मलामी गएका ४० जनामा कोरोना सङ्क्रमण
बुटवल,रूपन्देहीको बुटवलमा एक जना महिलाको मलामी गएका ९० प्रतिशतलाई कोरोनाको संक्रमण देखिएको छ।
साउन १८ गते बुटवल उपमहानगरपालिका- ११ कालिकानगरकी ती ४९ वर्षीया महिलाको चितवनको भरतपुर क्यान्सर अस्पतालमा मृत्यु भएको थियो।
किमोथेरापीको क्रममा हृदयघातले मृत्यु भएको भन्दै अस्पतालले कोरोना परीक्षण नगरी पठाइदियो।सामान्य मृत्युजस्तै ठानेर उनका छिमेकी र नातागोता मलामी गए। उनको दाहसंस्कार गरेर आएको केही दिनमै मृतकका देवरलाई कोरोनाको जस्तै लक्षण देखिए। शंका लागेर जाँच्दा साउन २२ गते उनको कोरोना रिपोर्ट पोजेटिभ आयो।मृतकका देवरमा कोरोना पोजिटिभ देखिएपछि दाहसंस्कारमा सहभागी भएकाहरूले परीक्षण थाले । अहिलेसम्म ४५ जनाको स्वाब परीक्षण गर्दा ९० प्रतिशतमा कोरोना पोजिटिभ देखिएको छ ।
मृतक महिलामा कोरोना भएका कारण अरूमा सर्यो कि उनका देवरबाट अरूलाई संक्रमण फैलियो भन्ने एकिन भइसकेको छैन। भरतपुर क्यान्सर अस्पतालले ती महिलाको उपचारमा संलग्न चिकित्सक वा अन्य स्वास्थ्यकर्मीमा संक्रमण देखिएको पुष्टि गरेको छैन।
सो घटनापछि बुटवलमा कोरोनाको संक्रमण समुदायस्तरमा भूसको आगोजसरी फैलिएको सरोकारवालाहरूले बताएका छन्।पछिल्लो समय दिनदिनै बढिरहेका संक्रमितले पनि बुटवलमा संक्रमणको क्रम तीव्र छ भन्ने देखाउँछ।
साउन २२ गतेसम्म २७ जनामात्र कोरोना संक्रमित रहेको बुटवलमा १५ दिनमा १ सय १७ जना थपिएर अहिले १ सय ४४ जना पुगेका छन्।थपिएकामध्ये अधिकांश तीनै मृतक महिलाका आफन्त तथा टोलछिमेक र अन्त्येष्टिमा सहभागी छन्। उनको किरिया गराउने पण्डितलाई समेत कोरोना संक्रमण पुष्टि भएको छ।
पछिल्लो १५ दिनयता दिनदिनै संक्रमित थपिँदै गएपछि सर्वसाधारण त्रसित बनेका छन्।बुटवल उपमहामहानगरपालिकाले साउन २९ गतेदेखि घोषणा गरेको लकडाउनपछि सडकमा मानिसको उपस्थिति शुन्य प्राय: छ। उपमहानगरपालिकाले भदौ ७ गतेसम्म लकडाउन जारी राखेको छ।
सम्बन्धित खवर
-
शान्ता अधिकारी, माडी — माडी ...
-
दाङमा खुकुरी देखाएर युवतीमाथि ...



















