आग्रह गरिएको उनको भनाइ छ । उनले भने ‘त्यति हुँदाहुँदै पनि राति कतिबेला कहिले चोर्छन् । थाहै हुँदैन । चोरलाई कसै गरे पनि रोक्न नसकिने रहेछ । सकेसम्म रोकिरहेका छौं ।’ उनले प्रहरीका निकायहरुले सक्रियताका साथ ध्यान दिने हो भनेमात्र चोरी नियन्त्रण गर्न सकिने बताए । उनले भने ‘महानगरको टोली जाँदा बाटोमा देखेर तस्करहरुले खबर पु¥याइसक्दा रहेछन् अनि भाग्दा रहेछन् । समात्न पनि गाह्रो छ ।’
यसअघि पनि उनले यस्तै प्रतिक्रिया दिएका थिए । तर चोरी नियन्त्रण हुन सकेको छैन ।
महानगरपालिका चोरी नियन्त्रण गर्नतर्फभन्दा पनि चोरी गर्नेलाई ढाकछोप गरी बरु छिटोभन्दा छिटो उत्खनन्का लागि स्वीकृत पत्र दिनतर्फ लाग्यो । गत माघसम्म महानगरपालिकाले कसैलाई पनि उत्खनन्का लागि स्वीकृति दिएको थिएन । उक्त स्थानमा चोरी भएको र नियन्त्रणमा लिएर कारबाही गर्ने बताएको थियो ।
चोरी नियन्त्रण गर्न नसकेपछि महानगरपालिकाले ‘तस्कर’हरुलाई स्वीकृतका लागि अनुमति दिन सुरु ग¥यो । अहिले तीन स्थानमा अनुमति लिएर उत्खनन् भइरहेको सुवेदीले बताए । तर भरतपुर २९ का दर्जनौं स्थानमा अवैध उत्खनन् भइरहेका छन् । कतै उत्खनन् गरेर पहाड नै निखारिएको छ भने कतै खन्न सुरु गरिएको छ । त्यसरी भएको उत्खनन् चोरी गरिएको र त्यसलाई नियन्त्रण गर्न गाह्रो परेको सुवेदीले प्रतिक्रिया दिए ।
सुवेदीले माटो निकासाका लागि वातावरणीय प्रभाव मूल्याङ्ककन (इआइए) गर्न फाइलहरु महानगरमा आएर बसेको बताए । उत्खनन्का लागि स्वीकृत दिन नमिल्ने भएपछि तस्करहरुले बिना स्वीकृती उत्खनन् गरिरहेका छन् । तर महानगरपालिका मुकदर्शक बनेर बसिरहेको छ ।
उत्खनन्को अनुगमनको जिम्मा पाएको अर्काे निकाय हो, जिल्ला समन्वय समिति । जिसस चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले थाहा पाएको अवस्थामा प्रहरीलाई जानकारी गराएर जरिवाना गराइरहेको बताए । भरतपुर २९ बाट पटकपटक दोहन भएको भएको बताउँदै उनले धेरै पटक कारबाही पनि गरेको बताए । ‘जति कारबाही गरे पनि चोरी नियन्त्रण गर्न सकिएको थिएन’ उनले भने, ‘अहिले झन् चुनावमा सबै व्यस्त भएको मौका छोपेर बढी दोहन गरेको हुन सक्छन् । तपाईंहरुले पनि प्रहरी प्रशासनलाई सोधखोज गरिदिनु परो । हामीले यो निर्वाचनका अनुगमन गर्न सकिएन । त्यहाँका नागरिकले पनि रोकिदिन परो ।’
चोरीमात्र होइन ती स्थानमा नचाहिने ठाउँमा पनि सडक खोलेर अवैध उत्खनन् समेत गरिएको छ । भित्रिसडक पनि राजमार्गभन्दा बढी चौडा बनाएर सडक खनेको बाहनामा महानगरपालिकाले ढुंगामाटो निकासी गराउन सहयोग गर्दै आइरहेको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक (डीएसपी) नरहरी अधिकारीले कुन ठाउँमा स्वीकृत दिएको हो कुन ठाउँमा होइन भन्ने कुरा स्थानीय सरकारले जानकारी गराउनु पर्नेमा त्यसो नभएको बताए । जोसँग स्वीकृती दिने अधिकार छ रोक्ने अधिकार पनि उसैसँग हुन्छ भन्दै उनले महानगरपालिकाले यहाँ अवैध उत्खनन् भएको छ भनेर भनेको खण्डमा आफूहरुले नियन्त्रण गर्न सजिलो हुने बताए । प्रहरीले आफै नियन्त्रणमा लिएका कतिपय टिप्परहरुलाई पछि स्थानीय प्रशासनले स्वीकृतमा खनिरहेका हुन् भन्दै कारबाही नगरी छाडेको बताउँदै उनले प्रहरीको एकल प्रयासले केही नुहुने बताए । तर पनि आफूहरुले आफ्नो तर्फबाट तत्कालै प्रयास थाल्ने बताए ।
भरतपुर महानगरपालिका २९ का निवर्तमान वडाध्यक्ष मनबहादुर मगरले केही स्थानमा स्वीकृत लिएर अन्य स्थानमा पनि अवैध उत्खनन् भइरहेको पाइएको बताए । उनले यसअघि वडाध्यक्ष हुँदा भनेका थिए ‘चोरी नियन्त्रण गर्न कसैले सकेनन् । हामीले जानकारी गराउने महानगरपालिकालाई हो । प्रहरीलाई हो । महानगरले पनि हेर्देन । प्रहरीले पनि वास्ता गर्दैन’ उनले भने ।
चोरी भएको थाहा पाइरहँदा पनि कुनै कदम नचाली बस्ने भरतपुर महानगरपालिका अवैध उत्खनन् नियन्त्रणमा असफल भएको देखिन्छ । उत्खनन् गर्न स्वीकृत दिने अधिकार भएको महानगरपालिकासँग नै अवैध रुपमा भइरहेको उत्खनन् रोक्ने अधिकार हुन्छ । नगर प्रहरीले रोक्न नसके नेपाल प्रहरीको सहयोगमा भए पनि पहाड उत्खनन् गरी गरिएको चोरी निकासी नियन्त्रण गर्नुपर्छ । लामो समयदेखि खुलेआम चोरी हुँदा पनि महानगरपालिकाले कुनै कदम नचाल्नु लज्जास्पद विषय हो ।
महानगरपालिका मौन भएर बस्ने, बरु चोरी भएको ठाउँलाई स्वीकृत दिन तिर लाग्ने कार्यले चोरी कार्यमा महानगरकै संलग्नता भएको पुष्टि हुन्छ । महानगरपालिकाका कर्मचारी र केही पार्टीका कार्यकर्ता अवैध उत्खनन् र निकासीमा वर्षैंदेखि संलग्न भैरहेको स्थानीयहरुले बताएका छन् ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement