कोदोको प्रवद्र्धन गदै त्रिपुरेश्वर सहकारी, खाली जमिनमा कोदो रोप्दै
शान्ता अधिकारी, भरतपुर।
जलवायु परिवर्तनका कारण खेती प्रणालीमा चुनौती बढिरहेका बेला कम पानीमा पनि राम्रो उत्पादन दिने र पोषणले भरिपूर्ण कोदो खेतीप्रति किसानको आकर्षण बढेको छ । त्रिपुरेश्वर कृषि सहकारी संस्था लिमिटेडको आयोजनामा भएको दोस्रो राष्ट्रिय कोदो दिवसको अवसरमा चितवनमा कोदो खेतीको संरक्षण, प्रवद्र्धन तथा खाद्य र पोषण सुरक्षामा जोड दिईएको छ ।
कुनै समय गरिबको खाना भनेर चिनिएको कोदो आज पोषणयुक्त सुपरफुडका रूपमा स्थापित हुँदै गएको छ। कम पानीमा पनि राम्रो उत्पादन हुने भएकाले कोदोलाई जलवायु परिवर्तनको चुनौती सामना गर्न सक्ने वातावरणमैत्री बालीका रूपमा पनि लिनु पर्ने श्री त्रिपुरेश्वर कृषि सहकारी संस्थाका अध्यक्ष वेदप्रसाद सापकोटा बताउनु हुन्छ । न्यून सिँचाइ, कम लागत र प्रतिकूल मौसममा पनि उत्पादन दिन सक्ने भएकाले यो खाद्य सुरक्षाको महत्वपूर्ण आधार बन्दै गएको उहाँको भनाई छ ।
दोस्रो राष्ट्रिय कोदो दिवसको अवसरमा भरतपुर महानगरपालिका–८ शान्तिमार्गमा विशेष कोदो रोपाइँ कार्यक्रम आयोजना गरिएको उहाँको भनाई छ । श्री त्रिपुरेश्वर कृषि सहकारी संस्था, जिल्ला कृषि विकास कार्यालय चितवन र भरतपुर महानगरपालिकाको सहकार्यमा भएको कार्यक्रममा किसानलाई कोदो खेती विस्तार गर्न प्रोत्साहन गरिएको अध्यक्ष देवकोटाले बताउनु भयो ।

सहकारीले भरतपुर–८ र ९ का खाली जमिनमा कोदो खेती विस्तार गर्दै आएको छ। किसानलाई प्रोत्साहनस्वरूप एक कठमा कोदो रोप्ने किसानलाई एक हजार रुपैयाँ सहयोगसमेत उपलब्ध गराउँदै आएको समेत अध्यक्ष सापकोटाले बताउनु भयो ।
भरतपुर–९ मा महिलाहरू समूह नै बनाएर विगत तीन वर्षदेखि सामूहिक रूपमा कोदो खेती गरीदै आईएको छ । बाझो जमिन नराखी उत्पादन बढाउन उनीहरूले सबै किसानलाई आग्रह गरेको भरतपुर महानगरपालिका वडा ९ की वडा सदस्य कोपीला दुरा बताउनु हुन्छ ।
भरतपुर महानगरपालिकाका कृषि तथा पशुपन्छी व्यवसाय प्रवद्र्धन शाखाका अनुसार कोदो स्वास्थ्यका लागि मात्रै होइन, दिगो कृषि प्रणालीका लागि पनि महत्वपूर्ण बाली हो। कम सिँचाइमा उत्पादन हुने र जलवायु परिवर्तनसँग अनुकूल हुने भएकाले यसको भविष्य उज्ज्वल रहेको भरतपुर महानगरपालिका कृषि तथा पशुपन्छी व्यवसाय प्रवद्र्धन शाखा प्रमुख तेजेन्द्रप्रसाद पौडेल बताउनु हुन्छ । उहाँ क्याल्सियम, आइरन, प्रोटिन, फाइबर र विभिन्न खनिज तत्वले भरिपूर्ण कोदोले हड्ी बलियो बनाउन, मधुमेह नियन्त्रणमा सहयोग पुर्याउन, पाचन प्रणाली सुधार गर्न र शरीरलाई आवश्यक ऊर्जा प्रदान गर्न मद्दत गर्ने हुदाँ पनि यसको माग बढेको उहाँको भनाई छ ।

नेपालमा धान, मकै र गहुँपछि कोदो चौथो प्रमुख खाद्यान्न बाली हो। चितवनमा करिब ७३९ हेक्टर क्षेत्रफलमा कोदो खेती हुँदै आएको छ। जिल्लाको उत्पादकत्व राष्ट्रिय औसतभन्दा माथि रहेको कृषि विकास कार्यालयको तथ्यांक छ। विशेषगरी इच्छाकामना गाउँपालिकामा सबैभन्दा धेरै उत्पादन हुने गरेको जिल्ला कृषि बिकास कार्यालय चितवनका प्रमुख झलकनाथ कडेल बताउनु हुन्छ ।
बदलिँदो मौसम, चितवनमा बढ्दो सिँचाइ समस्या र स्वस्थ जीवनशैलीप्रतिको बढ्दो आकर्षणका बीच कोदो खेती अब परम्परागत बालीमा मात्र सीमित नभएको उहाँको भनाई छ । किसान, स्थानीय सरकार र सहकारीको सहकार्यले यसको उत्पादन र उपभोग बढाउन सके पोषण सुरक्षा, किसानको आम्दानी वृद्धि र वातावरण संरक्षणमा समेत महत्वपूर्ण योगदान पुग्ने प्रमुख कडेलले बताउनु भयो ।
सम्बन्धित खवर
-
१६ साउन, काठमाडौं । पाकिस्तानको ...
-
१६ साउन, जनकपुरधाम । सरकारले ...

















