कल्याणीको कर्म
व्यक्तिको मानसिकता उसको व्यक्तित्वमार्फत झल्कन्छ । सुन्दर मन नै आजको सफलताको कडी । मनले आँटेका सबै कुरा पुरा गरी छाड््नैपर्ने वानी । कुनै पनि कुरालाई असम्भव नदेख्ने आँट र जीवनको विकासमा दत्तचित्त भएर लाग्ने मनस्थिति । त्यही मनस्थिति नै उनको भविष्यको आधारशिला बन्यो । सफलता आकाशबाट झर्ने कुरा होइन । भाग्य धर्ती चिरेर बाहिर आउँदैन । सफलता त्यसले प्राप्त गर्छ, जसलाई भाग्यले साथ दिन्छ । भाग्यले त्यसलाई साथ दिन्छ, जो भाग्य प्राप्तिका लागि सधै परिश्रम गर्छ । पचासौँ वसन्त पार गर्दै गर्दा टेलिसृडखलाका किस्सा जस्तो बनिदियो, कल्याणी मिश्र (त्रिपाठी) को जीवन ।
आमा ४० वर्ष उमेरको हुँदा कल्याणी मिश्रको जन्म भयो । तीन दाजु, तीन दिदी पछि सातौ सन्तानको रुपमा उनको जन्म भएको थियो । वि.स. २०२३ सालमा लम्जुङ्गको सुन्दर बजारमा स्वर्गीय बुबा गोपालप्रसाद त्रिपाठी र स्वर्गीय आमा भद्रकुमारी त्रिपाठीको कोखबाट उनको जन्म भएको हो । सामान्य किसान परिवारमा जन्म लिएर अहिले कृषि तथा वन विश्वविद्यालय रामपुरको वागवानी विषयकी सह प्राध्यापक हुन सफल महिला हुन, कल्याणी मिश्र त्रिपाटी । दाईहरुको हात समाउँदै र रमाउँदै घर नजिकैको विद्यालयबाट प्राथमिक शिक्षा उनले प्राप्त गरिन् । महिनावारी भएपछि छोरीले पढ्नुहुँदैन भन्ने मान्यताले गाजेको समाजमा आठ कक्षा पढ्दै गर्दा उनलाई विवाहको प्रस्ताव आउन थाल्यो । उमेर भर्खर १४ वर्ष पार गरेकी कल्याणीका दिदीहरुको विवाह भैसकेको थियो भने सहपाठी साथीहरु पनि महिनावारी भएसँगै एक पछि अर्को गदै विवाह बन्धनमा वाँधिदै गएका थिए । सानैबाट निकै सुन्दर र पढाईमा तेज कल्याणी भने धेरै पढेर केही गर्नुपर्छ भन्ने सोँच सानैबाट मनमा पलाएको बताउँछिन् । बाल्यकालका रमाईलो क्षण सम्झदै कल्याणी भन्छिन् “सात जनाका लागि आमाले खाजा बनाएर अगेनाको छेउमा राखिदिनुहुन्थ्यो । विद्यालयबाट छिटो छिटो आएर सबैको भागमा रहेको खाजा थोरै थोरै झिकेर अर्काे कचौरमा राखेर आठ ओटा बनाउथे । सबैले आ–आफ्नो भाग लिएर गएपछि बाँकि रहेको एक भाग भोलि बिहानका लागि लुकाएर राख्थेँ । म सानैदेखि आज र भोलिका लागि पनि सोँच्ने गर्थेँ ।”
आफ्नै खुट्टामा उभिएर समाजका लागि केही गर्नुपर्छ भन्ने मान्यता राख्ने कल्याणीले आफ्नै बुबालाई धेरैपटक फकाउनु प¥यो । छोरीलाई पढाउनुपर्छ भन्ने सोँच बुबामा भएपनि त्यो समयको समाजसँग लड्न बुबालाई धेरै गाह्रो भयो । बुबा, छोरीको जिद्धीसँग हार्न सक्नुहुन्नथ्यो र जित्न पनि सहज थिएन । अन्नतः छोरीलाई पढाउनु पर्छ भन्ने बुबाको सोँचले जित्यो । एसएलसी पास भएसँगै घर नजिकैको सुन्दर बजारमा रहेको कृषि क्याम्पसमा उनले आईएस्सी पढ्ने भईन । आईएस्सी पास गरेको क्षण बुबासँग खुसी साट्नका लागि बुबा छेउ जाँदा बुबाले बाहिर जाँदा लगाउने लुगा लगाएको देखिन् । बुवाले खुसीसंग आईएसी पास गरेको क्षण सुनेसंगैे अब छोरीको इच्छा विपरित विवाहको प्रस्ताव नल्याउने बताए । त्यसपछि उनले आफ्नो पढाईलाई निरन्तरता दिईन् । एक वर्ष सुन्दर बजारमा पढेसँंगै दोस्रो वर्ष रामपुरमा पढ्नका लागि आउँदा आमाको मृत्यु भयो । जीवनमा आमाको काख गुमाएसँगै दाईहरुको संरक्षकत्वमा उनको पढाई अगाडी बढ्दै जान थाल्यो ।
विएस्सी अन्तिम वर्षको परिक्षा दिएपछि उनलाई आफ्ना प्रेमीले विवाह प्रस्ताव राखे । कल्याणी चितवनमा बस्थिन् । प्रेमी थिए लम्जुङ्गमा । उनीहरु बिचमा खासै राम्रोसँग बोलचाल र भेटघाट हुन नपाए पनि दुवै जनाले एक अर्कालाई जीवन साथी बनाउने निधो गरे । कल्यणी रामपुरमा नै भएको समयमा उनका प्रेमीले कल्याणीको दाई र बुबासँग प्रस्ताव राखेर टिका टालो लगाए । साथीहरु माझमा विवाह गर्न लागेको बताएसँगै धेरै साथीहरुले विवाह नगर्न आग्रह गरे । सबै साथीहरुले अहिले विवाहको समय होईन भनेर भनेपछि उनको मन द्विुविधामा प¥यो । मनमा कुरा खेलाउँदै विवाह नगर्ने निर्णय सुनाउनका लागि लम्जुङ्ग जादै गर्दा डुमे्रमा उनको भेट केटा पक्षका आफन्तसँग भयो । विवाहको कपडा किन्न आएका वर पक्षकालाई उनले आफ्नो निर्णय सुनाईन । तर, विवाहको अन्तिम तयारी भैसकेकाले उनको विवाह भयो । लम्जुङ्ग क्याम्पसमा पढाउने श्रीमानको साथमा रमाईला केही क्षण बिताएसँगै उनी कामको सिलसिलामा विभिन्न जिल्लाहरुमा जान थालिन् । सो समयमा उनले लम्जुङ्ग, नुवाकोटमा रहेर ओरेकमा काम गरिन् । विवाह गरेको तीन वर्षमा छोराको जन्म भयो । छोरा जन्मिएको सात आठ महिनापछि सयपत्री वोडिङ्ग स्कुलमा उनले पढाउन थालिन् ।
दुवै शिक्षण पेसामा आवद्ध भएकाले हरेक सुख दुख साटासाट गरी सुन्दर भविष्यको कल्पनामा दुवैको जीवन सहज तरिकाले बितिरहेको थियो । दुबै जनाले देखेको सपना साकार पार्न आ–आफ्नै काममा दत्तचित्त भएर लागे । सोही क्रममा श्रीमान एमएस्सी पढ्नका लागि नेदरल्याण्ड जाने भए । छोरा मात्र एघार महिनाको थियो । सोही क्रममा काठमाण्डौँबाट चितवन आउँदै गर्दा धादिङ्गमा सडक दुर्घटनामा परेर श्रीमानको मृत्यु भयो । विवाह गरेको मात्र चार वर्ष भएको थियो । उनको जीवनले नसोचेको क्षती व्यहोनु प¥यो । घरको एक्लो छोरा वित्दा आमा बुबालाई अर्को बज्रपात भएको थियो भने कल्याणीको सपनाहरु चकनाचुर भएका थिए । ससुरा बुबाले श्रीमानको काममा हुँदा नै छोराले छोडेर गएपनी ‘तिमी नजाउ है’ भन्दै रोएको देख्दा उनी विक्षिप्त हुन्थिन् । ११ महिनाको काखे छोरालाई काखमा च्यापेर रुँदारुँदै कयौ रात बिते, दिन बिते । भने जीवनमा खुसीका रङहरु सबै उडेर गए ।
२०५१ सालमा श्रीमानको मृत्युपछि २०५८ सालसम्म खासै सिर्जनशिल काम गर्न नसकेकी उनले त्यो समयमा अनेकौँ सामाजिक पिडाहरु भने सहनु प¥यो । सेतो कपडामा अनेकौँ दाग लगाउनेहरुको सामना उनले सो समयमा गर्नुप¥यो । छोरालाई लिएर कतै हिँड्दै गर्दा ‘कठैबरा’ भन्नेदेखि चप्पल पसलमा रातो चप्पल हातमा लिदा ‘तपाईले यो लिनु हुँदैन’ भनेर चप्पल खोस्न आउने पसलेसम्मको सामना उनले गदै गईन् ।
हरेक आमालाई आफ्ना सन्तानले बाँधिदिन्छन् । रोएर कराएर मात्र केही नहुने रहेछ भन्ने साँेच मनमा पलासँगै दुवै मिलेर देखेका सुन्दर सपनाहरु पुरा गर्न उनी लागि परिन् । आफैले आफैलाई सम्हाल्दै छोराको सुन्दर भविष्यका लागि दौडन सुरु गरिन् ।
पञ्चरत्न फिड्सको डिलर लम्जुङ्गमा चलाएर चल्ला, दाना बेच्ने काम गरिन् भने सुन्दर बजार कृषि क्याम्पसमा पढाउन सुरु गरिन् । बस्दै आएको घरलाई भत्काएर नयाँ बनाईन् । आफूले देखेका हरेक सपना पुरा गरेरै छाड्ने स्वाभावकी कल्याणीले जीवनका हरेक मोडमा संघर्ष गर्नुप¥यो । २०५७ मा इजरायल र २०५८ मा बेलाएत गएपछि उनले कोही पनि विधवा, गरीव र कसैले नराम्रो लगाएको नदेखेपछि आँफूमा आत्मविश्वास पलाएको बताउछिन् । सोही समयमा उनी एमएस्सी रामपुर क्याम्पसमा पढ्दै थिईन् । त्यति बेला नै विभिन्न संघ–संस्थामा आवद्ध हुने अवसर उनलाई मिल्यो । पढ्दै गर्दा काजमा रामपुरमा नै पढाउन सुरु गरिन् तर राजनीतिक कारणले उनलाई सुन्दर बजार नै पठाई दियो । छ महिनासम्मको एक्लो लडाई लडेपछि र अहिलेसम्म उनी रामपुर क्याम्पसमा नै अध्यापन गराउँदै आएकी छन् ।
पढ्ने र पढाउने दैनिकीसँगै उनले दुई विगाह क्षेत्रफलमा फूल खेती गरिन् । फूल व्यवसायिक हुनेवित्तिकै उनको चिनजान उद्योगी साथीहरुसँग हुन थाल्यो । महिला उद्यमी बाट चिनिन थालेसँगै उनी एफएनसियसआई को सदस्य भईन् । श्रीमान् गुमाउँदा बिचरा, कठैबरा, अलवा शब्दले उनलाई घोँचेको थियो । अब महिलाहरुका लागि पनि केही गर्नु पर्छ भन्ने सोँच उनको मनमा पलायो । त्यही सोँचका साथ उनले दिदी बहिनी सहकारी सञ्चालनमा ल्याईन् । २८ जनाबाट उनले सुरु गरेको सहकारीमा पाँच सय जना सदस्य भए । .(हाल दिदी बहिनी प्रभात महिला तथा ऋण सहकारीमा मर्च भएर प्रभात दिदी बहिनी तथा ऋण सहकारी भएको छ ।ं)
आफ्नो बाल्यकाल र युवावस्था सङ्घर्षमा नै बितेको महसुस गर्ने उनी आफ्नै अस्तित्व खोज्ने महिलालाई सङ्घर्षबाटै जीवन सुरु हुने बताउँछिन् । कल्याणी हाल नेपाल प्रगतिशील प्राध्यापक संगठनको केन्द्रीय उपाध्यक्ष, एफएनसिएसआई को केन्द्रीय सदस्य, प्रभात दिदी बहिनी बचत तथा ऋण सहकारी संस्थाको सल्लाहकार, आरआरएनको सचिव, फ्रि प्याडको सदस्य, एभरेष्ट भरमिटेक सेन्टर नेपालको डाईरेक्टर, सिस्टर एग्री फ्लोरा ईन्टरप्राईजेजको प्रोपाईटर र रामपुर क्याम्पसको वागवानी विषयको सह प्राध्यपक र नेपाल पोलिटेक्निक कलेज भरतपुरको भिजिटर प्रोफेसर भएर काम गरिरहेकी छन् ।
भारत, चाईना, अष्ट्रेलिया, कम्वोडिया, थाईल्याण्ड, तान्जेनिया, बेलायत, इजरायलको भ्रमण गरिसकेकी कल्याणी सबैको प्रिय पात्र भएकै कारण आज यो स्थानसम्म आउन सफल भएकी छन् । रामपुर क्याम्पसमा अध्ययनकै सिलसिलामा छात्रवृत्तिमा पिचडी गर्ने अवसर उनलाई मिल्यो । उनले questland university australia (क्वेष्टल्याण्ड युनिभर्सिटी अष्टे«लिया) र आईएएएस को संयुक्त परियोजना अन्र्तगतको Bio west management मा पिएचडि गरेकी छन् । पिचडी अध्ययनकै सिलसिलामा गड्यौला पालन सुरु गरेकी उनले त्यसलाई व्यवसायीक बनाएर अगाडी बढिरहेकी छन् । जसले फोहरलाई मोहरमा परिणत गर्न सहज बनाएको छ ।
हरेक दिन आउने कठिनाईलाई सहजै स्वीकार गरी दह्रो आत्मबलका साथ अगाडी बढ्ने उनी सँस्कार, प्रथा, परम्परा र समाजले गर्ने व्यवहारमा अहिले आकाश पातालको फरक देख्छिन् । छोँटो समयमा नै सामाजिक संरचनाले धेरै फड्को मारेको उनको अनुभव छ । उनी भन्छिन् –‘बिस वर्ष अगाडि रातो लगाउन नदिने मेरो सासु आमा अहिले होलीमा सबैभन्दा पहिले रातो अबिर लिएर मलाई लगाउन आउनुहुन्छ । सानैदेखि केहि गरौँ र गर्नुपर्छ भन्ने हक्की स्वभावकी कल्याणीले जीवनमा थुप्रै संघर्षका सिँढीहरु पार गदै आज सफल जीवनयापन गरिरहेकी छन् । अभावलाई नै सृजनाको मूल ठान्ने कल्याणीबाट हामीले पनि केही सिक्नेकी ।


















