0Shares

भरतपुर , साउन ४ — धार्मिक, स्वास्थ्यवर्धक तथा वातावरणीय दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण मानिने बेल ९बिल्व० वृक्षको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले योगी नरहरीनाथ आश्रम तथा आध्यात्मिक परिषद्को प्राङ्गणस्थित लायन्स बेलवाटीकामा ६० वटा बेलका बिरुवा रोपिएका छन्।

श्रावण महिनाको पहिलो सोमबारको अवसरमा आयोजित वृक्षारोपण कार्यक्रम विगत ११ वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको अभियानअन्तर्गत सम्पन्न गरिएको हो। यस अभियानले धार्मिक आस्था, वातावरण संरक्षण र हरियाली प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको आयोजकले जनाएको छ।


कार्यक्रमका लागि आवश्यक करिब ७० वटा बेलका बिरुवा आफ्नै घरमा उत्पादन, संरक्षण तथा हुर्काएर उपलब्ध गराउने कल्पना गौतमप्रति आयोजकले हार्दिक आभार व्यक्त गरेको छ।

वृक्षारोपण कार्यक्रममा लायन्स डिष्ट्रिक्ट गभर्नर प्रभाकर पण्डित प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। त्यसैगरी डिष्ट्रिक्ट सेकेन्ड भ्वाइस गभर्नर कमल प्रसाद श्रेष्ठ विशिष्ट अतिथि रहनुभएको थियो भने डिष्ट्रिक्ट क्याबिनेट ट्रेजरर कृष्ण पाण्डेसहित लायन्स क्लबका पदाधिकारी, समाजसेवी तथा स्थानीयको उल्लेखनीय सहभागिता रहेको थियो।

बेल वृक्ष धार्मिक महत्वका साथै औषधीय गुण, वातावरणीय सन्तुलन तथा जैविक विविधता संरक्षणका दृष्टिले समेत अत्यन्तै उपयोगी भएकाले यसको संरक्षण र विस्तारमा सबैले योगदान दिन आवश्यक छ। विगत ११ वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको यो अभियान आगामी वर्षहरूमा पनि निरन्तरता दिइने कार्यक्रम संयोजक रुपा पियाले बताउनु भयो ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement