0Shares

मोरङको लेटाङमा एक शिक्षकले छात्रामाथि दुर्व्यवहार गरेको विषयमा विवाद बढ्दै गएपछि प्रहरी र स्थानीयबीच झडप हुँदा एक महिला प्रहरी उर्मिला श्रेष्ठको मृत्यु भएको छ ।

झडपमा मोरङका प्रहरी उपरीक्षकसहित एक दर्जन घाइते भएका छन् ।

आक्रोशित स्थानीयको भीडबाट प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

छुरा प्रहारबाट गम्भीर घाइते उर्मिलाको अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको मोरङ प्रहरी प्रमुख जनार्दन जिसीले  पुष्टि गरे ।

‘घाँटीमै छुरा प्रहार भएपछि उहाँ गम्भीर हुनुभएको थियो। अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु हुनपुग्यो। यसबारे हामी अनुसन्धान गर्दैछौं,’ उनले भने, ‘मृतकको शव अहिले कोशी अस्पतालमा राखिएको छ ।’

आफ्नै छात्रालाई निरन्तर दुर्व्यवहार गर्ने शिक्षकलाई प्रहरीले बिना कारवाही बचाउन लागेको भन्दै आक्रोशित शिक्षा विकास माविका विद्यार्थी र स्थानीयबासीले प्रहरीसँग आरोपित शिक्षक आफूहरुलाई जिम्मा लगाउन माग गरेका थिए ।

‘हामी यो मान्छेलाई जुत्ताको माला लगाएर लेटाङ बजार घुमाउँछौं, मोसो दल्छौं अनि तपाईंहरूले लानुहोला भन्ने गाउँलेको माग थियो,’ मोरङ प्रहरीका एक अधिकारीले दिनभरिको घटना सुनाउँदै सेतोपाटीसँग भने, ‘हामीले त्यसो गर्न हुँदैन, मिल्दैन भन्यौं । गाउँलेले हाम्रो र जनप्रतिनिधि कसैको कुरा सुन्न मानेनन्।’

प्रहरीले नियन्त्रणमा लिएको व्यक्ति खोस्ने प्रयास बारम्बार भएको र आफूहरूले त्यसो गर्न नदिएको प्रहरी भनाइ छ ।

‘हामीले बल प्रयोग नगरेकै हो,’ घटनास्थलमा खटिएका एक प्रहरीले भनेऽ ‘दिउँसो एक बजेदेखि साँझसम्म हामीलाई गाउँलेले रोके। तैपनि हामीले सम्झाउने प्रयास गरिरह्यौं। तर, अन्त्यमा हामीमाथि आक्रमण भयो ।’

प्रदेश १ प्रहरी कार्यालयका प्रवक्ता नवीन राईले सेतोपाटीलाई दिएको जानकारी अनुसार घटनामा कम्तीमा नौ जना प्रहरी र केही स्थानीय घाइते छन् ।

‘को–को घाइते भए भन्ने नाम संकलन हुँदैछ, घाइतेलाई उपचारका लागि विराटनगर ल्याउने क्रम जारी छ,’ उनले भने, ‘तर, को को घाइते भए भन्ने यकिन भइसकेको छैन ।’

प्रहरीले घाइते भएका सर्वसाधारणको संख्याबारे केही थाहा नभएको जनाएको छ। प्रहरीले झडपका क्रममा हवाई फायरसमेत गरेको स्थानीयबासी बताउँछन्। प्रहरीले भने घटनामा प्रहरी घाइते भएपछि भीड तितरवितर भएकाले घाइते गाउँलेबारे केही थाहा नभएको जनाएको छ ।

प्रदेश प्रहरी प्रवक्ता राईका अनुसार अहिले घटनास्थलमा प्रहरी परिचालित छ। घटनास्थलको अवस्था समान्य बनेको छ ।

के हो घटना ?

प्रहरी स्रोतका अनुसार चैत ४ अर्थात तराईको होलीका दिन ती शिक्षक छात्राको घरमा पुगेका थिए। घरमा पुग्ने बित्तिकै उनले विद्यार्थीसँग पानी मागेका थिए। पानी ल्याएर दिने क्रममा ती शिक्षकले आफूमाथि दुर्व्यवहार गरेको छात्राले बताएकी छन् ।

‘गएको तिहारदेखि यता उहाँ पटक–पटक हाम्रो घरमा आउने, मसँग पानी माग्ने र दुर्व्यवहार गर्नुहुन्थ्यो,’ छात्राको भनाइ उद्धृत गर्दै वडाध्यक्ष मगरले सेतोपाटीसँग भने, ‘ती नानीले यसो भनेपछि हामीले प्रहरी बोलाएका हौं। प्रहरीले लगेर छानबिन गरोस् भन्ने थियो। तर, स्थानीय र विद्यार्थीलाई प्रहरीले आरोपित बचाउन लागेको भन्ने सोच्नुभयो। फलतः झडपको अवस्था आयो ।’

दिउँसो आक्रोशित विद्यार्थी र स्थानीयबासीले शिक्षक र स्थानीय जनप्रतिनिधिलाई कोठामै थुनेर प्रदर्शन गर्दै आगजनीको प्रयास गरेपछि स्थिति तनावग्रस्त बनेको प्रहरीले जनाएको छ ।

विद्यालयको अवस्था तनावग्रस्त बनेपछि पुगेको प्रहरी टोली र प्रदर्शनकारीबीच झडप हुँदा केही प्रहरी र प्रदर्शनकारी घाइते भएका छन्। प्रहरीले थुनिएकालाई उद्धार गरी सुरक्षित स्थानमा लगेको र स्थिति समान्य अवस्थामा आएको जनाएको छ ।

प्रदर्शनकारीहरुले प्रदर्शनका क्रममा आरोपित शिक्षकको मोटरसाइकल जलाइदिएका छन् ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement