0Shares

विभिन्न किसिमका चुनौतीहरु पार गर्दै सफल महिला प्रहरीको छवि बनाउन सक्षम प्रहरी अधिकारी हुन्, एसपी गंगा पन्त । उनी आफ्नो कामको हिसाबले अगाडि देखापरेकी सशक्त प्रहरी अधिकारी हुन् । हाल यूएन मिसनअन्तर्गत हाइटीमा खटिएकी एसपी पन्त नेपालमा रहँदा डीएसपीको रुपमा पर्वत जिल्लामा आफ्नो एक वर्षे कार्यकाल सफलताका साथ पूरा गरेकी थिइन् । २०५६ सालमा नेपाल प्रहरीमा इन्सपेक्टरका रुपमा प्रवेश गरेकी गंगा गत वर्ष एसपीमा बढुवा भएकी थिइन् ।

उनले जागिरको सिलसिलामा २०६० तिर अपराध महाशाखा, २०६३/६४ मा तत्कालीन गौशाला प्रहरी प्रभागको प्रमुख, २०६९ बालाजु वृत्तको इञ्चार्जको कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकी थिइन् । प्रहरीमा जागिर खानुअघि कृषि परिषद् र फाइनान्समा काम गरेको अनुभव उनीसँग थियो । प्रहरी हुने रहर नभए पनि सरकारी जागिर खाने लहडमा प्रहरी निरीक्षकबाट सेवामा प्रवेश गरेको उनले बताइन् ।

उनी २०६० मा न्युरोडस्थित विशाल बजारभित्र रहेको राष्ट्रिय वाणिज्य बैंक चोरी काण्ड सुल्झाउन सफल भएकी थिइन् । त्यसताका सुरक्षा गार्डको मिलोमतोमा बैंकबाट दुई करोड चोरी भएको थियो । उक्त काण्डमा अनुसन्धान अधिकृत तोकिएकी पन्तले सो काण्ड आफ्नै कमाण्डमा सुल्झाएकी थिइन् । अपराध महाशाखाको अनुभवसँगै २०६२/६३ मा गौशाला प्रहरी प्रभाग (हाल वृत्त) मा उनको पोस्टिङ भयो । यो उनको पहिलो इञ्चार्ज पोस्टिङ थियो । आफ्नो एक वर्षीय कार्यकाल गौशालामा सफलताका साथ पूरा गरेपछि महिला प्रहरी अधिकृतले पनि काम गर्न सक्ने रहेछन् भन्ने सन्देश दिन सफल भएकी थिइन् । गौशालामा बस्दा पहिलो संविधानसभाको चुनाव गराउनुको साथै, त्यस क्षेत्रमा हुने चोरी, लुटपाट र पाकेटमारकोे बिगबिगीलाई नियन्त्रण गर्न उनले कुनै कसर बाँकी नराखेको स्थानीय व्यवसायी बताउँछन् । त्यस्तै बालाजु वृत्तमा चेलिबेटी बेचबिखन, चोरी लुटपाट, वेश्यावृत्ति निर्मूल पार्न आम समुदायसँग निकट भएर उनले काम गरेकी थिइन् ।

पर्वत पुगेकी पन्त जिल्लामा मात्र नभई क्षेत्रमै उत्कृष्ट प्रहरी अधिकृतको रुपमा आफूलाई परिचत गराउन सक्षम भइन् । पन्तले विभिन्न खाले महिला हिंसा, घरेलु हिंसा सामाजिक कुरीति, अपराध नियन्त्रण, समाज र राष्ट्रविरुद्धका गतिविधि लगायतका क्रियाकलापलाई निस्तेज पार्न दिनरात कटिबद्ध भएको भन्दै उनको कामको मूल्यांकन भयो । महिला भएकै कारण संगठनले दिएको जिम्मेवारी पूरा गर्न असमर्थ भइन्छ कि भन्ने चौतर्फी आशंकालाई उनले चिरेर देखाइन् । Source: Hamro Police

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement