पत्रकार महासंघ चितवनको साधारण सभा आज
१३ जना पत्रकारलाई पुरस्कृत गरिने
भरतपुर । आज शनिबार आयोजना गरिएको नेपाल पत्रकार महासंघको साधारणसभाको तयारी सकिएको छ ।
महासंघ शाखा अध्यक्ष तथा साधारणसभा मूल आयोजक समितिका संयोजक राधेश्याम खतिवडाले सबै उपसमितिले कार्यविभाजन अनुसार आफनो जिम्मेबारी पूरा गरेका कारण र सबै तयारी सकिएका कारण समयमै कार्यक्रम सञ्चालन गर्न सकिने जानकारी दिए । साधारण सभा पत्रकार महासंघकै भवनमा आज ११ बजे तोकिएको छ । कोभिडका कारण भौतिक दूरी कायम गरेर स्वास्थ्य मापदण्ड अपनाउँदै साधारण सभा सम्वन्न गरिने पनि उनले जानकारी दिए ।
साधारणसभाको उद्घाटन महासंघका केन्द्रीय उपाध्यक्ष बिपुल पोखरेलले गर्नेछन् । पोखरेलसँगै आमन्त्रित अतिथिहरु चितवन आईसकेका छन् । चितवन शाखामा २७६ सदस्यहरु रहेका छन् ।
दस्ताबेजको रुपमा स्मारिका
साधारण सभाकै अवसरम चितवन शाखाले ‘पत्रकारिता चितवन’ नामक स्मारिका प्रकाशन गरेको छ । स्मारिका प्रकाशन समितिका संयोजक हरिप्रसाद पोखरेलका अनुसार ३०० पेजको स्मारिकामा पत्रकारिता क्षेत्रसँग सम्बन्धित लेखरचना र जानकारीमूक सामग्री छन् । स्मारिकालाई चितवनको पत्रकारिताको दस्तावेजका रुपमा प्रकाशित गर्ने प्रयास गरिएको उनले जानकारी दिए । स्मारिकामा चितवनको विविधता समेत झल्किएको छ ।
१३ जना पत्रकार पुरस्कृत हुँदै
साधारण सभामा विभिन्न विधाका पुरस्कारहरु १३ जनालाई वितरण गरिनेछ । पुरस्कार छनौट समितिका सदस्य दिपक आचार्यका अनुसार हरेक वर्ष महासंघबाट वितरण गर्ने पुरस्कार कोभिडका कारण अघिल्लो वर्ष स्थगित भएकाले कारण अहिले सँगै वितरण गर्न लागिएको हो । महासंघको बनाएको निर्देशिका बमोजिम छनौट समिति निर्माण भएको र समितिको पुरस्कार पाउनेहरुको नाम भने साधारण सभामै जानकारी गराउने पनि आचार्यले जानकारी गराए ।
आचार्यका अनुसार ५१ हजार एक सय ५१ रुपियाँको मैयादेवी पत्रकारिता पुरस्कार र सम्मान पत्र दुई जना पत्रकारले पाउँदैछन् । ५० हजार ५१ रुपियाँको अनन्तगंगा पत्रकारिता पुरस्कारबाट साधारण सभामा दुईजना पत्रकारलाई पुरस्कृत गर्ने कार्यक्रम छ ।
यस वर्ष दुई जना पत्रकारलाई जनही ११ हजार तीन सय ११ रुपियाँ र सम्मान पत्र सहित स्व.तिलचन साँखी स्मृति पत्रकारिता पुरस्कार वितरण गरिनेछ ।
यसैगरी ११ हजार एक सय ११ रुपियाँको ‘बालकुमारी–विष्णुकुमारी अभ्युदय पत्रकारिता पुरस्कार’ पनि जनहि दुईजना पत्रकार महिलालाई वितरण गरिनेछ । १० हजार एक सय ११ रुपियाँको श्रुजश्री मैयादेवी पत्रकारिता पुरस्कार पनि दुईजना पत्रकार महिलालाई वितरण गरिनेछ ।
यसैगरी ११ हजार १११ रुपियाँको उत्तरध्वज–सूर्यकुमारी पत्रकारिता पुरस्कारबाट एकजना पत्रकार पुरस्कृत हुँदैछन् ।
चितवन शाखाले यस वर्षमात्रै स्थापना गरेको औद्योगिक पत्रकारिता पुरस्कारबाट दुईजना पत्रकार सम्मानित हुनेछन् । यो पुरस्कारको राशी पनि ११ हजार १११ रहेको छ ।
प्रतिवेदनमाथि छलफल
साधारण सभामा महासंघले आफ्नो कार्यकालमा गरेका कामका बारेमा तयार पारिएको प्रतिवेदनमाथि छलफल हुनेछ । सचिव तीर्थ नेपालले प्रगति प्रतिवेदन र कोषाध्यक्ष प्रकाशमणि ज्ञवालीले आर्थिक प्रतिवेदन तयार गरेका छन् । यसलाई साधारण सभाको बन्द सत्रले पारित गर्नेछ । महासंघको आगामी कार्ययोजनाबारे पनि साधारणसभामा छलफल हुनेछ ।
नेतृत्व चयन पछि
यस वर्ष नेतृत्व चयनको वर्ष भएपनि अधिवेशन चाहिँ पछि हुनेछ । निर्वाचन प्रणालीका सम्बन्धमा गरिएको नयाँ व्यवस्थाले यसो गरिएको नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कृष्ण गिरीले जानकारी दिए । महासंघको इतिहासमा पहिलो पटक सबै सदस्यको प्रत्यक्ष मतदानबाट केन्द्रीय समिति निर्वाचित हुने गरि गरिएको संशोधनको व्यवस्थाका कारण जिल्लाको नेतृत्व चयन पनि सोहि दिन गरिने गिरीेले बताए ।



















