एसइइमा हामीले मेहनत देखाउन पाएनौँ
यो वर्ष एसइइ परीक्षाको नतिजा आन्तरिक मूल्याँकनबाट गरिएपछि मैले पनि अरु साथीहरुजस्तै अहिले कक्षा ११ मा अध्ययन गर्ने मौका पाएकी छु । पहिले पहिले जस्तै परीक्षा लिएको मेरो नतिजा के हुन्थ्यो थाहा छैन । यसपालि भने आन्तरिक मूल्याँकन भएका कारण मेरो एसइइमा ‘ए प्लस’ आयो । तर हामीले प्राप्त गरेको नतिजालाई सबैले मेहनत नै नगरी प्राप्त गरेको नतिजा भनि होच्याउने काम भएको छ । यस कुराले म आफैलाई आफूले प्राप्त गरेको नतिजाप्रति आत्मसन्तुष्टि भएको छैन । अघिल्ला वर्षहरुमा जस्तै गरी परीक्षा लिएको भए पनि एसइइको नतिजा यो भन्दा कम हुन्थेन भन्ने कुरामा चाहिँ अझै आत्मविश्वास मलाई छ ।
सबैलाई थाहा छ, गएको २०७६ चैत्र ११ बाट देशमा लकडाउन भयो । परीक्षा स्थगित भएको ४ महिना पछि बल्ल परीक्षाको नतिजा विद्यालयको आन्तरिक मुल्याङ्कनबाट दिने निर्णय भएको थियो । भदौ १ गते नतिजा प्रकाशित भयो । सबैजनाको नतिजा राम्रो आएको हुनाले हामीलाई मेहनत नै नगरी आएको फल भनेर होच्याइएको थियो । मेहनत त्यत्रो एक वर्षसम्म हामीले गरेकै हो । तर हामीले हाम्रो मेहनत चाहिँ देखाउन पाएनौँ । यो हाम्रो रहर थिएन, बाध्यता थियो । परीक्षा नदिइकन समग्रमा सबैको राम्रो नतिजा आयो, त्यो राम्रो पक्ष हो । तर मेहनत नै नगरी आयो भन्दै जुन तरिकाले हामीलाई होच्याइयो, त्यसले मलगायत हामी सबैलाई मानसिक असर पक्कै पनि पारेको छ ।
२०७६ साल चैत्र ६ गतेबाट शुरु हुन लागेको एसइइ परीक्षा कोरोनाले गर्दा चैत्र ५ गते साँझ स्थगित भएको थियो । सरकारले गरेको एसइइ स्थगित गर्ने निर्णय कम्तिमा दुइदिन अघि गर्नुपर्ने निर्णय हुनुपथ्र्यो । किनकी मानसिक रुपले त्यतिबेला हामी विद्यार्थीहरु तयार भैसकेका थियाँै । हामी शहरका विद्यार्थीहरुलाइ केन्द्रमा जानुपर्ने त त्यति समस्या थिएन, तर गाउँका विद्यार्थीहरु परीक्षा केन्द्रमा जानलाइ कोठा खोजेर अन्य ठाउँमा बस्नुपर्ने अवस्था थियो । परीक्षा स्थगित गर्ने निर्णय दुइदिन अघि मात्रै गरेको भए लाखौ विद्यार्थीले दुःख पाउने थिएनन् ।
परीक्षा स्थगित हुँदा मलाई पनि त्यतिबेला धेरै दुःख लागेको थियो । जिवनमा एकचोटि मात्र हुने एसइइ परीक्षाको लागि निकै उत्साहित थिएँ म । अलिअलि डर पनि थियो । त्यसैले नतिजा राम्रो ल्याउनको लागि गएको बैशाखदेखि नै दिनरात मेहनत गर्दै आएकी थिएँ । बिहान ५ बजेदेखि बेलुका ७ बजेसम्म म विद्यालयमै हुन्थेँ । विद्यालयबाट थाकेर घर आएपछि एकैछिन फ्रेस भएर फेरी पढ्नतिर लाग्थेँ । दिनहरु बितेसँगै एसइइको मिति पनि नजिक आउँदै थियो । म पढेको सनराइज स्कूलले पनि महिनामा एकचोटी सबै विषयको परीक्षा लिन सुरु गथ्र्यो । एसइइ परीक्षाको लागि पनि मैले धेरै मेहनत गरेकी थिएँ । कहिले काहिँ त बेलुका १ बजेसम्म पढेर सुतेर बिहान ४ बजे उठेर पढेकी थिएँ । यद्दपि एसइइ नजिक आएसँगै मेरो डर पनि बढ्दै गएको थियो । सबै विषयहरु मैले एकपल्ट पुरै पढेर भ्याइसकेकी थिएँ । परीक्षाको अघिल्लो दिनसम्म आइपुग्दा म परीक्षाको लागी मानसिक रुपले तयार भैइसकेकी थिएँ । साँझ अचानक परीक्षा स्थगित हुँदा विश्वास नै गर्न सकेकी थिईन । पछि समाचारहरु हेरेपछि बल्ल परीक्षा स्थगित भएको कुरामा विश्वास लाग्यो । त्यो दिन मलाई निकै नरमाईलो लाग्यो ।
