0Shares

माडी (चितवन), ८ वैशाख । चितवनको माडी नगरपालिकामो अयोध्याधाममा भव्य समारोहबीच राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति प्रतिस्थापन गरिएको छ । अयोध्याधाम व्यवस्थाापन समितिले आज आयोजना गरेको कार्यक्रममा धार्मिक गुरुहरु, जनप्रतिनिधि र स्थानीयको उपस्थितिमा त्यहाँ निर्माण गरिएको मन्दिरमा मूर्ति प्रतिस्थापन गरिएको हो ।

हिजो बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष पूजा गरी हस्तान्तरण गर्नुभएका मूर्तिहरु आज अयोध्याधाम पु¥याई त्यहाँ निर्माण गरिएको मन्दिरमा प्रतिस्थापन गरिएको हो । सो अवसरमा प्रदेश नं. ३ का प्रमुख विष्णु प्रसाई, प्रदेश नं. २ का प्रमुख राजेश अहिराज, पर्यटन, संस्कृति तथा नागरिक उड्यन मन्त्री भानुभक्त ढकाल, बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल लगायतको उपस्थिति थियो ।

बाजागाजा र भजन कीर्तन सहित मूर्ति प्रतिस्थापन गरिएको थियो । सो अवसरमा पण्डित सुदर्शन सुवेदीले विशेष पूजा गराउनु भएको थियो । यस अघि मूर्तिसहितको शोभायात्रालाई माडीका स्थानीयले सडकका ठाउँठाउँमा स्वागतद्वार र घडा सजाएर स्वागत गरेका थिए भने विभिन्न चोकचोकमा भजन कीर्तन गरेका थिए । गाडीमा ल्याईएका मूर्तिहरुलाई क्रेनको सहायताले मन्दिरमा राखिएको हो ।

कार्यक्रममा बोल्दै मन्त्री ढकालले धार्मिक पर्यटनका लागि यो कार्य महत्वपूर्ण सावित हुने बताउनुभयो । उहाँले राम नेपालकै पुत्र भएको बताउँदै भन्नुभयो “धर्मशास्त्रमा पवित्र तीर्थस्थल देवघाटमा रामले स्नान गरेको उल्लेख छ ।” राजनीतिक आग्रह पूर्वाग्रहले नभई धर्मशास्त्रमा तथ्यले पुष्टि गरेका कारण राम माडीको अयोध्यापुरीमा नै जन्मिएको उहाँको दावी थियो ।

सो अवसरमा बागमती प्रदेशका मुख्यमन्त्री पौडेलले माडीलाई मणी बनाउन केन्द्र र प्रदेश सरकार लागिपरेको बताउनुभयो । उहाँले यस क्षेत्रको विकासका लागि कोही बाधक बन्न नहुने बताँउँदै भन्नुभयो “पर्यटन प्रबद्र्धनमा यो कार्यले महत्वपूर्ण भूमिका खेल्ने छ ।”

अयोध्याधाम व्यवस्थापन समितिका संयोजक तीर्थ भुषालको अध्यक्षतामा भएको कार्यक्रममा माडी नगरपालिकाका प्रमुख ठाकुर ढकाल, अयोध्याधाम अनुसन्धानकर्ता लोकमणि पौडेल, माडी नगरपालिकाका उपप्रमुख ताराकाजी महतोलगायतले बोल्नु भएको थियो ।

मंगलबार साँझ देवघाट आईपुगेको सो शोभायात्रा आज बिहान संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री ढकाल, गलेश्वर आश्रमका पिठाधीश महामण्डलेश्वर आत्मानन्द गिरि जि महाराज, देवघाट क्षेत्र विकास समितिका पदाधिकारीहरु सहितको उपस्थितिमा स्वस्थी वाचन सहित बिदाई गरिएको थियो । विहान देवघाट संगम स्थलको पबित्र जलले जलाभिषेकसँगै मूर्तीहरुलाई देवघाटबाट बिदाइ गरिएको हो ।

गत असार २९ गते प्रधानमन्त्री केपी शर्मा ओलीले रामको जन्म माडीको अयोध्यापुरीमा भएको भन्ने अभिव्यक्ति दिएपछि त्यहाँ राम मन्दिर स्थापना गर्ने प्रकृया शुरू भएको थियो । प्रधानमन्त्री ओलीको निर्देशनमा तीन महिना अगाडि नै बालुवाटारमा राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति निर्माण गरिएको थियो । मूर्तिलाई मंगलबार पशुपतिनाथ मन्दिरको परिसरमा रहेको राम मन्दिरमा लगेर स्वस्ति वाचन र मन्त्र उच्चारणसहित पूजा गरेर ल्याईएको हो ।

माडीमा अयोध्याधाम निर्माण हुने भएपछि स्थानीयहरु उत्साहित भएका छन् । उक्त क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भईसकेको छ । करिब पाँच अर्ब रुपैयाँ लागतमा विभिन्न मठ मन्दिर, आश्रिम तथा विभिन्न संरचनाहरु निर्माण गर्ने योजना रहेको छ । मुख्य मन्दिर निर्माण सम्पन्न भएपछि अहिले राखिएको मन्दिरबाट ती मूर्तिहरुलाई मुख्य मन्दिरमा सारिने योजना रहेको छ ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement