‘जुम’ प्रविधिबाटै साधारण सभा सम्पन्न
विदेशबाट गैरसरकारी संस्थामा लगानी गर्न नयाँ कानून आवश्यक ः सांसद पोखरेल
देवघाट । यतिबेला विश्वभर कोरोना भाइरसको संक्रमण बढ्दो छ । यस्तो बेला एकैठाउँमा भेला भएर कुनैपनि कार्यक्रम, सभा, भेला आयोजना गर्ने कुरा पनि भएन । यस्तैमा भरतपुर–१ देवघाटस्थित गुणनिधि खनाल मेमोरियल ट्रष्टलाई साधारण सभाको आयोजना गर्नुपर्ने थियो । तर ट्रष्टका सदस्यहरु यतिबेला नेपालका विभिन्न क्षेत्रदेखि अमेरिकासम्म थिए । सबै सदस्यहरु कोरोना संक्रमणका बेला एकैठाउँमा भेला हुने अवस्था नभएपछि ट्रष्टले एउटा उपाय निकाल्यो–अहिले प्रचलनमा रहेको जुममार्फत साधारण सभा सम्पन्न गर्ने । अनि, जुमबाटै साधारण सभाको आयोजना गरियो । अतिथि र आयोजकहरु पनि आ–आफ्ना घरमा बसेर साधारण सभामा भाग लिए । साधारण सभाका प्रमुख अतिथि बने –सांसद कृष्णभक्त पोखरेल ।
नेपालका गैरसरकारी संस्थालाई विदेशमा रहेका नेपालीबाट सहयोग हस्तान्तरण गर्दा अझै कानूनी जटिलता रहेकाले यसलाई संशोधन गर्न आवश्यक रहेको सांसद कृष्णभक्त पोखरेलले सोही जुममार्फत आयोजना गरिएको साधारण सभामा व्यक्त गरे ।
‘जुम’ प्रविधिबाट आयोजित गुणनिधि खनाल मेमोरियल ट्रष्टको प्रथम साधारण सभामा अमेरिकामा रहेका नेपालीहरुसँग कुराकानी गर्दै प्रतिनिधि सभा कानून न्याय तथा मानव अधिकार समितिका सभापति समेत रहेका पोखरेलले नेपालमा अझै गैरसरकारी संस्थाका विषयमा पुरानै कानून विद्यमान रहेकाले यसमा संशोधन आवश्यक रहेको समेत बताए । पोखरेलका अनुसार वैदेशिक लगानी सहज होस् भनेर मात्रै सरकारले नयाँ कानून ल्याएको छ ।
ट्रष्टले विशेष गरी देवघाटको स्वास्थ्य र शिक्षाका सरोकारका विषयमा काम गर्दै आएको छ । यसका सदस्यहरु नेपालदेखि अमेरिकामा रहेका नेपालीहरु छन् । बि.सं. १९८५ मा जन्मिएका सामाजिक व्यक्तित्व गुणनिधि खनालको बि.सं. २०६९ मा देवघाटमा देहान्त भएपछि उनकै सम्झनामा ट्रष्टको स्थापना गरिएको हो ।
साधारण सभाको प्रमुख अतिथि समेत रहेका पोखरेललाई नेपालमा गैरनाफामूलक कार्यक्रम चलाउन अझै कानूनी जटिलता रहेको विषयमा अमेरिकामा रहेका नेपालीहरुले ध्यानाकर्षण गराएका थिए ।
कार्यक्रममा पोखरेलले कानूनसम्मत ढंगले ट्रस्टलाई सहयोग गर्न तयार भएको बताए । आफू देवघाट क्षेत्रकै जनप्रतिनिधि भएकाले केन्द्र सरकारदेखि स्थानीय सरकारबाट सहयोग गर्ने विषयमा संयोजनकारी भूमिका निर्वाह गर्ने पनि उनले प्रतिवद्धता जनाए । नेपालको कानूनबाट नबाझिएसम्म ट्रष्टको नाममा जग्गा उपलव्ध गराउनसमेत आफूले सहयोग गर्ने पोखरेलको भनाई थियो ।
अमेरिकादेखि देवघाटसम्म स्वास्थ्यको क्षेत्रमा प्रविधि हस्तान्तरणको काम स्वागतयोग्य भएको बताउँदै साँसद पोखरेलले ‘एकपटकको नेपाली, सधैँको नेपाली’ भन्ने नाराका साथ नेपालमा काम गर्न गैरआवासीय नेपालीलाई अनुरोध गरे ।
गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्ने विषय संसदमा प्रवेश गरेपनि संसद स्थगित भएका कारण छलफल हुन नपाएको पोखरेलले साधारण सभामा जानकारी दिए ।
कार्यक्रममा अमेरिकाका वरिष्ठ अधिवक्ता एवम् एनआरएन इण्ट्रिगेसन कमिटीका अध्यक्ष खगेन्द्र जिसी, एनआरएन अमेरिकाका अध्यक्ष सुनिल शाह, डा. क्याथ्रिन आर्सिनास, भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा.भोजराज अधिकारी, एन्पाका अध्यक्ष डा. पदम न्यौपाने, पूर्व अध्यक्ष सन्तोष सापकोटा, पूर्व अध्यक्ष डा. रेखा हमाललगायतले ट्रष्टले देवघाटमा गरेको सामाजिक कार्यको प्रशंसा गरे । उनीहरुले प्राविधिक रुपबाट आवश्यक सहयोग गर्न आफूहरु तयार रहेको पनि बताए ।
यसैगरी साधारण सभामा पूर्व प्रधानन्यायाधिश दामोदर शर्मा, डा. सन्तोष नेपाल, दुर्गा भुर्तेल, बुद्धिमान श्रेष्ठ, ट्रष्टकी सल्लाहकार सरस्वती रिजालले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य गर्दै डा. सन्ध्या बस्यालले नेपाल र अमेरिकामा रहेका स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीबीच समन्वय गरेर देवघाटको स्वास्थ्य क्षेत्रमा काम गर्न लागिएको जानकारी दिईन् ।
साधारण सभामा उपाध्यक्ष हरिप्रसाद पोखरेलले संस्थाको प्रगति प्रतिवेदन र कोषाध्यक्ष सिर्जना खनालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । ट्रष्टकी अध्यक्ष राधा खनालको सभापतित्वमा भएको कार्यक्रमको सहजीकरण डा.कृष्णप्रसाद खनाल र नविन आचार्यबाट भएको थियो ।
कोरोनाका कारण प्रविधिको प्रयोग गरी जुमका माध्यमबाट ट्रष्टले साधारण सभाको आयोजना गरेको हो । कोरोनाको संक्रमणमा कमी भएलगत्तै र देशमा सहज स्वास्थ्यको वातावरण भएपछि साधारण सभाको निर्णयलाई लिपिवद्ध गरी सबै सदस्यको हस्ताक्षरसहित सम्बन्धित निकायमा पेश गरिने ट्रष्टले जनाएको छ ।



