यस वर्ष देशभरकै नतिजा अघिल्लो वर्षहरुको भन्दा राम्रो आएको थियो, त्यसैले पनि अघिल्ला वर्षहरुमा जस्ता आत्महत्याको समाचार यो वर्ष सुन्न पाइएन । कोरोनाका कारण एसइइमा सबैले प्राप्त गरेको सफलताले हामीले यो वर्ष यस्ता सकारात्मक समाचार पनि सुन्न पायौँ । यो हाम्रा लागि सबैभन्दा सकारात्मक पक्ष हो ।
निश्चय नै एउटा कक्षाबाट अर्को कक्षामा उक्लिँदा हुने खुशी यो वर्ष हामी कसैमा छैन । कोरोनाको संक्रमण नभएको भने हामी विद्यालयमा रमाइरहेका हुन्थ्यौँ । त्यो अवस्था अहिले छैन । विद्यालयहरु अहिले बन्द भएको पनि ६ महिना भइसकेको छ । खुल्ने छाँटकाँट छैन । अहिले भने अनलाइन मार्फत ११ को कक्षा सञ्चालन भईरहेको छ । घरमा यत्तिकै बस्नु भन्दा अनलाइनबाट भएपनि केहि ज्ञान प्राप्त गर्न पाइएको छ । कोरोनाको अन्त्य नभएसम्म हामीले हाम्रो पढाई अनलाइनबाट नै अगाडि बढाउनुपर्ने भएको छ । इन्टरनेट र मोबाइल फोन भएकाहरुको लागि यो राम्रो वैकल्पिक माध्यम हो, अब यो नहुनेहरुको लगि केहि बिकल्प खोज्न चाहिँ जरुरी भईसकेको छ ।
अझै पनि विश्वे विश्व कोरोना भाइरसबाट आतंकित भइरहेको छ । चीनको वुहान प्रान्तबाट सुरू भएको यो भाइरस हाल चीनमा नियन्त्रणमा आइसकेको छ भने अमेरिकामा अहिले यसको बढि संक्रमितहरु छन् । हाम्रो जिल्ला चितवन बढि बढि जोखिम भएको जिल्ला अन्तर्गत पर्छ । कोरोनाले गर्दा अहिले विश्वभर ८ लाख भन्दा बढि मानिसहरुले ज्यान गुमाउनु परेको छ । यो रोग फैलिनबाट रोक्न विभिन्न ठाउँहरुमा लकडाउन गरिएको छ । लकडाउनका कारण धेरै देशको आर्थिक स्थिति अहिले खस्किँदो छ । जसले थुप्रै मानिसको जिवनमा नराम्रो असर पारेको छ । यस्तो परिस्थितिको सामना नेपालले पनि गरिरहेको छ । हाम्रो जिल्ला चितवनमा पनि यस्ता धेरै समस्या छन् । यी सबै समस्यालाई झेल्दै हाम्रो जिवन अगाडि बढाउनु परिराखेको छ । सँगसँगै हाम्रो अध्ययनलाई पनि अगाडि बढाउनु परेको छ ।
समग्रमा भन्नुपर्दा कोरोनाले हाम्रो जिवनमा पनि सकारात्मक एवम् नकारात्मक दुवै प्रभाव पारिरहेको छ । अब जे जस्तो भएपनि सबै कुरालाई स्वीकारेर आफ्नो स्वास्थ्यलाई ध्यान दिँदै आफ्नो अध्ययनलाई अगाडि बढाउनुबाहेक हामीसँग अरु बिकल्प पनि छैन । कृपया सबै महानुभावहरुबाट हामीले पाएको सफलतालाई अवमूल्यन गरी होच्याउने काम पनि नगरिदिनुहोला । मेरो यही कामना छ । हामी सबैले कोरोनालाई जित्नेछौँ । तपाईहरुले भनेजस्तै अब हामीले अझ मेहनत गरेर एसइइमा पाएको सफलता भन्दा पनि बढि सफलता जिवनमा पाउनेछौँ । हामीले पाएको सफलताले देशको पनि भलो हुनेछ ।
pokhrelsmita121@gmail.com
(पोखरेल एसइइ ब्याच २०७६ मा सनराईज स्कुल, भरतपुरबाट सम्मिलित भई ‘ए प्लस’ ग्रेड ल्याएकी छात्रा हुन् ।



















