0Shares

काठमाडौं । पत्रकार प्रकाश ढकालको शव धादिङको कृष्णभीरमा भेटिएको छ । उनी गत शुक्रबारदेखि सम्पर्कविहीन थिए ।

लोकदोहोरी प्रतिष्ठानका अध्यक्ष गीता थापा, प्रहरी र पत्रकारसहितको टोलीले आज कृष्णभीरको मुनि खोल्सामा अड्किरहेको अवस्थामा शव फेला पारेको हो । त्रिशुली नदीमा र्‍याफ्टिङ गरिरहेका एक व्यक्तिले उनको टाढाबाट देखेर प्रहरीलाई सूचना दिएका थिए । त्यसपछि प्रहरीसहितको टोली घटना स्थल पुगेको हो ।

घटनास्थलमा रहेका पत्रकार कमल सरगमले शवको एउटा आँखा नभएको र टाउको क्षतविक्षत रहेको बताए । शरीरमा सामान्य चोटपटक छ । उनको मोबाइल भने सुरक्षित भेटिएको उनले जानकारी दिए ।
‘शवको अवस्था हेर्दा घटना शंकास्पद देखिन्छ,’ पत्रकार सरगमले भने ।

आज शवलाई पोस्टमार्टमका लागि काठमाडौं ल्याइँदै छ । परिवारका सदस्य शंका लागेका व्यक्तिविरुद्ध उजुरी दिने तयारी गरेका छन् ।

पत्रकार ढकाल तिहारको बिदामा स्याङ्जाको चापाकोटस्थित आफ्नो घर गएका थिए । भाइटीका मनाएर बिहीबार उनी घरबाट हिँडेका थिए । तर, शुक्रबार १ बजेदेखि उनी सम्पर्कविहीन भए । त्यसपछि उनको खोजबिन सुरु भएको थियो ।

लोकदोहोरी प्रतिष्ठान यूएई शाखाको पूर्वसहसचिव हुन् । उनी वैदेशिक रोजगारीका लागि दुबईमा छँदा सो जिम्मेवारीमा थिए । उनले करिब दुई दर्जन गीतमा अभिनय पनि गरेका छन् ।

ढकालको दुई वर्षअघि श्रीमतीसँग पारपाचुके भएको थियो । उनीहरूका दुई सन्तान छन् । सन्तान आमासँग बस्दै आएका थिए । पारिवारिक कारणले ढकाल केही मानसिक तनावमा पनि थिए ।

उनी विगत सात वर्षदेखि लालीगुराँस डट कममा मनोरञ्जन संवाददाताका रुपमा कार्यरत रहेका थिए ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement