प्रधानमन्त्री ओलीद्वारा भरतपुर सिटी हल र पुल्चोक–गोन्द्राङ सडकखण्ड विस्तारको शिलान्यास
चितवन, माघ १७ –
भरतपुर– १० मा बन्न लागेको सिटीहल (सभाहल) को नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका छन् ।
शनिबार चितवन आएका प्रधानमन्त्री ओलीले सिटी हलको शिलान्यास गरेका हुन् ।
जिल्ला समन्वयन समितिको भवन पछाडि समन्वय समितिकै नाममा रहको सरकारी जग्गामा सिटी हल बनाउन लागिएको छ । चार विघा चार कठ्ठा जग्गामा हल निर्माण गर्न लागिएको हो । सरकारको बहुवर्षीय योजना अन्र्तगत सिटी हल निर्माण थालिएको हो । दुई हजार जना क्षमताको ठूलो सभा हल तथा तीन सय जना क्षमताको सानो हलसहित अति विशिष्ठ कक्षहरु निर्माण गरिने छ ।
२५ मिटर अग्लो सिटी हलमा २०\२० क्षमताको दुई वटा लिफ्ट राखिने छ । २७ महिनाभित्र निर्माण सम्पन्न गर्नुपर्ने गरी यसै वर्षको मंसिर १८ गते ठेक्का सम्झौता भएको हो । ८७ करोड ८८ लाख रुपैयाँ लागतमा निर्माण सक्ने गरी सम्झौता गरिएको छ । संघीय सरकारको बजेटमा सिटी हल निर्माण गर्न लागिएको हो । सरकारले देशका ठूला सहरहरुमा सिटीहल निर्माण गर्ने योजना बनाएको छ । त्यही योजनाअनुसार भरतपुरमा पनि निर्माण कार्य अगाडि बढाइएको हो ।
पुल्चोक–गोन्द्राङ सडकखण्ड विस्तारको पनि शिलान्यास
यसैगरी पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने भरतपुरको पुल्चोक–गोन्द्राङ सडकखण्ड विस्तारको पनि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका छन् ।
उक्त सडकलाई विस्तार गरी ६ लेन बनाउन लागिएको हो । ६ लेनमा विस्तार भइरहेको नारायणगढ बुटवल सडक अन्तर्गतको एक खण्डका रूपमा पुल्चोक–गोन्द्राङ सडकखण्डलाई पनि विस्तार गर्न लागिएको हो । गत असोज २६ गते २८ महिनाभित्र सडक विस्तार गरी सक्ने सम्झौता भएको थियो । सडक विस्तारको लागत एक अर्ब बाह्र करोड रुपैयाँ तोकिएको छ । संघीय सरकारको बजेटमा सडक विस्तारको काम हाल भइरहेको छ ।
टिकौली जंंगल छेउ गोन्द्राङदेखि केन्द्रीय बस टर्मिनलचोकसम्म सडक अहिले २ लेन रहेको छ । यस्तै केन्द्रीय बस टर्मिनलदेखि रिजालचोकसम्म ४ लेन छ । फेरि रिजाल चोकदेखि चौबिसकोठीसम्म २ लेनको छ । यस्तै चौबिसकोठीदेखि नारायणगढको पुल्चोकसम्म ४ लेनको रहेको छ ।
सडक डिभिजनका अनुसार दुई लेन भएको स्थानमा थप ४ लेन र ४ लेन भएको स्थानमा थप २ लेन थपेर सबै ठाउँमा ६ लेनको बनाउन लागिएको हो । ५० मिटर चौडाइ रहने सडक क्षेत्रमा फुटपाथ, ढल, सर्भिस लेन, स्मार्ट लाइट जडान र बिजुली अन्डरग्राउन्ड गर्ने योजना छ ।सडकको दायाँबायाँ ११.५\११.५ मिटरको पिच हुनेछ । त्यसको बीचमा ३ देखि ४ मिटरको मेडियन, मुख्य सडकको छेउमा नाली र त्यसभन्दा बाहिर ५.५ मिटरदेखि ६ मिटरसम्मको सर्भिस लेन दुवैतिर हुनेछ । बीचको मेडियन र सर्भिस लेनको डिजाइन तीन खण्डमा फरक–फरक रहेको छ । पुल्चोकदेखि लायन्सचोकसम्म, लायन्सचोकबाट क्याम्पस गेट र क्याम्पस गेटबाट गोन्द्राङसम्म अलग–अलग डिजाइनमा बनाइने छ ।
शिलान्यास कार्यक्रममा प्रधानमन्त्री ओलीसँगै गृहमन्त्री रामबहादुर थापा ‘बादल’, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ, शहरी विकासमन्त्री प्रभु शाहलगायतको उपस्थिति रहेको थियो ।



















