1Shares

भरतपुर । रमाइलो थियो घरमा, सबै खुसी थियौँ । घर दुई तल्लाको थियो । माथिल्लो तल्लामा हाम्रो परिवार र भुइँतल्लामा काकाको परिवार हुनुहुन्छ । हाम्रो परिवारमा हामीसँगै हजुरबुबा, हजुरआमा बस्नुहुन्छ ।
भदौ ५ गते माइलो काकालाई एक्कासि श्वासप्रश्वासको समस्याले च्याप्ने, शरीर भारी हुनेजस्तो भयो । काका उमेरले ५१ वर्षको हुनुहुन्थ्यो । अनि, माइली काकी र भाइले काकालाई भरतपुर चौबीसकोठीमा अवस्थित श्री पुष्पाञ्जली हस्पिटल प्रालिमा उपचारका लागि भर्ना गर्नुभयो । काकालाई डा. भोजराज अधिकारीले हेरिरहनुभएको थियो । काका लामो समयदेखि श्वासप्रश्वास समस्याले ग्रसित हुनुहुन्थ्यो । हस्पिटलमा भर्ना भएपश्चात् काकालाई निमोनिया पनि देखियो । उपचार हुँदै थियो । एक्कासि भदौ ८ गते बिहान काकाको अक्सिजन लेभल कम भयो र उहाँलाई सघन उपचार कक्ष भेन्टिलेटरको सहायताले उपचार गराउनुपर्ने भयो र त्यसतर्फ सिफ्ट गरियो । हस्पिटलमा भर्ना भएलगत्तै स्वाब परीक्षणका लागि पठाइएको थियो र भदौ ८ गते राति १० बजे काका कोभिडको सिकार पनि हुनुभएको रहेछ भन्ने थाहा पायौँ ।
घरमा हामी आत्तिएका थियौँ । पीडाले औडाहा बनाएको थियो । उहाँको उपचार भैरहेको थियो र हामी घरका सबै परिवार होम आइसोलेसनमा बस्यौँ । बिहान–बेलुका हस्पिटलमार्फत काकाको स्वास्थ्य अवस्थाबारेमा जानकारी गराइन्थ्यो । क्रमिकरुपमा सुधार भएको रिपोर्ट पनि आयो, तर अचानक भदौ १२ गतेको बिहान काकालाई एकदमै रोगले च्याप्यो भन्ने खबर आयो ।
त्यसपछि घरबाट केही प्रतिनिधि हस्पिटल जानुभयो । अवस्था निकै जटिल थियो । हस्पिटलले बिहान १० बजे काकाको मृत्युको घोषणा ग¥यो । त्यसपछि घरमा ठूलो बज्रपात प¥यो । घरमा निकै रूवाबासी भयो । कोभिड–१९ कोरोना भाइरसका कारणले गर्दा हामीले काकालाई अन्तिम श्रद्धाञ्जलीसमेत अर्पण गर्न पाएनौँ । हामी कसैले उहाँको मुखसमेत हेर्न पाएनौँ । सदियौँदेखि देशमा रहेको जातीय विभेदभन्दा ठूलो विभेद कोरोनाले ग¥यो । न त काकाको मुख हेर्न सक्यौँ, न त अन्तिम बिदाइमा सहभागी हुनसमेत सक्यौँ । हामी लाचाररुपमा विवश थियौँ । एकदमै पीडाबोध भयो । कोरोनाले गर्दा भाइको अधिकारसमेत गुम्यो । काकाको पार्थिव शरीरमा दागबत्तीसमेत दिन पाएन । कोरोनाले गर्दा न त विधिपूर्वक दाहसंस्कार गर्न पायौँ, न त केही गर्न पायौँ । त्यसपछि हामी यस्तै रहेछ विधिको विधान भनेर मन थाम्दै बस्यौँ । भाइ काकाको काजकिरिया बसिरहेको थियो । इष्टमित्र थुप्रै थिए, तर कोरोनाको भयले गर्दा कसैको साथ पाएनौँ, हामी सबैले एकल महसुस ग¥यौँ ।
भदौ १४ गते बिहान फेरि अर्को बज्रपात प¥यो । किरिया बसेको भाइलाई पनि कोरोना भएको पुष्टि भयो । भाइलाई खासै लक्षण नभएको कोरोना थियो । त्यसपछि पारिवारिक छलफल ग¥यौँ र काजकिरिया पछि गर्ने गरी भाइलाई उठाएर होम आइसोलेट ग¥यौँ । त्यसपछि हामी घरका परिवार पनि एकआपसमा एकदमै डरायौँ । कसैले खोके पनि एकदमै आत्तिएका छौँ । मानसिकरुपमा दबाब सिर्जना भएको छ । यस्तो रोग कसैलाई पनि नलागोस् । आफ्नै परिवार, टोल, छरछिमेकसँग पनि डराउनुपर्ने ! त्यसैले, कोरोनालाई कसैले पनि खेलाँची नगर्नुहोला । कोरोनासँग बच्न अपनाउनुपर्ने विधि सबै अपनाउनुहोला । भोग्नेलाईजति यसको पीडा अरुलाई थाहा हुँदैन ।

(संवाददाताले पत्रकार महासंघ चितवनका सदस्य र राष्ट्रिय दलित पत्रकार संघ चितवन शाखाका अध्यक्ष अमिर रामदामसँग गरेको कुराकानीमा आधारित । मृतक पत्रकार अमिरका काका हुन् ।)

1Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement