0Shares

चितवन । चितवनको व्यस्त बजार नारायणगढमा साँझको समयमा किनमेल गर्न आएकी भरतपुरकी २७ वर्षीया रिना गुरुङलाई बाटो काट्न हम्मे हम्मे पर्यो । साँझ ५ बजेतिर सहिदचोकको मेगा मार्केटमा सामान किनेर चौविसकोठी फर्किनुपर्ने गुरुङलाई बाटो काटेर भरतपुरतर्फ लाग्न १५ मिनेट कुर्नुपर्यो । उनी बाटो कटाइदिनु न ! भनेर अरुलाई भन्न पनि सकेकी छैनन् न त आफु एक्लै पारी तर्न सक्छिन् ।

पूर्व पश्चिम राजमार्गमा पर्ने नारायणगढ बजारमा बेलुकाको समयमा बाहिरी जिल्लामा आवत जावत गर्ने ठूला मालबहाक, यात्रुबहाक सवारी तथा लोकल रिङरोडमा चल्ने सवारीको अत्याधिक चाप छ ।

बेलुकाको समयमा विभिन्न कार्यालयका कर्मचारीहरुको ओहोर–दोहोर, साँझकै समयमा किनमेल गर्न आउनेको चाप उत्तिकै छ । यस्तो अवस्थामा चितवनको मूख्य सहरका मूख्य चोकहरुमा आकाशे पुल नहुँदा पैदल यात्रुलाई बाटो काटुन सकस भएको गुरुङ बताउँछिन् ।

यता, हाकिमचोकमा पनि आकाशे पुल नहुँदा वारपार गर्न असज भएको स्थानीय ५० वर्षीया तारा दास बताउँछिन् । कुनै बेला पनि सहजै बाटो काटेर वारपार गर्न नसकेको बताउँदै उनी भन्छिन् ‘ढिलो भएको बेलामा उभिएर कतिबेला गाडी रोकिएला भनि पर्खनुपर्छ । आकाशे पुल हुने हो भने दैनिक थोरै भए पनि समय बचत हुन्थ्यो ।’ आकाशे पुल हुँदा सरसर बाटो काट्न पाइने र पर्खिएर बस्न नपर्ने हुँदा समयको बचत हुने उनी बताउँछिन् ।

भरतपुर महानगरले गौरवको आयोजनाभित्र रहेर आकाशे पुल बनाउने निर्णय गरेको थियो । तर, पाँच वर्ष बितिसक्दा पनि भरतपुरका व्यस्त सडककमा पुल बनेका छैनन् । नारायणगढ बजार तथा भरतपुरको समग्र ट्राफिक व्यवस्थापनलाई व्यवस्थित गर्नका लागि आकाशे पुलहरु अत्यन्त आवश्यक भएको भन्दै पुलचोक, शहीदचोक, लायन्सचोक, चौबिसकोठी, हाकिम चोक र बसपार्क चोकलगायत स्थानहरुमा यथाशीघ्र ओभरहेड ब्रिज राखी ट्राफिक आवागमनलाई व्यवस्थित गर्न चार वर्षअघि निर्णय भएको थियो । तर अहिलेसम्म पुल बन्न सकेको छैन ।

भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाहले महानगरमा आकाशे पुल बनाउने भनिए पनि अहिलेसम्म काम सुरु हुन् नसकेको बताएकी छन्। उनी भन्छिन् ‘नारायणगढ–गोन्द्राङको ६ लेन सडक विस्तारको कामका कारण पुल निर्माणको काम अघि नसारिएको हो । महानगरमा पुल आवश्यक छ । ६ लेन सडकको काम सकिने बित्तिकै पुल निर्माणको काम सुरु हुनेछ ।’

पुल निर्माण हुन नसक्दा यात्रुहरुमा जोखिम सँगै ट्राफिक जाम समेत बढ्दै गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख धर्म बहादुर अधिकारी बताउँछन् । अधिकारीका अनुसार सडकको विस्तार नहुँदा नहुँदै पनि सडकको क्षमता भन्दा बढी निजी सवारीलाई महानगरले अनुमति दिँदा ट्राफिक व्यस्थापन अस्तव्यस्त बनेको छ ।

अधिकारीले भरतपुरको रिङरोडमध्ये पुलचोक, सहिदचोक, चौबिसकोठी र हाकिमचोकमा आकाशे पुल अत्यावश्यक रहेका बताए । उनी भन्छन् ‘महानगरमा सडकले थेग्न नसक्ने गरी सवारी चाप बढेको छ । पार्किङको व्यवस्था छैन् । आकाशे पुल नभएका कारण यात्रुहरुले जतासुकै बाटो काटिरहेको देखिन्छ । यदी पुल भएको भए ट्राफिक जाम र दुर्घटना केही मात्रामा भए पनि कम हुने थियो ।’ सहरका मुख्य चोकमा आकाशे पुलको व्यवस्था भए ट्राफिक जाम र दुर्घटना पनि केही हदसम्म कम हुने र पैदलयात्रीलाई सहज हुने उनको भनाई छ ।

‘दैनिक जसो सडमा हुने दुर्घटनाका कारण सडक पार गर्न युवा युवतीहरुलाई त यत्रो मुस्किल छ । अझै अशक्त अपाङग र बृद्ध÷बृद्धा तथा बालबालिकालाई कति गाह्रो होला ?’ उनी भन्छिन् ‘सडकमा सवारी चापका कारण पैदल यात्रुलाई बाटो काट्न सकस छ, आकाशे पुल भइदिएको भए जोखिम मोलेर यात्रा गर्नुपर्ने त थिएन् ।’

त्यस्तै समस्यामा परेका छन् बलबहादुर बिक । उनी चौबिसकोठीको एक फार्मेसिमा औषधि किनेर डेरामा फर्किँदै थिए । उनलाई चौबिसकोठीको चोकबाट बाटो काटेर कटहर चोकतर्फ जानुपर्ने थियो । दिउँसो १२ बजे मध्यान्नको चर्को घाममा पसिना चुहाउँदै उनी बाटो काट्न नसकेर सडकमा धेरैबेर उभिइरहेका थिए । उनी भन्छन्, ‘धेरै बेर भयो बाटो काटेर पारी जान सकेको छैन । हतार गरेर जाउँ भने गाडीले ठोक्ला भन्ने डर, गाडी र मोटरसाइकल पनि मनपरीले चलाउँछन् । पुल नबनाएका कारण पैदल हिँड्नेलाई ठूलो समस्या परेको छ ।’

 

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement