एसइईको नतिजा इन्ट्री हुँदै, साउन १५ भित्र नतिजा
३० प्रतिशतको इन्ट्री गर्न बाँकी
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा १५ साउनभित्र प्रकाशन गर्ने गरी विद्यार्थीले प्राप्त गरेको नम्बर इन्ट्री गरेकाे छ । ३ लाख विद्यार्थीको नम्बर इन्ट्री भइसकेको परीक्षा नियन्त्रक रामराज खकुरेलले जानकारी दिए ।
‘विद्यालयले जिल्ला शिक्षा समन्वय इकाइमा पठाएको नम्बर जिल्ला जिल्लाबाट इन्ट्री भइरहेको छ’, उनले भने, ‘करिब ३ लाख विद्यार्थीको नम्बर इन्ट्री भइसकेको छ । ३० प्रतिशतको इन्ट्री गर्न बाँकी छ । बाँकीको केही दिनमा सकिन्छ ।’
जिल्लाजिल्लाबाट विद्यार्थीले प्राप्त गरेको नम्बर इन्ट्री भए पनि विद्यालय र जिल्ला शिक्षा समन्वय इकाईले प्रमाणीकरण गरेको हार्ड कपि बोर्डमा आएपछि इन्ट्री गरेको नम्बर हार्ड कपिसँग मिले/नमिलेको रुजु गरिनेछ ।
सबै जिल्लाबाट हार्ड कपि आएपछि नतिजा सार्वजनिक गर्ने नियन्त्रक खकुरेलले बताए । ‘१५ साउनभित्र सार्वजनिक गर्ने तयारी गरेका छौँ । नम्बर इन्ट्री त भएको छ तर प्रमाणित हार्ड कपि आउन बाँकी छ । वर्षाका कारण दुर्गम जिल्लामा बाटो बन्द भएकाले हार्ड कपि ल्याउन समस्या भएको छ’, उनले भने ।
देशभरबाट ४ लाख ८२ हजार ७ सय ७ जना विद्यार्थी छन् । गत ६ चैतका लागि तोकिएको एसईई कोरोना भाइरसका कारण अन्तिम समयमा स्थगित गरिएको थियो । भाइरसका कारण परीक्षा गर्न असम्भव भएपछि विद्यालयको मूल्याङ्कनलाई आधार मानेर नतिजा सार्वजनिक गर्न लागिएको हो ।
सम्बन्धित खवर
-
शान्ता अधिकारी, माडी — माडी ...
-
दाङमा खुकुरी देखाएर युवतीमाथि ...



















