अब विवाद गर्दिन, महाधिवेशनमा जान्छु : प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार साँझ राष्ट्रपति भवन शितल निवास आकस्मिक रूपमा गएको स्पष्टिकरण दिएका छन्।
आइतबार बिहान प्रचण्ड निवासमा भेला भएका बरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत १ दर्जन स्थायी समिति सदस्यलाई प्रचण्डले आफू परिबन्दमा परेर शितल निवासमा गएको बताएका हुन्।
‘सचिवालय बैठकलगत्तै मैले प्रधानमन्त्रीजीलाई भेट्न खोजेको थिएँ। त्यही बेला तपाईं राष्ट्रपति कार्यालय जानुपर्यो भनेर महासचिवले भन्नुभयो,’ प्रचण्डको भनाइ उद्धृत गर्दै एक स्थायी समिति सदस्यले भने,’ दुई अध्यक्षलाई बोलाउनुभएको हो। एकजना अध्यक्ष गइसक्नुभयो अब तपाईं पनि जानुपर्यो भनेपछि म जादिनँ भन्न पनि मिलेन। म अचानक गएको हो, कुनै योजना थिएन।’
राष्ट्रपतिसँग पार्टी एकताकै विषयमा कुराकानी भएको जानकारीसमेत प्रचण्डले बैठकलाई गराएका थिए।
‘त्यहाँ गएर कुनै निर्णय गर्ने कुरा त भएन। हामी मिलाएर जान्छौं। पार्टी फुटन दिन्नौं भनेको हो, यो त सार्वजनिक रूपमा बोलेकै कुरा हो,’ ती स्थायी समिति सदस्यले भने,’हामी महाधिवेशन गर्छौं भनेकै हो। प्रचण्डलाई खर्लप्पै उ तै लगेछन् कि भन्ने भ्रम पर्यो। त्यस्तो होइन रहेछ, फेरि उहाँले शनिबार नै खण्डन समेत गरिसक्नुभएको छ।’
शनिबार सचिवालय बैठक सकिएलगत्तै प्रधानमन्त्री एवम पार्टी अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष प्रचण्ड राष्ट्रपति निवास पुगेका थिए। उनीहरूसँगै महासचिव विष्णु पौडेल, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, स्थायी समिति सदस्य जनार्दन शर्मा पनि सहभागी थिए।
सचिवालय बैठक बस्नु अगाडि प्रधानमन्त्री ओलीसँग भएको कुराकानीबारे पनि प्रचण्डले आजको बैठकमा जानकारी गराएका थिए।
आफूलाई पाँच वर्षे कार्यकालभरि सरकार चलाउन सहयोग गरेमा ‘अर्ली’ महाधिवेशनबाट एकल अध्यक्ष बनाउन तयार रहेको प्रस्ताव प्रधानमन्त्री ओलीबाट आएको समेत उनले बताएका थिए।
‘केपीजी र प्रचण्डजीको कुरा हुँदा मलाई ५ वर्ष काम गर्न दिनुस् महाधिवेशनबाट तपाईं अध्यक्ष हुनुस् भनेर प्रस्ताव आएको प्रचण्डले जानकारी गराउनुभयो,’ अर्का एक स्थायी समिति सदस्यले भने,’सचिवालयमा छलफल गरौं। स्थायी समिति बैठक जारी छ, त्यहाँ छलफल गरेर केन्द्रीय कमिटीमा छलफल गरौंला भनेर प्रचण्डले भन्नुभएको रहेछ।’
महाधिवेशनमा जाने प्रस्तावलाई आफूले हुन्न भनेर भन्न नमिल्ने भएकाले विरोध नजनाएको समेत प्रचण्डले बताएका थिए।
सम्बन्धित खवर
-
शान्ता अधिकारी, माडी — माडी ...
-
दाङमा खुकुरी देखाएर युवतीमाथि ...



















