0Shares

चितवन,मंसिर ९-

नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनलाई मध्यनजर गर्दै नारायणगढ–बुटवल सडक हुँदै गुड्ने ठूला सवारीसाधनमा रोक लगाइएको छ । दाउन्ने सडकको अवस्थाका कारण मालबाहक ट्रक, टिपर र अन्य खाली ट्रकलाई पूर्ण रुपमा रोक लगाइएको हो ।

निर्माणाधीन यो सडक अहिले खाल्डाखुल्डी बेहाल छ । दाउन्नेमा हुने जामलाई मध्यनजर गर्दै पूर्वी र पश्चिम नवलपरासी जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको बुधवार अबेर नवलपुरमा सम्पन्न बैठकले बिहीवार साँझ ६ बजेदेखि शुक्रवार राति १२ बजेसम्मका लागि ठूला सवारीसाधनको आवागमनमा रोक लगाइएको हो ।

दाउन्ने सडकको जामलाई लक्षित गर्दै सवारीसाधनमा रोक लगाइएको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बताए । साँघुरो र उकालोरओरालो सडक रहेको दाउन्नेमा मालबाहक सवारीसाधनका कारण दिनहुँ जाम हुने गरेको छ । महाधिवेशनमा आउने सवारीसाधनको संख्या बढी हुने र त्यसको सहजताका लागि सवारीसाधनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी मिश्रले बताए ।

जाम भइहालेमा तत्काल बाटो खुलाउन क्रेनको व्यवस्था गरिएको छ । लुम्बिनी, कर्णाली र सुदुरपश्चिम हुँदै आउने मानिस दाउन्ने सडक हुँदै जानुपर्ने हुन्छ । लुम्बिनी प्रदेशबाट मात्रै ८० हजार कार्यकर्ताहरु महाधिवेशन उद्घाटन कार्यक्रममा सहभागी हुने गरी व्यवस्था मिलाइएको एमाले लुम्बिनी प्रदेश कमिटीका सचिव भूमिश्वर ढकालले जानकारी दिए ।

बुटवल हुँदै काठमाडौं जाने यात्रुबाहक बससमेत पोखरा हुँदै आवतजावत गर्ने गरी व्यवस्था मिलाइएको छ ।’ प्रमुख जिल्ला अधिकारी मिश्रले भने। अन्य निजी गाडीहरुलाई पनि पोखरा हुँदै आवतजावतको व्यवस्था मिलाउन लुम्बिनी प्रदेश ट्राफिक कार्यालयसँग समन्वय गरिएको उनले जानकारी दिए ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement