तर अब दुवै बैंकको सम्पत्ति र दायित्व मूल्यांकन (डीडीए) प्रक्रिया अघि बढिसकेको छ। नेपाल राष्ट्र बैंकबाट मर्जरका लागि सैद्धान्तिक सहमति लिनुअघि नै डीडीए सकेर केकस्तो हैसियतमा गाभिने भन्ने स्पष्ट हुन खोजेको बैंकका अधिकारीले बताएका छन्। यसो गर्दा सैद्धान्तिक सहमति पाएर पनि मर्जर भाँडिने जोखिमलाई घटाउन खोजिएको उनीहरू बताउँछन्।
स्रोतका अनुसार यसअघि अशोकशमशेर राणाले आफू प्रमुख कार्यकारी अधिकृत हुनुपर्ने भन्दै मर्जरलाई तत्काल अघि बढाउन अलमल गरेका थिए। उनी अहिले हिमालय बैंकको प्रमुख कार्यकारी छन्। अशोकका आफ्नै भिनाजु अर्थात् नेपाल इन्भेस्टमेन्टका अध्यक्ष पृथ्वीबहादुर पाँडे पनि राणालाई चिढ्याउन चाहँदैनथिए। नेपाल राष्ट्र बैंकका प्रथम गभर्नरसमेत रहेका हिमालयशमसेर राणाले पनि अशोकलाई मर्जरपछिको सीईओ देख्न चाहेको बताएका थिए। तर पाँडेलाई ‘आक्रामक’ शैलीमा चलाएको इन्भेस्टमेन्ट बैंकको व्यवस्थापन धान्न आफ्नै सीईओ आवश्यक थियो। अहिले इन्भेस्टमेन्टका सीईओ ज्योतिप्रकाश पाण्डेले आफू दोस्रो वरीयतामा बस्न तयार भएको बताएपछि अशोक पनि मर्जरका लागि तत्पर बनेका छन्। अहिले इन्भेस्टमेन्टमा पृथ्वीबहादुर पाँडे र हिमालयनमा मनोजबहादुर श्रेष्ठको ठूलो स्वामित्व छ। तर पाकिस्तानको बहुराष्ट्रिय बैंक हबिबले हिमालयनको स्वामित्व बेच्न चाहिरहेको र त्यो सेयर कर्मचारी सञ्चय कोषले किन्न सक्ने देखिएको छ। यदि त्यसो भयो भने कोषसँग हिमालयनको ३४ प्रतिशत स्वामित्व पुग्छ। उता चिनी उद्योगबाट होटेल व्यवसायमा स्थापित हुँदै गरेका शशिकान्त अग्रवाल मर्जरपछि सबैभन्दा ठूलो लगानीकर्ताको रूपमा स्थापित हुने छन्। उनीसँग अहिले दुवै बैंकमा करिब १२–१२ प्रतिशत सेयर स्वामित्व छ। यही कारण मनोजबहादुर श्रेष्ठको समूहले अर्को बैंक पनि मिसाउन आग्रह गरिरहेको छ।

बैंकका अधिकारीहरूका अनुसार बैंक अफ काठमान्डू यो ‘बिग मर्जर’मा जोडिन सक्ने सम्भावना बढेको छ। यसअघि लुम्बिनी र बीओके गाभिएर अहिलेको बैंक अफ काठमान्डू बनेका थिए। तर मर्जरका ती साझेदार सम्बद्ध प्रवद्र्धकबीचको टकरावले बैंकको प्रभावकारिता बढ्न सकेको छैन। यस्तो बेला उनीहरू मर्जरपछिको सञ्चालक समितिमा आफ्ना मान्छे नराख्ने र कर्मचारीलाई यथोचित स्थान दिन पनि बार्गेनिङ नगर्ने सर्तमा मिसिन तत्पर रहेको हिमालयन बैंकका एक अधिकारी बताउँछन्।
यसो गर्दा मर्जरपछि पनि आफ्नो स्वामित्व बलियो राख्न ठूला प्रवद्र्धकले अर्को संस्था पनि गाभ्ने प्रस्ताव गरेको बैंकर बताउँछन्। सिभिल, सेन्चुरीजस्ता साना संस्थासँग पनि कुरा भइरहेको, तर बैंक अफ काठमान्डुसँग सहकार्य हुन सक्ने सम्भावना बढेको उनीहरू बताउँछन्। यी तीन बैंक मर्ज भए भने ३२ अर्ब १६ करोड ८१ लाख रुपैयाँ चुक्ता पुँजी हुनेछ। अहिले झन्डै १९ अर्ब चुक्ता पुँजी भएको ग्लोबल आईएमई बैंक पुँजीका हिसाबले सबैभन्दा ठूलो छ।
सम्बन्धित खवर
-
भरतपुर,बैशाख २३- चितवनमा चक्कु ...
-
काठमाडौं, वैशाख २३- नेपाली ...



















