सौराहामा पर्यटकलाई छुटैछुट
सौराहा– कोरोना सङ्क्रमणसँगै बन्द रहेको यहाँको पयर्टन व्यवसायलाई चलायमान बनाउन व्यवसायीले छुटको घोषणा गरेका छन् ।
सौराहाका पर्यटन व्यवसायीले विश्व पर्यटन दिवसका अवसरमा आज आयोजना गरेको कार्यक्रममा २० देखि ३० प्रतिशतसम्म छुटको घोषणा गरेका हुन् ।
कार्यक्रममा क्षेत्रीय होटल सङ्घ नेपाल सौराहाका अध्यक्ष दीपक भट्टराईले पर्यटनसँग सम्बन्धित सबै व्यवसायमा छुट गरिने बताउनुभयो ।
उहाँले भन्नुभयो- ‘व्यवसायको प्रकृतिअनुसार २० देखि ३० प्रतिशतसम्म छुट समावेश गरेर एक साताभित्र प्याकेज सार्वजनिक गर्छौ ।’
लकडाउनले थला परेको सौराहाका व्यवसायीले सन् २०२० मा सरसफाइ र सम्पूर्ण तयारी गर्ने, सन् २०२१ मा व्यापक प्रचारप्रसार गरी सन् २०२२ मा पर्यटन व्यवसायलाई पूर्ववत अवस्थामा फर्काउने गृहकार्य थालेका छन् ।
भट्टराईले देशका प्रमुख शहरमा घुमौ चितवन अभियानका साथ जाने बताउनुभयो ।
उहाँले भन्नुभयो- ‘प्रमुख शहरमा सरोकारवालालाई राखेर चितवन वा सौराहा साँझ कार्यक्रम गर्नेछौँ ।’
ती कार्यक्रमका लागि जिल्ला समन्वय समिति, रत्ननगर नगरपालिका, पर्यटन बोर्डलगायत सङ्घ संस्थासँग समन्वय भइरहेको उहाँले जानकारी दिनुभयो ।
आउँदा दुई वर्षसम्म आन्तरिक पर्यटकको भरमा व्यवसाय टिकाइराख्ने व्यवसायीको योजना छ ।
‘कमाउनुभन्दा पनि व्यवसाय टिकाउन हामी लागि परेका छौँ’, भट्टराईले भन्नुभयो- ‘दुई वर्षपछि हामी पूर्ववत् अवस्थामा फर्किन्छौँ ।’
पर्यटन दिवसका अवसरमा सौराहाका पर्यटनसँग सम्बन्धित क्षेत्रीय होटल सङ्घसहित ११ सङ्घ संस्थाले कार्यक्रमको आयोजना गरेका थिए ।
सो अवसरमा रत्ननगर नगरपालिकाकी उपप्रमुख विमला दुवाडीले सुरक्षाको मापदण्ड पूर्णरुपमा अपनाएर व्यवसाय सञ्चालन गर्न अनुरोध गर्नुभयो ।
उहाँले आश्वासन दिनुभयो – ‘अब सौराहा शून्य हुँदैन, नगरपालिका तपाईहरुको साथमा छ ।’
रेष्टुरेण्ट एण्ड बार एसोसिएशन रेवानका अध्यक्ष दीपेन्द्र खतिवडाले हप्ताको दुई दिन बिदाको निर्णय भएमा पर्यटन व्यवसायमा केही सहयोग पुग्ने बताउनुभयो ।
सन् २०२२ सम्म विदेशी पर्यटक आउने सम्भावना कम भएकाले देशदर्शन अभियान गर्नुपर्नेमा जोड दिनुभयो ।
सोही अवसरमा युनाइटेड हात्ती सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारी, कुमरोज मध्यवर्ती सामुदायिक वनका अध्यक्ष गणेश श्रेष्ठ, साना पर्यटन व्यवसायी संघका अध्यक्ष सरस्वती चालिसे र बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जीतबहादुर तामाङले सौराहामा कोभिड नियन्त्रणका लागि सरकारले लागू गरेको सम्पूर्ण मापदण्ड पूरा गरेर व्यवसाय शुरु भएकाले सन्देश प्रवाह गरिदिन अनुरोध गर्नुभयो ।
सौराहामा १२० होटल र एक सय हाराहारी रेष्टुरेण्ट छन् ।
सौराहाका होटलमा पाँच हजार पाँच सय जनाको क्षमता रहेको छ ।
गएको चैत ११ गतेबाट बन्द रहेका होटल यही असोज १ गते यता क्रमशः सरसफाई र खुल्ने क्रम शुरु भएको छ ।
सङ्घका निवर्तमान अध्यक्ष सुमन घिमिरेका अनुसार आधा हाराहारी होटल खुलेका छन् ।
पुनः निषेधाज्ञा हुने हो कि भन्ने चिन्ताले सम्पूर्ण व्यवसायी पर्ख र हेरको अवस्थामा रहेको उहाँले बताउनुभयो ।
लकडाउनको अवधिमा बीचको समयमा १५ दिन होटल खुल्दा ठूलो नोक्सान भएकाले पुनः सञ्चालन गर्न व्यवसायी हच्किएका छन् ।
चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वन घुम्न आउने पर्यटक बस्ने मुख्य ठाउँ सौराहा हो । निकुञ्जले जीप सफारीबाहेक अन्य पर्यटकीय गतिविधि खुल्ला गरेको छ ।



















